पहिरोमा पुरिएर मृत्यु भएका एकै परिवारका ५ जनाको सामूहिक दाहसंस्कार – Nepal Press

पहिरोमा पुरिएर मृत्यु भएका एकै परिवारका ५ जनाको सामूहिक दाहसंस्कार

कामका लागि भारत पुगेका तीन छोरा फर्किए, श्रीमान-श्रीमतीलाई एकै चितामा जलाइयो

रुपन्देही । अविरल वर्षासहितको पहिरोमा पुरिएर शुक्रबार राति मृत्यु भएका गुल्मीको मालिका गाउँपालिका– ६ अर्जेका ५५ वर्षीय भेषबहादुर विकसहितका पाँच जनाको सामुहिक दाहसंस्कार गरिएको छ ।

पहिरोमा पुरिएर भेषबहादुरसहित श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना र ७ महिनाकी विपना विक मृत्यु भएको थियो । रातिको समयमा उनीहरु सुतेको घर माथिबाट आएको पहिरोले च्यापेपछि उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो । शुक्रबार रातीको घटना भएपनि स्थानीयले शनिबार बिहान देखेर प्रहरीलाई खबर गरेपछि बल्ल उनीहरुको खोजी भएको हो ।

स्थानीय फुलबारी घाटमा उनीहरुको सामुहिक दाहसंस्कार गरिएको हो । आमाबाबुको काजकिरियाका लागि परदेशमा रहेका तीन छोरा घर फर्किएका छन् । मालिका गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दिपक भण्डारीले कामका लागि भारतको दिल्लीमा रहेका तीनै जना छोराहरु फर्केपछि परिवारका पाँचै जनाको अन्त्येष्टि गरिएको हो ।

पहिरोमा ज्यान गुमाएका भेषबहादुर र सुन्तलीका तीन छोरामध्ये २ छोराहरुको बिहे भएको थियो । जेठा छोराकी श्रीमति र दुई छोरी घरमै सँगै रहेकाले मृत्यु भएको छ भने माहिला छोरा कृष्णले बिहे गरेर श्रीमति पनि सँगे लगेका थिए । कान्छा छोरा सुवासको भने बिहे भएको थिएन । उनी पनि दाजुहरुसँगै कामका लागि दिल्लीमै रहेका थिए ।

अन्तेष्टिमा सहभागी भएका स्थानीय हिरा केसीका अनुसार मृत्यु भएका भेषबहादुर र सुन्तलीलाई एउटै चितामा दाहसंस्कार गरिएको छ भने बुहारी सीता र नातिनी सपनाको अलग अलग चितामा र ७ महिनाकी अर्की नातिनीलाई गाडिएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *