दूध उत्पादन बढाउन बुटवलका किसानलाई अनुदानमा पाडी – Nepal Press

दूध उत्पादन बढाउन बुटवलका किसानलाई अनुदानमा पाडी

रुपन्देही । बुटवल उपमहानगरपालिकाले दूध प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरेको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैंसीका पाडी वितरण गरेको हो, जसअनुसार आइतबार बुटवल वडा नं १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ ।

मेयर खेलराज पाण्डेयले बुटवललाई दूध उत्पादनमा सबल बनाउन भैंसीका पाडी वितरण गरिएको बताए । उनका अनुसार वितरण गरिएका पाडीहरुको बीमा गरिएको छ ।

‘बुटवलमा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यसहित किसानलाई पाडी वितरण गरिएको हो’, उनले भने, ‘किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवलमा दूध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मद्दत पुग्नेछ ।’

पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेका अनुसार चालू आर्थिक वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् ।

बुटवलले यसअघि किसानलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका– १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो ।

मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोल प्यानलसहितको मेसिन उपलब्ध गराइएको छ ।

पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैंसी गोठ सुधारतर्फ २८ जनालाई अनुदान प्रदान गरिएको बताए । गाईभैंसी गोठ सुधार, बाख्रा तथा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बङ्गुर खोर सुधारतर्फ अनुदान दिइएको उनले बताए ।

आहारा सुधार सेवा कार्यक्रमअन्तर्गत उन्नत जातको घासको बीउ अनुदानमा वितरण गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर