असई विक हत्याकाण्डमा जन्मकैदको सजाय पाएका मधेशका पूर्वसांसद यादव पक्राउ – Nepal Press

असई विक हत्याकाण्डमा जन्मकैदको सजाय पाएका मधेशका पूर्वसांसद यादव पक्राउ

जनकपुरधाम । मधेश आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जन्मकैदको सजाय पाएका पूर्वसांसद कौशल कुमार यादव पक्राउ परेका छन् ।

महोत्तरीकै पोखरभिण्डाबाट पूर्व सांसद यादव पक्राउ परेका हुन् । शनिवार सम्सी गाउँपालिका ५ स्थित हुलाकी सडकमा यादवले चलाएको प्र.२–०२–००१ च ००४५ नम्बरको गाडी दुर्घटनामा परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले चलाएको गाडीले भारतीय डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कारपियोलाई ठक्कर दिएको थियो । तीन जना घाइते भएपछि प्रहरीले सोधपुछका गर्दा यादव फरार सूचीमा रहेको खुलेपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई विक हत्या प्रकरणमा यादवसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । पक्राउ परेका यादवलाई महोत्तरी प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गरे पनि कारागार चलानको आदेश भएन ।

डिएसपी जयसवालले पूर्व सांसद यादव अहिले जिल्ला प्रहरी कार्यालयकै हिरासतमा रहेको बताए । उनले भने, ‘अदालत लगेका थियौँ । तर खै के भयो रु फेरी यतै ल्याउनु परेको छ ‌। अदालतको कुरा उतैबाट बुझ्नुस् ।’

पक्राउ परेका यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरम नेपारबाट महोत्तरी ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी ०७९ मा लोसपाबाट चुनावमा पराजित भएका हुन् ।

सशस्त्रका असई विकको हत्याकाण्डमा मधेशका सांसद तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा पनि जन्मकैदको सजाय पाएका छन् । उनी अझै फरार छन् ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले असई विकको हत्याकाण्डमा नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरी र पवन कापरलाई पनि सफाइ दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *