मदन भण्डारीको हत्या हाम्रै पार्टीको लापरबाहीका कारण भएको हो: एमाले उपमहासचिव गुरुङ – Nepal Press

मदन भण्डारीको हत्या हाम्रै पार्टीको लापरबाहीका कारण भएको हो: एमाले उपमहासचिव गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको कमजोरीका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका छन् ।

मदन भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उपमहासचिव गुरुङले पार्टीको बेवास्ताका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका हुन् ।

‘मदन भण्डारीको हत्या चाहिँ हाम्रो पार्टीको बेवास्ता भन्छ के लापरवाही त्यसले गर्दाखेरि पनि भएको हो’, उनले भने, ‘कुनै पनि बेला बेचिन सक्थ्यो भन्ने थाहा हुन्थ्यो । दरबारको मान्छेको गाडी चढेर मदन भण्डारीले दरबारसँग साँठगाँठ गरे भन्ने हाम्रा मान्छेहरु । पार्टीको नेता सुरक्षाका लागि गाडी चढ्नुपर्छ भन्ने नसोच्ने हामी ।’

इन्द्रिरा गान्धीको जस्तो हत्या मदन भण्डारीको नभएको गुरुङले बताए । मदन भण्डारीको हत्या लुकेर, जालझेल गरेर, षड्यन्त्र गरेर गरेकाले पत्ता लगाउन गाह्रो भएको उनको भनाइ छ ।

मदन भण्डारीले सिद्धान्तका लागि जीवन नभई जीवनका लागि सिद्धान्त भनेर व्याख्या गर्ने गरेको उपमहासचिव गुरुङले उल्लेख गरे । मदन भण्डारीले पार्टी चलाउन कार्यकर्ताले पत्याएको हुनुपर्ने र मुलुक चलाउने हो भने जनताले पत्याएको हुनुपर्ने एउटा सिद्धान्त प्रतिपादन गरेको उनले औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर