गौतमबुद्ध विमानस्थल सञ्चालन समस्या बुझ्न संसदीय उपसमितिको टोली मैदानमा – Nepal Press

गौतमबुद्ध विमानस्थल सञ्चालन समस्या बुझ्न संसदीय उपसमितिको टोली मैदानमा

रुपन्देही । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ ।

समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको छ । यस समितिमा रुपन्देही-२ बाट नि संघीय सांसद रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर १ का सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, ४ का सर्वेन्द्रनाथ शुक्ला, ५ का वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीलगायत छन् ।

समितिले असार १६ गतेदेखि १८ गतेसम्मको कार्यतालिका बनाएर आइतबार राती भैरहवामा आएको हो । सोमबार विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटिहरु, विमास्थलको क्षमता र विस्तार, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौति, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या भने वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा एयर लायन्सले नियमित उडान भरेकाले यहाँको चहलपहल ठीकै थियो तर जजिराले हाल उक्त उडान रोकेपछि सुनसान बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *