पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेट्न पुगे मन्त्री पन्थी – Nepal Press

पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेट्न पुगे मन्त्री पन्थी

रुपन्देही । गुल्मीको मालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी घटनास्थलमा पुगेका छन् ।

घटनास्थलको निरीक्षण गर्दै उनले मृतक परिवारका आफन्तलाई भेटेर सरकारको तर्फबाट तत्काल आवश्यक सहयोगको व्यवस्थापनसमेत गरेका छन् ।

मन्त्री पन्थीले भने, ‘अत्यन्तै दुःखद घटना भयो । प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न र रोक्न सबैको सहयोग सहकार्य जरुरी छ । सरकार जनताको साथमा छ । हामी सरकारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउँछौं ।’

मन्त्री पन्थीका सचिवालय प्रमुख खिमानन्द भण्डारीले जिल्ला विपद् कोषमार्फत पीडित परिवारलाई तत्काल ११ लाख रुपैयाँ सहयोग स्वरूप उपलब्ध गराएको बताए ।

शुक्रवार राती मालिका गाउँपालिका-६ अर्जेको कँडेलपाटाका ५६ वर्षीय भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र सात महिनाकी बिपनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

उनी पाँचै जनाको आइतबार सामूहिक अन्त्येष्टि भएको थियो । भेषबहादुरका तीन छोरा भारतबाट आइतबार नै घर आइपुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर