कान्तिपुर टीभीको ‘झारा टार्ने’ जवाफ, प्रेस काउन्सीलले ओसिन सिटौलालाई बयानका लागि बोलायो – Nepal Press

कान्तिपुर टीभीको ‘झारा टार्ने’ जवाफ, प्रेस काउन्सीलले ओसिन सिटौलालाई बयानका लागि बोलायो

काठमाडौं । कान्तिपुर टीभीले विवादित कार्यक्रम ‘इट्स माइ शो’ का विषयमा प्रेस काउन्सीलले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । तर, कान्तिपुरले पठाएको जवाफ चित्तबुझ्दो नरहेको काउन्सील स्रोतले बतायो ।

ओसिन सिटौलाले चलाएको ‘इट्स माइ शो’ विभिन्न कलाकारको चरित्रहत्या हुने गरी सवालजवाफ गरिएको पाइएपछि काउन्सीलले २४ घन्टे पुर्जी काटेको थियो ।

कान्तिपुरले काउन्सीललाई टालटुले जवाफ दिएको र गल्ती महसुस नगरेको बुझिएको छ । कान्तिपुरको जवाफी पत्रमा आफूहरु पत्रकार आचारसंहिताप्रति प्रतिवद्ध रहेको उल्लेख गरिए पनि गल्ती सच्याउने तत्परता व्यक्त भएको छैन ।

‘आफूहरुले हल्काफुल्का गसिपको रुपमा सो कार्यक्रम चलाएको भनेर हल्काफुल्का जवाफ आएको छ । यो झारा टार्ने कुरा मात्रै हो । काउन्सीलले यस विषयलाई गम्भीर रुपमा लिएर थप कारबाहीको प्रक्रिया अगाडि बढाउँछ’, काउन्सील स्रोतले भन्यो ।

नायिका जसिता गुरुङले लिखित उजुरी समेत दर्ता गरिसकेको हुँदा कान्तिपुरलाई यत्तिकै उन्मुक्ति दिन सकिने अवस्था नरहेको पनि स्रोतको भनाइ छ ।

कान्तिपुरको जवाफबाट सन्तुष्ट हुन नसकेको काउन्सीलले कार्यक्रम सञ्चालिका ओसिन सिटौलालाई कार्यालयमै उपस्थित भएर बयान दिन आज पत्र काटेको छ ।

पत्रमा भनिएको छ, ‘…इट्स माई शो विथ ओसिन सिटौला नामक कार्यक्रममा सम्प्रेषण भएका सामग्री अनुगमन गर्दा कतिपय अंशहरु पत्रकार आचारसंहिता प्रतिकूल देखिएको सन्दर्भमा तपाईंलाई देहायको स्थान, मिति र समयमा उपस्थितिका लागि निर्णयानुसार जानकारी गराइन्छ ।’

 


प्रतिक्रिया

One thought on “कान्तिपुर टीभीको ‘झारा टार्ने’ जवाफ, प्रेस काउन्सीलले ओसिन सिटौलालाई बयानका लागि बोलायो

  1. ट्यो ओसिन भन्नेलाई पनि नाङ्गेझार पारो न यार? कता सुरज सिंह ठकुरी अनि कहाँ ओसिन सिटौला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर