हर्क साम्पाङले प्रदेश सरकारले बनाएको ग्याबिन भत्काएको आरोप, कारबाही गर्न सीडीओलाई पत्र – Nepal Press

हर्क साम्पाङले प्रदेश सरकारले बनाएको ग्याबिन भत्काएको आरोप, कारबाही गर्न सीडीओलाई पत्र

विराटनगर । कोशी प्रदेश सरकारले बस्ती जोगाउन खहरे खोलामा लगाएको तार जाली (ग्याविन) धरानका मेयर हर्क साम्पाङको निर्देशनमा भत्काएको भन्दै विवाद उत्पन्न भएको छ ।

धरान उप महानगरपालिका वडा १३ को अमर बस्ती (क) खहरे खोलाको कटान रोक्न बनाइएको तार जालीको पर्खाल असार ३ गते भत्काएको थियो । धरान नगर प्रहरीको टोलीले पर्खालको ३० मिटर भत्काएको वडा अध्यक्ष नेत्र काफ्लेले दाबी गरेका छन् ।

खहरेको कटान कोशी प्रदेश जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पर्खाल बनाएको थियो । ८७ मिटर लामो पर्खालका लागि प्रदेश सरकारले यसै आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

उपभोक्ता समितिले काम गरिरहेको बेला नगर प्रहरीको टोलीले पर्खाल भत्काएपछि स्थानीयले विरोध गरेका छन् ।

धरान–१३ वडा कार्यालय परिसरमा आइतबार भएको भेलामा उनीहरूले मेयर साम्पाङले आफ्नै खर्चबाट पुनर्निर्माण कार्य गर्नुपर्ने, श्रमदान र स्थानीय सरकारको कोषबाट बनाए अमान्य हुने बताएका छन् ।

धरान उपमहानगर वडा नम्बर १६ का अध्यक्ष नेत्र काफ्लेले बुधवार मेयरले पर्खाल भत्काउँदा बस्ती जोखिममा परेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीसमक्ष कारबाहीको माग गरेका छन् ।

काफ्लेले प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई निवेदन दिँदै पर्खाल पुनः बनाउनु पर्ने माग राखेका छन् । उनले प्रमुख जिल्ला अधिकारीसमक्ष दिएको निवेदनमा आवश्यक छानबिन गरी कारबाही हुनु पर्ने माग राखेका छन् ।

मेयर साम्पाङको सचिवालयले भने स्थानीयले नै पर्खाल भत्काएको बताएको छ । तार जालीका कारण स्थानीयको घर जोखिममा पर्ने भएकाले भत्काएको जनाएको छ ।

तस्बिर : रश्मी प्रधान

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर