नाउपा संसदीय दलको नेता परिवर्तन : के हुन्छ सरकारको समर्थन ? – Nepal Press

नाउपा संसदीय दलको नेता परिवर्तन : के हुन्छ सरकारको समर्थन ?

मन्त्री बन्ने रन्जिताको चाहनामा लाग्न सक्छ ‘ब्रेक’

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपा संसदीय दलको नेता परिवर्तनसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

यसअघि नाउपा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ संसदीय दलको नेता थिइन् । संसदीय दलमा फरक मत राख्दै आइरहेका रेशम पक्षमा सांसद गङ्गा चौधरीलाई हिजो बहुमत सांसदले दलको नेता चयन गरेका हुन् ।

नाउपामा चौधरी प्रमुख सचेतकको भूमिकामा थिए । तर, पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन उनी गएनन् ।

आफैले विश्वासको मत नदिएको सरकारबारे चौधरीले कस्तो निर्णय गर्छन् त्यो भने हेर्न बाँकी नै छ । नाउपा केन्द्रमा चार सांसद छन्।

गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गङ्गा चौधरी जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन। आजै उक्त निर्णय संसद् सचिवालयका दर्ता गर्ने तयारी भइरहेको छ ।

चार मध्ये तीन सांसदको समर्थनमा दलको नेता बनेका चौधरीले अब पार्टीलाई मिलाएर लैजाने बताएका छन् ।

‘पहिले पार्टी अध्यक्ष पनि उहाँ (रन्जिता) हुनुहुन्थ्यो दलको नेता पनि । अब मैले दलको नेताको जिम्मेवारी पाएको छु’ चौधरीले भने, ‘सबैलाई मिलाएर, समेटेर लैजान्छु ।’

प्रचण्ड सरकार गठनदेखि विश्वासको मतसम्ममा पनि पार्टी भित्र तीव्र विवाद रहेको थियो । रेशम चौधरी निकट रहेका गङ्गा चौधरी तत्काल सरकारलाई समर्थन नगर्ने र सरकारमा सहभागी नहुने बताउँदै आएका थिए भने रन्जिता चौधरीसहित अन्य तीन जनाले सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने भन्ने अडानमा थिए ।

बहुमतका आधारमा रन्जिता कै एजेन्डा अगाडि बढेको थियो । तर, अहिले केही समय अघिसम्म अध्यक्ष रन्जिता श्रेष्ठकै पक्षमा देखिएका लालवीर चौधरी र अरुण चौधरीले पनि गङ्गालाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेपछि संसदीय दलमा रन्जिता अल्पमतमा परेकी छन् ।

यसअघि आफै मन्त्री बन्ने तयारीमा रहे पनि अब भने रन्जिताको उक्त तयारीमा ब्रेक लाग्न सक्ने देखिएको छ । सरकारलाई दिएको समर्थन यथावत् राख्दै मन्त्री सिफारिस गर्न फेरि बैठक बस्ने चौधरीले जानकारी दिए ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने होइन तर,मन्त्री सिफारिस गर्ने विषयमा हामी फेरि छलफल र बैठक राख्छौँ’ चौधरीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर