सुनकाण्डमा फरार प्रतिवादी चलाउनेले जोडेकोबारे एआईजी ज्ञवाली भन्छन्- मेरो नाम कसैले लिँदैमा म जोडिने हुन्छ ? – Nepal Press

सुनकाण्डमा फरार प्रतिवादी चलाउनेले जोडेकोबारे एआईजी ज्ञवाली भन्छन्- मेरो नाम कसैले लिँदैमा म जोडिने हुन्छ ?

काठमाडौं । सुन तस्करीमा फरार रहेका जीवन चलाउनेले आफूसँग नाम जोडेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीले प्रतिरक्षा गरेका छन् ।

उनले कसैले नाम लिँदैमा जोडिएको नहुने बताए ।

‘मिडियाले फरार प्रतिवादीसँग कुराकानी गरेर फलानाले यसो गरेको थियो भन्नु कत्तिको इथिक्सभित्र पर्थ्यो पर्थेन मलाई थाहा छैन’, उनले भने, ‘मेरो नाम कसैले लिँदैमा म जोडिने हुन्छ ?’

एआईजी ज्ञवालीले चलाउनेसँग कुराकानी भए पनि उनले भने जस्तो केही नभएको जिकिर गरे ।

‘चैतमा आईजीपी भएको विषयमा उनले पछि असारमा दुई कल गरेको विषयलाई जोडेर पहिला पनि कुराकानी हुन्थ्यो जस्तो गरेका छन्’, उनले भने ।

उनले चलाउनेसँग मात्र नभएर आफ्नो नाम धेरैसँग जोडिएको बताए ।

‘नाम जोडेरमात्र हुन्छ ? कहीँ न कहीँ त कनेक्सन देखिनुपर्ने होला नि ? म त्यतातिर जान्न, काममा मात्र फोकस हुन्छु । मलाई एउटा कुरा राम्रसँग थाहा छ कि, मेरो नाम दिनदिनै आइरहेको हुन्छ । सबैको पछाडि लागे भनेकै हुन् नि म पछाडि लाग्दिनँ, अगाडि जान्छौं हामी । यस्ता कुराको पछाडि लाग्ने हो भने त म उहिल्यै पागल हुन्थें’, एआईजी ज्ञवालीले भने ।

उनले आफूलाई सीआईबीबाट हटाउन सुनियोजित रुपमा लेखाइएको दाबी गरे ।

‘कसले लेखाउँछ ? तस्करले लेखाउँछन् । आफ्नो भेस्टेड इन्ट्रेस्ट फुलफिल नभएकाले लेखाउँछन् । ती लेखाएका विषयवस्तुप्रति हामीलाई पढ्दै थाहा हुन्छ’, उनले दाबीसाथ भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *