कांग्रेस-एमालेबीच नयाँ समीकरणका लागि करिब सहमति, ओली बन्छन् त प्रधानमन्त्री ? – Nepal Press

कांग्रेस-एमालेबीच नयाँ समीकरणका लागि करिब सहमति, ओली बन्छन् त प्रधानमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाउने करिब सहमति भएको छ । पटकपटकको संवाद र छलफलपछि यी दुई दल मिलेर सरकार बनाउने सहमतिमा पुगेका हुन् ।

संविधान संशोधन लगायतका विषयमा दुई तिहाईको बहुमत पुर्याउने गरी सरकार बनाउने कांग्रेसले गृहकार्य प्रारम्भ गरेको हो कांग्रेसको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक देखिएका छन् ।

शनिबार सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेका अध्यक्ष ओलीले आगामी राजनीतिक परिदृश्यका विषयमा भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका थिए । उनीहरूबीच दुई दिनसम्म घन्टौ संवाद भयो । तर नयाँ समीकरणले गति पाउने विषयमा प्रचण्ड पनि कन्भिन्स भइसकेको स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष ओलीले सभापति देउबालाई आगामी राजनीतिक समीकरणका विषयमा ग्रीन सिग्नल दिइसकेका छन् । यता देउवाले पनि ओली सकारात्मक रहेको विषय पदाधिकारी बैठकमा जानकारी गराइसकेका छन् । अध्यक्ष ओलीलाई प्रधानमन्त्री स्वीकार गर्दै देउवाले नयाँ राजनीतिक समीकरण बनाउने गरी ड्राफ्ट तयार गरेका छन् ।

अहिले उक्त सहमतिको मस्यौदामाथि अन्तिम छलफल भइरहेको स्रोतको दाबी छ । उक्त मस्यौदामा प्रधानमन्त्रीमा अध्यक्ष ओलीले नेतृत्व गर्नेछन् । प्रदेशहरूको पनि भागबण्डा टुंग्याउने गरी छलफल अगाडि बढाइएको छ ।

कांग्रेस एमालेसँग गठबन्धन गर्ने गरी आन्तरिक रूपमा ठूलो तयारीका साथ अगाडि बढेको देखिन्छ । एमाले पनि अहिले कांग्रेससँगको सहकार्यलाई अगाडि बढाउन खोजेको स्रोतको दाबी छ । तर अहिलेसम्म सहमतिको खाकामा हस्ताक्षर हुने भइसकेको छैन ।

काङ्ग्रेसले चाँडै सहमतिमा हस्ताक्षर हुने दाबी गरेको छ । एमालेका एक पदाधिकारीका अनुसार कांग्रेसले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेको कुरा सत्य भएपनि एमालेले तत्काल नै नयाँ गठबन्धन बनाउने गरी निर्णायक छलफल अगाडि बढाएको छैन ।

उता कांग्रेसका नेताहरुले भने दुई दलबीच आलोपालो प्रधानमन्त्री तथा प्रदेश सरकार बाँडफाँटसम्मको सहमति भइसकेको र आजै हस्ताक्षर हुने दाबी गरेका छन् । पहिलो चरणमा ओली र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको कांग्रेस नेताहरुको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर