डोटीमा विकराल बन्दै बाल विवाह – Nepal Press

डोटीमा विकराल बन्दै बाल विवाह

डोटी । डोटीको आदर्श गाउँपालिका- ५ का वडाध्यक्ष उत्तमबहादुर सिंहले जतिसुकै प्रयास गरे पनि बाल विवाह रोक्न नसकिएको बताए । गाउँपालिका, वडा कार्यालय, विभिन्न गैरसरकारी संस्थाले बाल अधिकारको विषयमा धेरै कार्यक्रम गरे पनि बाल विवाह नरोकिएको उनको भनाइ छ ।

‘पहिले जस्तो अभिभावकहरुले बाल विवाह गराउँदैनन्, तर बालबालिका आफैं भागेर बिहे गर्ने गर्छन्’, सिंह भन्छन्, ‘यसलाई कसरी रोक्ने भन्ने कुनै उपाय देखिएन ।’

बाल क्लवमा रहेका भाइबहिनीलाई बाल विवाहविरुद्ध तालिम दिँदा पनि उनीहरु नै भागेर बिहे गर्न थालेको उनको भनाइ छ ।

भागेर गर्ने बाल विवाह रोक्न निकै समस्या भएको बताउँछन् वडा नं २ का अध्यक्ष रमेश साउद पनि । उनी भन्छन्, ‘यो हाम्रो गाउँपालिकाभरिकै समस्या हो, जति सम्झाए पनि बालबालिकाले भागेर बिहे गर्न छोडेका छैनन् ।’

एक पटक भागेपछि सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउँदा फेरि भागेर जाने गरेको उनी बताउँछन् ।

आफ्नो वडामा पनि बाल विवाह रोक्न नसकिने अवस्था रहेको बताउँछन् वडा नं. ६ का अध्यक्ष लालबहादुर खडायत । ‘बाल विवाह र बहुविवाहका घटना धेरै छन्, कानूनले यस्ता घटना दर्ता गर्न मिल्दैन’, खडायत भन्छन्, ‘तर, उनीहरुले दर्ता गरिदिनु पर्‍यो भन्दै दबाब दिन्छन् ।’

बाल विवाह र बहुविवाहको विषयमा जानकारी गराउन वडास्तरमा चेतनामूलक तालिम सञ्चालन गर्दै आएको खडायत बताउँछन् ।

बाल विवाहका कारण बालबालिकाको पढाइसमेत बीचैमा रोकिने गरेको र उमेर बढ्दै गएपछि घरेलु हिंसा पनि हुने गरेको बताउँछिन् गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकाय ।

‘बाल विवाह रोक्न पालिकाबाट पनि धेरै कार्यक्रम सञ्चालन भए, गैरसरकारी संस्थाहरुले पनि काम गरिरहेकै छन्’, उपाध्यक्ष रोकाया भन्छिन्, ‘तर पनि बाल विवाह रोकिएको छैन ।’

उनले सानै उमेरमा विवाह गर्ने र पछि उमेर बढ्दै गएपछि एक-अर्काबीच समझदारी नभई सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको बताइन् । बाल विवाह रोक्ने प्रभावकारी उपायको खोजीमा गाउँपालिका रहेको उनी बताउँछिन् ।

बाल विवाह रोक्न पालिकास्तरबाट भएका प्रयास प्रभावकारी हुन नसकेको बताउँछन् गाउँपालिकाका अध्यक्ष गणेश खड्का ।

‘बाल विवाह न्यून गर्ने विषयमा एक पटक सरोकारवाला निकायहरुसँग बृहत छलफल गर्नुपर्ने देखिएको छ’, अध्यक्ष खड्काले भने, ‘यसका लगि विद्यालय र अभिभावकहरुबाट पनि प्रयास हुनु जरुरी छ ।’

बाल विवाह आदर्श गाउँपालिकाको मात्रै नभएर जिल्लाभरिकै भएको बताउँछन् डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल ।

‘सानै उमेरमा बालबालिकाले भागेर विवाह गर्नुका विभिन्न कारण छन्’, प्रमुख जिल्ला अधिकारी अर्याल भन्छन्, ‘मुख्य कुरा अभिभावकहरुले बालबालिकालाई सम्झाउन नसक्नु हो ।’

अभिभावकहरुले आफ्ना छोराछोरी के गरिरहेका छन् भन्ने विषयमा चासो राख्नुपर्ने अर्यालले बताए ।

‘पछिल्लो समयमा मोबाइलको गलत प्रयोगका कारणले भागेर हुने बाल विवाहको संख्या बढेको छ’, प्रमुख जिल्ला अधिकारी अर्याल भन्छन्, ‘यस विषयमा विद्यार्थीहरुबीच छलफल हुनु जरुरी छ ।’

बाल विवाहबाट जीवनमा पर्ने असरहरुको बारेमा अभिभावकहरु, शिक्षकहरु र सामाजिक कार्यकर्ताहरुले उनीहरुलाई राम्रोसँग सम्झाउन सक्नुपर्ने अर्यालको भनाइ छ ।

उनी थप्छन्, ‘स्थानीय तहहरुले यस विषयमा अध्ययन गरेर प्रभावकारी उपाय निकाल्नुपर्ने देखिन्छ ।’

बाल विवाहको विषयमा प्रहरीमा उजुरी नआउने गरेको बताउँछन् इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक जनकबहादुर बोहरा । उनी भन्छन्, ‘अभिभावकहरुले पनि यस विषयमा प्रहरीलाई जानकारी गराउँदैनन् ।’

जानकारीमा आएका यस्ता घटनामा प्रहरीले दुवै पक्षलाई बोलाएर केटाकेटीलाई अभिभावकको जिम्मा लगाइदिने गरेको बोहरा बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *