रास्वपाको घण्टी बजाउने मुकुल ढकाल प्रतिवेदन र अभिव्यक्तिको ६ बुँदे चिरफार – Nepal Press

रास्वपाको घण्टी बजाउने मुकुल ढकाल प्रतिवेदन र अभिव्यक्तिको ६ बुँदे चिरफार

जेठ ६ गते साँझ पार्टी मुख्यालय बनस्थलीमा उपलब्ध नेताहरुबीच सगुन खुवाउँदै रास्वपा सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई एक महिने समीक्षा यात्राका लागि बिदा गरेका थिए । तर, यात्रा थाल्दाको भव्य बिदाई, समापनका बेला स्वागतमा बदिलिएन । बरु पार्टीको प्रतिवेदन गृह मन्त्रालयमा पुगेर बुझाउनु पर्ने परिस्थिति बन्यो ।

असार ५ गते फेसबुकबाट समीक्षा यात्रा सकिएको जानकारी गराएका ढकाल मुख्य अंश मिडियामा छताछुल्ल बनाएर असार १२ गते साँझ एक हुल पत्रकार लिएर सभापति लामिछानेलाई प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगे ।

स्रोतका अनुसार दुई जनामात्रै रहेको गृहमन्त्रीको कार्यकक्षमा आक्रोशपूर्ण रुपमा अक्षरशः पढेर सुनाएपछि ढकालले प्रतिवेदन बुझाए । ढकालको प्रस्तुति र हाउभाउमात्र होइन, प्रतिवेदन नै अस्वाभाविक भए पनि लामिछानेले पूर्ववत व्यवहार गर्दै प्रतिवेदनबारे पार्टीमा छलफल गराउने आश्वासन दिए । सोहीअनुसार उनले असार १९ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

राष्ट्रिय बहस सिर्जना गर्न सभापतिलाई बुझाउनुअघि नै प्रतिवेदनका अंश चुहाउनु परेको तर्क गरेका ढकालले असार १९ गते केन्द्रीय समितिमा प्रतिवेदनमाथि हुने छलफलसमेत लाइभ गर्नुपर्ने अड्को थापेका छन्, प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग त छँदैछ । ढकालको प्रतिवेदन सार्वजनिक भइसकेको छैन । उनैले जति गराएका छन्, त्यसमा पार्टीको जनमत घटेको, तत्काल चुनाव भए प्रत्यक्षतर्फ मुस्किलले २-३ सीटमात्र जितिने, पार्टी अर्को विवेकशील साझा जस्तो हुन लागेको निष्कर्ष छ ।

इलामको उपनिर्वाचन समीक्षाका लागि भन्दै बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरेर रास्वपा सचिवालयले वैशाख २१ गते महामन्त्री ढकाललाई एक महिना समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो । आफूले एकल यात्रा गर्ने प्रस्ताव ढकाल स्वयम्को थियो ।

इलामको उपनिर्वाचन पार्टीको पक्षमा हुँदैन भन्ने तथ्यमा उम्मेदवार मिलन लिम्बूदेखि सभापति रवि लामिछानेसम्म स्पष्टै थिए । तीन सय हाराहारी पार्टी सदस्य रहेको, पार्टीको जिल्ला समितिसमेत पूर्ण नरहेको, पालिकास्तरका समिति गठन नै नभएको र प्रचारमा मुस्किलले आठ÷दश जना जुट्ने ठाउँमा चुनाव जित्ने आधार नै थिएन । तर, पार्टीको एउटा समूहले चुनाव जितिने हौवा पिटायो । र, त्यही समूहको योजनामा देशैभरका कार्यकर्ता इलाममा उतारियो । तर, परिणाम जमानत जफत !

चुनाव जितिन्छ भनेर देशैभरका कार्यकर्तालाई अति उत्साहित बनाएका केही नेताले इलामको परिणामसँगै रास्वपामा निराशा बढेको तीव्र प्रचार गराए । जानेर/नजानेर त्यसको नेतृत्व महामन्त्री ढकालले नै गरे । इलाममै गहिरिएर निर्वाचन समीक्षा नगरेको रास्वपाले त्यहाँको चुनावी परिणामलाई आधार बनाएर महामन्त्रीलाई एक्लै समीक्षा यात्रामा पठाउने निर्णय ग¥यो । तर, फर्किएर ढकालले पार्टीलाई नै तरंगित गर्ने गतिविधि बढाए । र, अझै बढाउने संकेत दिएका छन् ।

ढकाल अभिव्यक्तिका तीन पहेली

रास्वपाका केही नेता र कैयौं कार्यकर्तासँगको अनौपचारिक कुराकानीका आधारमा महामन्त्री ढकालले पदीय गरिमा र मर्यादा नाघेर गैरजिम्मेवार गतिविधि गर्नु र अभिव्यक्ति दिनुका केही कारण छन् ।

एक- ढकाल रास्वपाको गठन र विस्तारमा रवि लामिछानेकै बराबर आफ्नो पनि योगदान रहेको ठान्छन् । पार्टीले २१ सीट प्राप्त गर्नुमा पनि उनी आफैंलाई निर्णायक मान्थे । पार्टीका योजना निर्माणदेखि कार्यान्वयनसम्म, जिम्मेवारी बाँडफाँटदेखि भूमिकाविहीन बनाउनेसम्मका गतिविधिका प्रधान पात्र आफूलाई सम्झन्थे । पार्टीको विधान र दस्तावेज, चुनावको बाचापत्र तथा पार्टीको सैद्धान्तिक आधारको प्रारुपसमेत बनाएको दाबी गर्ने ढकाल आफूलाई बौद्धिक र लामिछानेलाई मासबेस नेताका रुपमा चित्रित गर्थे । पुरानो चिनजान र निकट हुनुको नाताले सभापति लामिछानेले आन्तरिक असन्तुष्टि बावजुद पनि ‘लिफ्ट’ दिँदा ढकाल पार्टीमा सर्वेसर्वा भए । हुँदाहुँदा उनी पार्टीका बैठकमै ‘मैले बनाएको पार्टी मैले भने जस्तो भएन भने सक्दिन्छु’ भन्ने हदसम्म पुगेका थिए । चरम महत्वाकांक्षा र घमण्डले फुलिएका ढकालले समीक्षा यात्रालाई आफ्नो लोकप्रियता जाँच्ने मौकाका रुपमा प्रयोग त गरे । तर, परिणाम सोचेअनुसार आएन । उनले स्थानीयस्तरमा आफ्नो लोकप्रियताको ग्राफ भेट्टाउन सकेनन् ।

दोस्रो- पार्टी निर्माणमा सभापति लामिछाने बराबरकै स्वघोषित हिस्सेदार महामन्त्री समीक्षा यात्रामा आउँदा नेता कार्यकर्ताले भव्य स्वागतसहित मानमनितो गर्लान्, सयौंको भीड जम्मा भएर खादा-माला गर्ला, आफ्नो हैसियत आफैं बढाउने गरी भाषण गर्न पाइएला भन्ने ढकालको अपेक्षा काठमाडौं छोडेर मकवानपुर पुग्दानपुग्दै भंग भयो । जिल्लास्तरीय संगठन नै चलायमान नरहेको पार्टीका कार्यकर्ताले महामन्त्रीको अपेक्षा पूरा गर्ने सम्भावना नै थिएन । बरु, ढकालको व्यक्तिगत स्वभाव र शैली तथा पार्टी विकास र विस्तारको एकल जस लिने प्रवृत्ति अनि आफ्नो कुरा नमाने संगठन नै विघटन गरिदिने धम्कीका कारण कार्यकर्ता उनीसँग नराम्रोसँग बिच्किए । कतिपय ठाउँमा कार्यकर्ताले नै रातोपिरो पारिदिँदासमेत केन्द्रीय सदस्यले नै साथ दिएनन् । आफ्नो पहिचान स्थापित गराउने थप उद्देश्यमा समीक्षा यात्रा थालेका ढकाल अन्ततः आफ्नै अलोकप्रियताको सत्य थाहा पाएर काठमाडौं फर्किए ।

तेस्रो- पार्टी सरकारमा गएपछि चार जना मन्त्रीलाई आफैंले ‘कमाण्ड’ गर्ने योजना ढकालको थियो । जसअनुसार उनले मन्त्रीको सचिवालय गठनदेखि सहयोगी समूह बनाउने कामसम्ममा हस्तक्षेप गरे । मन्त्रालयगत छुट्टाछुट्टै सहयोगी समूह बनाएर हप्तैपिच्छे पार्टीलाई मन्त्रीले बिफ्रिङ गर्नुपर्ने नियम बनाए । सचिवालयले गर्ने समन्वय र मन्त्रीले गर्ने सानातिना काममा पनि चासो दिँदै दबाब बढाउन थाले । ‘… यो किन भयो, किन भएन …’ सचिवालयका सदस्यसमेतलाई हप्कीदप्की गर्न थाले । मुकुलको अनावश्यक दबाब खेप्नु परेपछि मन्त्रीहरुलाई सहयोग गर्ने गरी डा. स्वर्णिम वाग्ले, शिशिर खनाललगायतको टीम बनाइँदा मुकुलको भूमिका खुम्चियो । र, उनी असन्तुष्ट हुन थाले ।

यी मुख्य तीन कारण, जसले रास्वपा महामन्त्री ढकाललाई आफ्नै जिम्मेवारी बिर्सिएर पार्टी अनुशासनविपरीत खडा हुन, पार्टीभित्र चरम निराशा छर्न, अराजकता सिर्जना गर्न र सभापति लामिछानेसँगको दूरी बढाउन प्रोत्साहित गर्‍यो ।

ढकाल प्रतिवेदनका तीन सन्दर्भ

अब महामन्त्री ढकालले चुहाएका प्रतिवेदनका मुख्य तीन सन्दर्भबारे चर्चा गरौं ।

पहिलो- ढकालले प्रतिवेदनमा पार्टीको जनमत खस्किएको र अहिले नै चुनाव भए मुस्किलले राष्ट्रिय दल बन्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । ढकालको यो निष्कर्ष आंशिक सत्य हो । रास्वपाप्रतिको आमआकर्षण घटेकै छ । उसले आमनिर्वाचनका आफ्नै मतदाताको चित्त बुझाउनेगरी काम गर्न पनि सकेन । पार्टीका संरचना र नेता चलायमान नहुँदा संगठन विस्तार रोकिएको छ । रास्वपाले सुरु गरिएको वडा अधिवेशनलाई समेत निरन्तरता दिन सकेन । सरकारमा सहभागितापछि त मुस्किलले एकाध वडा अधिवेशन भएका होलान् । रास्वपाका नेता कार्यकर्ता सिंहदरबार केन्द्रित हुँदा पार्टीका गतिविधि ठप्प प्रायः भए ।

प्रभावकारी नीति, योजना र कार्यक्रम बनाउन नसक्दा वा बनाएकाको कार्यान्वयनमा चुक्दा रास्वपा सिथिल बन्यो । र, कार्यकर्ता/शुभेच्छुक पनि निराश भए । पार्टीको जनमत खस्किनु र सांगठनिक विस्तार वा सक्रियता सुस्त हुनुमा धेरै पात्र वा प्रवृत्ति कारक होलान् । कारण र परिणाम जे-जस्तो भए पनि जिम्मेवारीका हिसाबले दोष अरुतर्फ सोझ्याएर महामन्त्री ढकाल पानीमाथिको ओभानो हुन सक्दैनन् । किनकि रास्वपाको विधानले महामन्त्रीलाई पार्टी संगठनको प्रमुखसरह मानेको छ । विधानको धारा ३ (क), (ङ) र (ञ) ले नीति निर्माणदेखि कार्यान्वयनको जिम्मेवारीसमेत महामन्त्रीलाई दिएको छ ।

विधानले दिएको कार्यकारी अधिकार प्रयोग गर्दै महामन्त्रीले लगेका लगभग सबै योजना र प्रस्ताव पार्टीले स्वीकार गर्दै आएको नेताहरु बताउँछन् । आफ्नो प्रस्तावमा आनाकानी हुँदा उनी धम्क्याएर पनि पारित गराउँथे । पार्टीको सांगठनिक सवालमा प्रचुर अधिकार हुँदाहुँदै पनि ढकालले नेता कार्यकर्तालाई धम्क्याउने र थर्काउनेबाहेक पार्टी विस्तार र सुदृढीकरणका योजना ल्याउन सकेनन् । नीति, योजना र कार्यक्रम तर्जुमामा मात्र होइन संगठन विस्तारका आधारभूत ज्ञानसमेत नहुँदा पार्टी दुई वर्ष पुग्दासम्म पनि ढकाल नेता कार्यकर्ताका लागि सर्वस्वीकार्य महामन्त्री बन्न सकेका थिएनन् । आफ्ना कमजोरी क्रमशः उजागर हुन थालेपछि, केन्द्रीय समितिमै कमजोर भएपछि र समीक्षा यात्रामै नेता÷कार्यकर्ताले सच्चिन दबाब दिएपछि ढकालले आफ्नै अकर्मण्यता छोप्न प्रतिवेदनको सहारा लिएका हुन् भन्छन् रास्वपाकै एक पदाधिकारी ।

दोस्रो- ढकालले सरकारमा सहभागिताप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । केपी शर्मा ओली र पुष्पकमल दाहालसँग मिलेर सरकारमा जानुले सकारात्मक परिणाम नदिने आँकलन गरेका छन् । आफ्ना मन्त्रीहरुले जनभावनाअनुसार काम गर्न नसकेकोमा रुष्ट रहे पनि ढकालले सरकार छोडिहाल्न भने नहुनेमै जोड दिएका छन् । ओली र दाहालको चर्को आलोचना गर्ने, तर सरकार छोडिहाल्न नहुने र सरकारमै बसेर बालेनहरुसँग राजनीतिक सहकार्य गर्नुपर्ने विरोधाभाषी तर्क गरेका छन् ।

गठबन्धन सरकारको सीमा, बाध्यता र कार्यशैलीबारे सामान्य चेतसमेत नराखी ढकालले रास्वपाका मन्त्रीहरुको आलोचना गरेका छन् । प्रधानमन्त्री निर्णायक हुने हाम्रो शासकीय पद्धति र अभ्यासमा रास्वपाका मन्त्रीले चाहेर पनि उल्लेख्य केही गर्न सक्दैनन् भन्ने सत्यलाई बिर्सिएर ढकालले निराशाको व्यापार गर्न खोजेका छन् ।

रास्वपाका मन्त्रीले केही सकारात्मक काम सुरु नगरेका होइनन् । तर, मूलधारको भनिएका मिडिया सधैं नकारात्मक हुँदा राम्रा कामको प्रचार भएको छैन । मन्त्रीहरुले गरेका राम्रा कामको अपनत्व लिएर त्यसलाई जनस्तरसम्म पु¥याउने जिम्मेवारी पार्टीका संरचना र नेता कार्यकर्तामार्फत पनि हुनुपर्थ्यो । तर, तल्लो स्तरसम्म पार्टीका एकाइ नै बनाउन नसकेको रास्वपाका लागि यो दोस्रो माध्यमको प्रयोग पनि कठीन बन्यो । सांगठनिक संरचना विस्तारमा पटक्कै ध्यान नदिने उनै मुकुल ढकालहरु नै अहिले मन्त्रीहरुले गरेका कामको प्रचार पार्टी पंक्तिमा गर्न सकिएन भनेर बर्बराइरहेका छन् । सरकारमा जान आफैं बल गर्ने, मन्त्रीका सानाभन्दा साना काममा हस्तक्षेपको प्रयास गर्ने, भएका कामको प्रचार जनस्तरसम्म लैजान आवश्यक पर्ने सञ्जाल (संगठन) बनाउन ध्यान नदिने अनि सारा नासियो, बिग्रियो, भत्कियो भनेर निराशा छर्ने ढकालको प्रयास सांगठनिक अराजकता हो ।

तेस्रो- सभापतिलाई बुझाउनुअघि नै समीक्षा प्रतिवेदनका अंश सार्वजनिक गरेपछि रास्वपाको अनुशासन आयोगले ढकाललाई स्पष्टीकरण सोध्यो । पार्टीका जुनसुकै सदस्यले पनि क्षणिक स्वार्थका लागि लत्तो छोडेपछि त्यसबारे आधिकारिक जानकारी लिन स्पष्टीकरण सोध्नु आयोगको अधिकार र कर्तव्य दुबै हो । तर, ढकालले सभापतिले बाहेक अरुले स्पष्टीकरण सोध्न नसक्ने जिकिर गरेर आफू पार्टी विधान, पद्धति र अनुशासनको सीमाभन्दा बाहिर रहेको स्पष्ट पारे ।

सचिवालयले निर्णय गरेर समीक्षा यात्रामा पठाएका कारण ढकालले प्रतिवेदन पनि सचिवालयको बैठक आह्वान गरेर सभापतिलाई बुझाउनुपर्ने थियो । तर, उनले जिम्मेवारी र कर्तव्यको हेक्का नराखी केटौले पारामा बुझाउनुअघि नै प्रतिवेदन छरपष्ट पार्दै पार्टी मृत्योन्मुख रहेको घोषणा नै गरिदिए । ढकालको यो कृत्य अनुशासन उल्लंघनको मात्र होइन, सिंगो पार्टी पंक्तिलाई निराशा छर्ने कारण बन्यो । पार्टीको महामन्त्री जस्तो जिम्मेवार अधिकारीको त्यो हदको गैरजिम्मेवार कार्यका लागि अनुशासन आयोगले कदम चाल्नैपर्थ्यो, चाल्यो ।

रास्वपाका नेताहरुले ठानेका थिए, प्रतिवेदन सार्वजनिक गरेपछि ‘अञ्जानमा गल्ती भयो’ भनेर ढकालले क्षमायाचनासहित पार्टीले गर्ने निर्णय स्वीकार्ने बचनबद्धता जनाएर प्रकरणलाई साँघुर्‍याउन आफैं भूमिका खेल्नेछन् । तर, उनले त प्रतिवेदन अक्षरशः सार्वजनिकीरण र केन्द्रीय समितिको बैठकसमेत ‘लाइभ’ गर्नुपर्ने माग गरे । अर्थात् उनी आफ्नो कदम सही रहेको थप प्रमाणित गर्न लागे । यसले उनीप्रतिको असन्तुष्टिलाई थप फराकिलो बनाएको नेताहरु बताउँछन् ।

अब के हुन्छ त ? सम्भवतः ढकाल आफैंले आफूमाथि कारबाहीको माग गर्छन्, जुन उनले संकेत गरिसकेका छन् । उनी बालेन शाहले पार्टी खोल्छन् र त्यो पार्टी रवि लामिछानेको भन्दा लोकप्रिय बन्नेछ र त्यहाँ राजनीतिक प्लेटफर्म बनाउन सकिन्छ भन्ने सोचमा पनि हुन सक्छन् । रास्वपामा रोमान्सका लागि आएका केही नेता कार्यकर्ता अहिले आफ्नो पार्टी र नेताको भन्दा बालेनको प्रशंसामा उत्रिन्छन् । हो, त्यस्तै पंक्तिको लहरमा ढकाल उभिनेछन् र रास्वपामा फरक आलोचनात्मक चेत राख्नेलाई ठाउँ छैन भन्ने नयाँ सन्देश दिन चाहन्छन् ।


प्रतिक्रिया

One thought on “रास्वपाको घण्टी बजाउने मुकुल ढकाल प्रतिवेदन र अभिव्यक्तिको ६ बुँदे चिरफार

  1. The article is a peace of intellectual analysis. Mr. Dhakal himself is an intellectual and honest politician. He should learn from his mistakes and read this article carefully and with positive intent.

Leave a Reply

Your email address will not be published. Required fields are marked *