सुन प्रकरण- बरामद ६० केजी, तर बिगो दाबी ३२ सय केजी कसरी ? – Nepal Press

सुन प्रकरण- बरामद ६० केजी, तर बिगो दाबी ३२ सय केजी कसरी ?

काठमाडौं । ब्रेक सुमार्फत भएको ६० केजी सुन तस्करी प्रकरणमा भएको दोस्रो चरणको अनुसन्धानपश्चात नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक वर्षको अवधिमा एकै गिरोहले ३२ सय केजी सुन तस्करी गरेर नेपाल भित्र्याएको दाबी गरेको छ ।

बरामद नभएको ३ हजार १३४ केजीसमेतलाई बिगो कायम गरेर मुद्दा चलाउन सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ परेका छन् भने २६ जना फरार रहेको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार सन् २०२२ जुनदेखि २०२३ जुलाईसम्मको अवधिमा उक्त परिमाणको सुन तस्करी गरेर नेपाल भित्र्याइएको थियो । राजस्व अनुसन्धान विभागले गत साउनमा त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गरेको अवस्थामा सुनसहितको ब्रेक सु बरामद गरेको थियो । उक्त ब्रेक सुबाट करिब ६० केजी सुन बरामद भएको थियो । प्रहरीले यसरी ल्याइएको सुन गाल्ने कारखानासमेत पत्ता लगाएर छापा मारेको थियो ।

बरामद भएका खाली ब्रेक सुका आधारमा त्यतिबेला ३६२.७७ केजी सुन तस्करी गरेर ल्याइएको दाबीसहित अदालतमा अभियोगपत्र दायर गरिएको थियो । तर, अनुसन्धान अपूरो रहेको र केही मान्छेलाई जोगाइएको सार्वजनिक आलोचनापछि सरकारले सुन तस्करीको जाँचबुझ आयोग गठन गर्‍यो ।

सोही आयोगले बुझाएको प्रतिवेदनसमेतका आधारमा सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्य र केही सिनियर प्रहरी अधिकृतहरु त्यहाँबाट हटाइएका थिए । सीआईबीले पुनः अनुसन्धान अगाडि बढाएको छ ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार गिरोहले आर्थिक अवस्था कमजोर भएका विभिन्न ७ जना व्यक्तिका नाममा ७ वटा नक्कली कम्पनी खोली इलेक्ट्रोनिक सामान तथा ब्रेक सु ल्याउने भनेर त्यसमा सुन लुकाएर नेपाल भित्र्याएका थिए । यसरी खोलिएका ७ मध्ये ५ वटा कम्पनीले सामानभित्र सुन राखेर ल्याएको सीआईबीको दाबी छ ।

सीआईबीको अनुसन्धान प्रतिवेदनअनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६.८३ केजी सुन तस्करी गरेर भित्र्याइएको हो ।

यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालिमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ । ब्रेक सु, पानी तान्ने पम्प, मोबाइललगायतका सामानमा सुनियोजित रुपमा सुन जडान गरेर गिरोहले ल्याएको थियो । प्रहरीले यी सामान ल्याउन सम्बद्ध कम्पनीले लिएको प्रज्ञापनपत्रलाई तस्करी भएको सुनको मात्रा अड्कल्ने आधारका रुपमा लिएको छ ।

अनुसन्धानमा खटिएका डीएसपी सुन्दर तिवारीका अनुसार त्यसरी ल्याइएको सामान कुन गाडीबाट कहाँ लगिएको थियो र त्यहाँबाट के के बरामद भएको थियो भन्ने आधारमा पनि तस्करी भएको सुनको परिमाण यकिन गरिएको बताए ।

‘अनुसन्धानका क्रममा हामीले बरामद गरेका त्यसरी ल्याइएका सामानहरुबाट फलाम वा अन्य वस्तु रहने ठाउँहरु निकालिएको छ । त्यसको मतलब भनेको त्यहाँ जे सामान हुनुपर्ने हो, त्यो निकालेर सुन राखेर ल्याइएको थियो भन्ने हो’, डीएसपी तिवारीले भने ।

यस्तै प्रवक्ता बोगटीले मोबाइलको ब्याट्री रहने ठाउँमा ब्याट्री निकालेर सुनलाई ब्याट्री जस्तै बनाइ ल्याइएको बताए ।

सीआईबीले ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबीसहित त्यसलाई बिगो बनाएर अभियोग लगाउन राय दिएको छ । सीआईबीको यो अनुसन्धानले २०७५ सालमा सुन तस्करीबारे छानबिन गर्न गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरप्रसाद पौडेल संयोजकत्वको उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन चर्चामा आएको छ ।

तस्करीमार्फत ल्याएको ३३ केजी सुन हराएपछि गोरे भन्ने चुणामणि उप्रेती समूहले भरिया सनम शाक्यको हत्या गरेपछि विकसित घटनाक्रममा प्रहरीकै भूमिका शंकास्पद देखिएको भन्दै पौडेलको संयोजकत्वमा सरकारले छानबिन समिति बनाएको थियो ।

समितिले गोरे समूहले ३८ सय केजी सुन तस्करी गरेको प्रतिवेदन बुझाएको थियो भने प्रहरीका तत्कालीन डीआईजी र एसएसपीले नै अभियोग खेपेका थिए । संगठित सुन तस्करीमा बहालवाला प्रहरी अधिकारीहरुलाई प्रतिवादी बनाइए पनि उनीहरु सबैले सफाइ पाएका थिए । प्रतिवादी बनाइएका ६३ मध्ये ६ लाई जन्मकैद, एकलाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर