रोल्पाको घर्तिगाउँमा जीप दुर्घटना- ११ जनाको उद्धार, केही हताहत – Nepal Press

रोल्पाको घर्तिगाउँमा जीप दुर्घटना- ११ जनाको उद्धार, केही हताहत

रुपन्देही । रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु १ ज ३२५२ नम्बरको यात्रुवाहक जीप बुढागाउँमा दुर्घटना हुँदा ११ जना यात्रु गम्भीर घाइते भएका छन् ।

अन्य केही घाइते यात्रुको उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जनाएका छन् ।

उनका अनुसार अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ तर घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

‘गाडीको अवस्था क्षतविक्षत छ, अहिलेसम्म ११ जनाको उद्दार गरेर अस्पताल पठाएको अवस्था छ, तर घटनाको पूर्ण विवरण सबै आएको छैन, हाम्रो टोली अहिले बल्ल पुग्दैछ’, उनले नेपाल प्रेससँग भने ।

स्थानीयका अनुसार भने केही यात्रु हताहत भएका छन् । जीप सडकबाट करिब ४०० मिटर तल खसेकाे थियाे ।

स्थानीयले दुर्घटना मानवीय क्षति भएको आंशका गरेपनि प्रहरीले घटनामा परेर मृत्यु भएको आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाका अनुसार ११ जनालाई घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याइएको छ ।

जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी पुगेर उद्दार कार्यमा खटिएको छ । स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन् । गाडीमा १४ जना सवार रहेको अनुमान गरिएको छ ।

घटनास्थलमा पुगेका पत्रकार बुद्धिमान वलीका अनुसार बाटोमा पहिरो गएको र गाडी रोकेर हेर्दै गर्दा ब्याक भएर गाडी सडकबाट तल खसेको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *