सांसद शाक्यको आग्रह- युवा विदेश पलायन रोक्न स्टार्टअप उद्यमलाई प्रोत्साहन दिऔँ – Nepal Press

सांसद शाक्यको आग्रह- युवा विदेश पलायन रोक्न स्टार्टअप उद्यमलाई प्रोत्साहन दिऔँ

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यले शहरी सौदर्य र स्वच्छताका लागि स्थानीय तहसँगको सहकार्यमा शहरका नदी किनारमा हरियाली प्रवर्द्धनका लागि पार्क निर्माण कार्यलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै शाक्यले यस्तो बताएकी हुन् ।

उनले घनाबस्ती खुला क्षेत्रको पहिचान र संरक्षण गर्दै समुदायको सहकार्यमा ‘एक वडा एक पार्क’ निर्माण को अभियानलाई प्राथमिकता दिन आवश्यक रहेको पनि उल्लेख गरिन् ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि आधुनिक दीगो र व्यवस्थित सहरी करणका लागि सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, नयाँ शहर विकास आयोजनालगायतका कार्यक्रमहरुका लागि बजेट अझ थप गर्नुपर्ने देखिन्छ’, उनले भनिन्, ‘त्यस्ता आयोजना र कार्यक्रम कार्यान्वयनका लागि प्रभावकारी प्रशासनिक व्यवस्था गर्न आवश्यक छ । त्यो भयो भने मात्रै आयोजनाहरुले समयमै पूर्णता प्राप्त गर्न सक्छन् ।’

राष्ट्रिय सभा सदस्य डाक्टर शाक्यले १६ औँ पञ्चवर्षीय योजनाको पहिलो वर्ष आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत भएको भन्दै राष्ट्रिय अर्थातन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउँदै समाजवाद उन्मुख र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य रहेको पनि उल्लेख गरिन् ।

शाक्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकमा आगामी आर्थिक वर्षमा रु ९ दशमलब २८ अर्व बजेट विनियोजन गरिएको भन्दै निर्यात प्रवद्र्धन, व्यापार सहजीकरण तथा आपूर्ति व्यवस्थापनका लागि केही बुँदागत व्यवस्था भएको उल्लेख गरिन् । यद्यपि नेपालीहरुका लागि दैनिक रुपमा अत्यावश्यक खाद्यन्न तथा अन्य जीवनयापनका बस्तुहरुमा कुनै व्यवस्थापन नभएको भन्दै यस विषयमा बजेटमा सम्वोधन हुन आवश्यक रहेको उल्लेख गरिन् ।

‘बजेटमा ४० प्रतिशत भन्दा कम उत्पादन क्षमतामा चलिरहेका नीजि क्षेत्रका उद्योगहरुको समूचित व्यवस्थापन तथा प्रवद्र्धनका लागि पनि कुनै ठोस कार्यक्रमहरु ल्याइएको छैन’, उनले भनिन्, ‘आगामी आर्थिक वर्षको बजेटका कार्यक्रमहरु हेर्दा नेपाली उत्पादनहरु अझै पनि प्रतिस्पर्धी बन्न सकेको देखिँदैन । त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’

उनले अहिलेको विकराल आर्थिक परिस्थितिमा समग्र मागमा कमी आई साना तथा मझौला व्यापारीहरुको व्यवसाय ठप्प भएको अवस्थाप्रति पनि संकेत गरिन् ।

‘ती व्यवसायीहरुलाई बैंकको साँवा–व्याज तिर्न समेत समस्या परेको देखिन्छ । यस्तो आर्थिक सुस्तताबाट पार लगाउन मौद्रिक नीतिले पहल गर्नुपर्ने देखिन्छ’, शाक्यले भनिन्, ‘बैंकहरुले ऋणिहरुको अवस्था हेरेर कर्जा पुनःसंरचना र पुर्नतालिकीकरण गर्नका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहल गर्नुपर्ने देखिन्छ ।’

उनले उद्यमशील तथा वित्तीय साक्षरता तालिम प्राप्त गर्ने युवा जम्मा शून्य दशमल ९८ प्रतिशत मात्रै रहेको भन्द उद्यामशीलता बढाउनका लागि स्वरोजगार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

‘त्यसका लागि बजेटले निरन्तर सम्वोधन गर्नुपर्ने देखिन्छ’, उनले भनिन्, ‘उत्पादनमुलक उद्योगहरु तथा राष्ट्रिय स्टार्टअप उद्यमलाई प्रोत्साहन दिनका लागि सरकारले विशेष सुविधा तथा सहयोग प्रदान गर्ने हो भने कूलग्राहस्थ उत्पानमा वृद्धि हुने तथा युवाहरु विदेश पलायन हुने क्रम पनि न्युन हुन जान्छ । त्यसैले बजेटले यो विषयलाई पनि सम्बोधन गर्नुपर्छ ।’

शाक्यले जेष्ठ नागरिक समाजका धरोहरा तथा ज्यूँदा इतिहास भएको भन्दै । जेष्ठ नागरिकहरुको संख्या दिनहुँ बढ्दै गएको स्मरण गराइन् ।

‘घरपरिवार समाज र राष्ट्रलाई आफ्नो अमूल्य उर्जावान समय व्यथित गरेका जेष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिएर केही हदसम्म भए पनि सम्मान गरेको छ’, उनले भनिन्, ‘तर, घरपरिवारको आत्मीयता, स्नेह, सम्मान तथा स्वास्थ्य हेरचाहको आवश्यकतामा केही अभाव जस्तो महसुस भएको छ । त्यसैले मातृदेवो भवः, पितृदेवो भवः’ भन्ने सामाजिक मान्यतालाई समाज व्यवहारमा स्थापित गर्न आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’

उनले जेष्ठ नागरिकहरुको मानसिक, शारीरिक तथा समग्र स्वास्थ्य अवस्थालाई राज्यबाट नै ध्यानमा दिएर बुढेसकाल एक ज्युँने कला तथा जेष्ठ नागरिकहरुलाई कसरी सम्मान गर्ने ? भन्ने कुरा विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्न सकेको अवस्थामा सबै जेष्ठ नागरिकको सम्मानजनक व्यवहारमा सहभागिता गराउन सकिनेमा पनि जोड दिइन् ।

उनले संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक ढंगले जेष्ठ नागरिकहरुको लगत अध्यावधिक गर्ने मृत्युपर्यन्तसम्म न्युनतम अत्यावश्यक सुधिवाजनक व्यवस्थापनका लागि जेष्ठ नागरिक क्लब, जेष्ठ नागरिक आश्रय केन्द्र वा जेष्ठनागरिक दिवा केन्द्र सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर