जोखिम मोलेर नेकपा एस निर्माणमा लागेका युवा कद, जसले लिएनन् लाभको पद
काठमाडौं । नेकपा एकीकृत समावादी निर्वाचन आयोगमा दर्ता भएको तीन वर्ष पुग्न लागेको छ । निर्वाचन आयोगबाट २०७८ भदौ ९ गते दर्ता नम्बर १६६ रहेको प्रमाणपत्र पाएको नेकपा एसको निर्माणको तयारी भने त्योभन्दा पुरानो हो । नेकपा भंग भएपछि नेकपा एमालेमा आएको तनावकै दौरानमा यो दलको बिजारोपण भएको थियो । उसो त नेकपा एस आफैंले भने यो दललाई धेरै पुरानो भन्दै आएको छ । त्यही भएर अहिले भएको प्रथम अधिवेशनलाई दशौं भनिएको छ ।
यो त भयो दलको जराको चर्चा । यहाँ चर्चा गर्न खोजिएको कुरा भने नेकपा एसमा लागेका युवा नेताहरुको हो । जतिबेला एमालेबाट नेकपा एस बन्यो, धेरै युवा नेतालाई विभिन्न पदहरु हाताहाती आए । जस्तैः एमाले हुँदा त्यो कार्यकालमा मुख्यमन्त्री बन्ने सम्भावनै नभएका राजेन्द्र राईले मुख्यमन्त्री पद पाए । राजेन्द्र राईसँगै वसिम आलमलगायतका युवाहरुले मुख्यमन्त्रीको सचिवालयमा जोडिन पाए । रामकुमारी झाँक्री संघीय मन्त्री नै बनिन् ।
यो त भयो पहिलो चरणको कुरा । २०७९ सालको चुनावपछि पनि विभिन्न युवाहरुले लाभको पद पाए । जस्तैः लक्ष्मण लम्साल बागमती प्रदेशको मन्त्री भए । दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री भए । नरेश शाही सुदूरपश्चिमका मन्त्री भए । यी र यस्ता उदाहरण कैयौं छन् । तर, नेकपा एसमा त्यस्ता युवा पनि छन्, जसले केही तलबी पद पाएनन् । केही राजकीय लाभ लिएनन् । निरन्तर पार्टीमै लागिरहे । एमालेको बनिबनाउ संरचनाको दल छोडेर आफैं संरचना तयार गर्ने दलमा जोडिइरहे । यहाँ ती नै चार युवाको चर्चा गरिएको छ ।
अब्दुल हुसेन खाँ
बाँकेको एमाले र एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका एक ब्राण्ड थिए अब्दुल हुसेन खाँ । उनी बाँके कोहलपुरको त्रिभुवन माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीको सचिव भएर २०५३ सालबाट राजनीतिमा जोडिए । उनी क्रमशः बाँके जिल्लाकै अनेरास्ववियु सचिव तथा अध्यक्ष, अञ्चलका सचिव हुँदै क्रमशः पदोन्नति हुँदै अनेरास्ववियु केन्द्रीय सचिवसम्म भए । महासचिवमा ऐन महरसँग उनी पराजित भएका थिए ।
माधव नेपाल समूह कमजोर भएको समयमा भएको चुनावमा उनीसँगै टीम हारेको थियो । उनी दलका विद्यार्थीबाट मात्रै होइन, आमविद्यार्थीबाट पनि अनुमोदित भएका नेता हुन् । २०६० सालको स्ववियु चुनावमा उनी बाँकेको दोस्रो ठूलो क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । उनी अहिले नेकपा एसको केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश उपसचिव तथा बाँके जिल्ला सहइन्चार्ज छन् । नेकपा एसको मुस्लिमतर्फको भ्रातृ संगठनका महासचिव पनि छन् ।
आफ्ना पुस्ताका धेरै साथीहरु लाभको तलबी पदमा पुग्दा खाँले त्यसमा इच्छा देखाएनन् । यसबारेमा नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘लाभको पद मागिएन पनि, खाइएन पनि । आफू बन्न भन्दा पार्टी बनाउन लागियो ।’
नेकपा एसको अहिलेको महाधिवेशनमा केन्द्रीय कमिटीमा दोहोरिने स्वाभाविक भएका अब्दुल केन्द्रीय सदस्यबाहेक अन्य कुन पदमा जाने भन्ने छलफल भइरहेको र त्यसैमा निर्भर हुने बताउँछन् । तर, एउटा कुरामा उनी प्रस्ट छन्- जनता निराश छन् । कार्यकर्ता निराश छन् । अब विरासतको राजनीति चल्दैन । अब युवापन चाहिन्छ, युवाहरु चाहिन्छ ।
उनले थपे, ‘जसरी समाजले नयाँपन खोजिरहेको छ, त्यसैगरी दलमा पनि नयाँपन चाहिएको छ । त्यो दिन सक्नुपर्छ ।’
नेकपा एसले विद्रोह गरेर आएको औचित्य पुष्टि पनि गर्नुपर्ने ४२ वर्षे खाँ बताउँछन् ।
अशेष घिमिरे
विश्वविद्यालयको पढाइका इन्जिनियर अशेष घिमिरे नेकपा एसको निर्माणका पनि इन्जिनियरै हुन् । पार्टीको स्कुल विभागका सचिव उनी देशभर बोलाइने पार्टी स्कुलका प्रशिक्षकमा एक युवा अनुहार हुन् । २०५४ सालमा झापामा स्कुल हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका घिमिरे अनेरास्ववियुको तीन कार्यकाल केन्द्रीय कमिटीमा रहे, प्रचार विभाग प्रमुख भए ।
उनी २०६५, २०६७ र २०७० सालमा केन्द्रीय कमिटीमा थिए । नेकपा हुँदा ताका उनी प्रदेश कमिटीमा थिए । एमालेदेखि अहिले नेकपा एस हुँदा आफ्नो दलमा मात्रै होइन, नेपालको वाम कित्तामै अध्ययनशील र चिन्तनशील छवि बनाएका थोरै युवा नेतमध्ये एक हुन् घिमिरे । ४० वर्षे घिमिरे अहिले नेकपा एसको केन्द्रीय सदस्य छन् ।
उनले इन्जिनियरको पढाइ, अनेरास्ववियुको केन्द्रको बसाइ र नेताहरुसँगको राम्रो उठबस भए पनि नेकपा एसमा लाभको पद लिएका छैनन्, तलबी पद धारण गरेनन् । उनको ध्येय दल निर्माणमा देखिन्छ ।
नेकपा एसलाई नेकपा एमालेबाट छुट्टिएको दल भन्दा पनि देशको एक बलियो समाजवादी कित्ताको शक्ति बनाउने पक्षमा छन् घिमिरे । यो कुरा उनले आफ्ना भनाइ र लेखाइमा व्यक्त गर्दै आएका छन् । जारी नेकपा एसको महाधिवेशनमा उनको पन्च लाइन हो- पाकाहरुको सम्मान, युवाहरुको प्रोत्साहन ।
दुई छिमेकी भारत र चीनसँगै युरोपका विभिन्न देशहरुमा भ्रमण गरेका अशेषले विश्वभरका वाम आन्दोनल देखेका छन् । उनीहरुको उत्थान र पतन देखेका छन् । त्यही आधारमा नेकपा एस देशको राम्रो समाजवादी शक्ति बन्नेमा उनी आशावादी छन् । त्यो आशाको झिल्को उनले पार्टीको जारी महाधिवशेनमा पनि देखेका छन् । त्यो देख्नेहरुमा युवाहरुकै संख्या धेरै भएको उनको भनाइ छ ।
नेपाल प्रेससँग घिमिरेले भने, ‘विश्वभर परिवर्तनको माहोल छ । युवाहरुको माहोल छ । यो माहोल देशमा छ । यो माहोल दलमा छ । सबैले यसको सम्मान गर्नुपर्छ ।’
आरती लामा
आफ्ना समकक्षी साथीहरुमध्ये धेरैले लाभको पद पाए पनि नपाउनेहरुको लाइनमा अर्को उदाहरण हुन् आरती लामा । उनले नेकपा एस निर्माणपछि मात्रै नभएर नेकपा एमालेमा हुँदैदेखि कुनै लाभको पद वा तलबी पद लिएकी छैनन् । ३७ वर्षे लामा प्रत्यक्ष राजनीतिमा जोडिएको नै साढे दुई दशक भएको छ ।
उनी कम्युनिष्ट शक्तिकी वंशज कार्यकर्ता हुन् । उनका हजुरबा बखतबहादुर स्याङ्बो कोकेमा लागेका थिए । उनका जेठा ठूलाबा वीरबहादुर लामा त राजनीतिमा लागेकैले भारत प्रवासिनु परेको थियो । उनका बुबा सुरेन्द्र लामा सर्लाही नेकपा एस अध्यक्ष भए ।
वंशज राजनीतिक विरासत भएकी लामा कक्षा ८ मा पढ्दाताकै २०५८ आसपासबाट विद्यार्थी राजनीतिमा जोडिएकी थिइन् । गाउँको विद्यालयदेखि राजनीतिक केन्द्रसम्म उनी विद्यार्थी फाँटमा क्रमशः उदाइन् । नवीना लामा अध्यक्ष भएको अनेरास्ववियुमा उनी सचिव थिइन् । नेकपा एस बनेपछि त्यसको विद्यार्थी संगठन अनेरास्ववियूमा उनी महासचिव भइन् । अहिले अध्यक्ष छिन् । पार्टीको केन्द्रीय पार्षद् छिन् ।
पार्टीको जारी महाधिवेशनमा उनी परिवर्तन पक्षधर छिन्, युवा पक्षधर छिन् । पार्टीको विधान सम्मेलनमा ४० मुनिका २० प्रतिशत युवा ल्याउने अभियानकर्मी थिइन् उनी । अहिले महाधिवेशनमा उनी नेतृत्व परिवर्तनको पक्षधर हुन् । देशमा बालेन, हर्कलगायत आउनुमा जनताले नेतृत्व परिवर्तन चाहेको संकेत भएको उनको बुझाइ छ । जनताको भावनाअनुसार दलको नेतृत्व परिवर्तन हुनुपर्ने उनको धारणा छ ।
‘हाम्रो पार्टी बनाउन र देशको लोकतन्त्र ल्याउन पार्टी अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल कमरेडहरुको ठूलो योगदान छ’, लामाले नेपाल प्रेससँग भनिन्, ‘त्यसमा हाम्रो सम्मान छ । तर, अब नेतृत्व परिवर्तनमा उहाँहरुले साथ दिनुपर्छ ।’
नेकपा एमालेबाट गरेको विद्रोह पुष्टि गर्न, नेपाली समाजवादी आन्दोलनको केन्द्रमा नेकपा एकीकृत समाजवादीलाई बनाउन नेतृत्व परिवर्तन र युवाहरुको स्थान बन्नुपर्ने पक्षमा छिन् लामा ।
हिरेन्द्र शाही
अछामका हिरेन्द्र शाही नेकपा एसका अर्का ऊर्जाशील युवा नेता हुन् । उनी पनि लाभको पद नलिने एक हुन् । उसो त उनी सुदूरपश्चिममा कमल शाह मुख्यमन्त्री तथा नरेश शाही अर्थमन्त्री हुँदाताका बनेको प्रदेश लगानी सम्मेलनको सचिवालय सदस्य थिए । उनले त्यसबापत कुनै तलब भने लिएनन् । त्यो सहजीकरणको भूमिकामात्रै थियो । सहजीकरणकै लागि उनले दिल्लीदेखि उत्तराखण्डका लगानी सम्मेलनको मोडेलहरु हेरे ।
३७ वर्षे शाही एमाले छँदा २०६७ सालमा अखिलको केन्द्रीय सदस्य भए । अखिल केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा गण्डकी इन्चार्जको अनुभवसमेत लिएका उनको विद्यार्थी राजनीतिको यात्रा २०५८ बाट सुरु भएको थियो । हाल उनी त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रको एमफिल-पीएचडीका विद्यार्थी हुन् ।
उनले विश्व व्यवस्था र त्यसको प्रभावबारेमा पढिरहेका छन् । एमाले अखिलमा केन्द्रमा बसेका उनी नेकपा एसको अखिलमा उपाध्यक्ष भएर बिदा भए । नेकपा एसमा उनी स्कुल विभाग सदस्य छन् भने केन्द्रीय परिषद् सदस्य पनि छन् । अहिले जारी महाधिवेशनमा उनी युवाहरुलाई नेतृत्व दिनुपर्ने पक्षमा छन् । देशमा २०३६ सालको नेतृत्वदायी पुस्ता नै हावी भएको भन्दै शाहीले अब युवाहरुलाई नेपाली वाम आन्दोलनको समग्र केन्द्रमा राख्नुपर्नेमा वकालत गर्दै आएका छन् ।
नेकपा एसको विद्रोहको औचित्यदेखि नेपालको गणतान्त्रिक व्यवस्थाको निराशालाई आशामा परिणत गर्न युवाहरुको नेतृत्व दल र देशमा हुनुपर्ने शाहीको भनाइ छ । उनले नेपाल प्रेससँग भने, ‘नेपालको वाम आन्दोलन र नेपालको समाजवादी आन्दोलन बलियो बनाउन तथा नागरिक निराशा घटाउन नेतृत्वमा युवाहरु आउन आवश्यक छ ।’