सार्वजनिक लेखा समितिको टोलीद्वारा लुम्बिनी भ्रमण – Nepal Press

सार्वजनिक लेखा समितिको टोलीद्वारा लुम्बिनी भ्रमण

रुपन्देही । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्व जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो ।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदिप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका हुन् ।

यसअघि आयोजित छलफलमा लुम्बिनी विकास कोषको अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरूयोजनाका बिषयमा छलफल गरिएको थियो । छलफलमा बोल्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्नुपर्ने बताए ।

उनले कोषको ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउँदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले केञ्जो टाँगेले निर्माण गरेको लुम्बिनी गुरूयोजनाका बाँकी कामहरू सकेर गुरूयोजनालाई पनि समय अनुकूल बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी विकास कोषको बार्षिक आम्दानी निकै न्यून रहेको, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारको ध्यानआकर्षण गराउने बताए ।

त्यसैगरी टोलीले लुम्बिनी गुरूयोजनाका काम, लुम्बिनीको विधुतीय बस सञ्चालन, विभिन्न विकास निर्माण लगायतका बिषयमा चासो राखेको थियो । संसदीय टोलीसंग लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सरकारले गुरूयोजनाका लागि मात्रै त्यो पनि निकै न्यून बजेट छुट्टयाउने गरेको बताए ।

उनले लुम्बिनीसंगै प्राचीन कपिलवस्तु तिलौराकोट दरबार, अस्तुधातु रहेको रामग्राम, मावली देवदहको विकासका लागि बजेट अभावले काम गर्न नसिकएको बताए ।

यस्तै, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले प्रस्तुती राख्दै लुम्बिनीमा कर्मचारी दरबन्दी (ओएनएम) भएपनि संरचना स्वीकृत हुन नसकेको बताए ।

भ्रमण टोलीमा संयोजक योगेशकुमार भट्टराईसहित प्रतिनिधि सभा सदस्यहरू अच्युत प्रसाद मैनाली, अमरेश कुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँड, मनिप झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर