प्रचण्ड-ओली भेटपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो- कांग्रेस र एमाले मिल्ने बजार हल्लामात्रै – Nepal Press

प्रचण्ड-ओली भेटपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो- कांग्रेस र एमाले मिल्ने बजार हल्लामात्रै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर सरकार बनाउने भन्दै बाहिर चलेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताहरुबीचको भेटमा ओलीले अहिले समीकरणमा कुनै समस्या नआउने भन्दै प्रचण्डलाई आवश्वस्त रहने आग्रह गरेका हुन् ।

भेटमा दुई शीर्ष नेताहरुले नयाँ गठबन्धनका बारेमा कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको प्रधानमन्त्रीका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

छलफलपछि प्रचण्ड-ओलीको भेटको निष्कर्ष सुनाउँदै मल्लले नेपाल प्रेससँग भने, ‘हामीहरुबीच केही कन्फ्युजन छैन । कांग्रेस-एमाले मिलेर सरकार बनाउने भन्ने विषय बजार हल्लामात्रै हुन् । हामी सरकारको काम र साझेदार दलहरुबीचको सम्बन्ध सुदृढ बनाउनेबारे छलफल गरिरहेका छौं । बाहिर अर्को हल्ला छ ।’

उनले सरकार राम्रो ढंगले अगाडि बढेको र यसकै निरन्तरताको पक्षमा रहेको बताए ।

शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको छ । कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ । कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर