बालुवाटारमा ३ घण्टादेखि प्रचण्ड-ओली छलफलमा – Nepal Press

बालुवाटारमा ३ घण्टादेखि प्रचण्ड-ओली छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घण्टा लामो समयदेखि छलफल जारी छ । दुई नेता वान टु वान छलफलमा बसेका छन् ।

ओलीसँगको भेटको बीचमा प्रधानमन्त्री बालुवाटारमै आयोजित एक कार्यक्रममा सहभागी भएर फेरि ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जनाएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।

कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर