‘इट्स माइ शो’विरुद्ध प्रेस काउन्सिलमा जसिताको उजुरी, विवादित भिडिओ हटाउन माग – Nepal Press

‘इट्स माइ शो’विरुद्ध प्रेस काउन्सिलमा जसिताको उजुरी, विवादित भिडिओ हटाउन माग

आफ्नो मानसम्मान र इज्जतमा ठेस पुर्‍याएकोप्रति पूर्ण क्षतिपूर्तिको दाबी

काठमाडौं । नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘इट्स माइ शो’ मा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रेस काउन्सिलमा लिखित उजुरी गरेकी छन् । आज उनले प्रतिनिधि पठाएर उजुरी दर्ता गराएको काउन्सिल स्रोतले बतायो ।

गत असार ८ गते ओसिन सिटौलाले सञ्चालन गरेको कार्यक्रममा जसितालगायत थुप्रै कलाकारको व्यक्तिगत जीवनमा असर पुर्‍याउने गरी प्रश्नोत्तर गरिएको थियो । चौतर्फी रुपमा आलोचना भएपछि कार्यक्रम प्रस्तुतकर्ता र कान्तिपुर टेलिभिजनले कार्यक्रम हटाएका छैनन् भने क्षमायाचना समेत गरेका छैनन् । जसिताले उक्त कार्यक्रमबाट आफू र आफ्नो परिवारलाई असर पुगेको भन्दै उजुरी दिएकी हुन् ।

उजुरीमा उक्त एपिसोडको भिडियो हटाउन तथा मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न अनुरोध गरिएको छ । आफ्नो इज्जत र प्रतिष्ठामा आँच पुर्‍याएकोप्रति पूर्ण क्षतिपूर्तिको मागसमेत जसिताले गरेकी छन् ।

‘पत्रकार आचार संहिता, २०७३ ले (पहिलो संशोधन २०७६)ले प्रष्ट रुपमा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने विषय र क्रियाकलाप उल्लेख गरेको छ । त्यसको पूर्ण खिलाफमा गई कान्तिपुर टेलिभिजन, प्रस्तोता ओशिन सिटौला, अतिथिहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले मेरो व्यक्तिगत जीवनमा असर पुग्नेगरी जेजस्ता खालको हल्का टिप्पणी र आरोप लगाए, यसले मलाई मानसिक दवाव दिएको छ । मेरो मान, मर्यादा र भावनामा ठेस पुर्‍याएको छ’, जसिताले उजुरीमा भनेकी छन् ।

अरुको जीवनमाथि धावा बोल्ने, अरुको गोपनीयता भंग गर्ने, अरुका व्यक्तिगत कुरालाई विनाप्रमाण प्रस्तुत गर्ने, अरुको भावना र जीवनमा ठेस पुर्‍याउने, हुँदै नभएको विषयमा टिकाटिप्पणी गर्ने किसिमले प्रश्नोत्तर भएको उजुरीमा जनाइएको छ । यो पूर्ण पत्रकार आचार संहिताविपरीत र संविधान विपरित कार्य भएको उजुरीमा उल्लेख छ ।

‘आशा छ, प्रेस काउन्सिल नेपालले नेपालको संविधान, लोकतन्त्र, विधिको शासन र पत्रकार आचार संहिताविपरीत गएर प्रशारण हुने यस्ता समाज भड्काउने, अरुको जीवनमाथि धावा बोल्ने कार्यक्रम बन्द गराउनु हुनेछ’, जसिताले भनेकी छन् ।

स्मरणीय छ, प्रेस काउन्सिलले यस विषयमा कान्तिपुर टेलिभिजनलाई जवाफ दिन भन्दै २४ घन्टे पुर्जी थमाइसकेको छ । यदि चित्तबुझ्दो जवाफ नआएको खण्डमा टेलिभिजनलाई कानूनबमोजिम कारबाही हुने र सामग्री हटाउन लगाइने काउन्सिल स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर