प्रचण्डले बोलाए पदाधिकारी बैठक, राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने ? – Nepal Press

प्रचण्डले बोलाए पदाधिकारी बैठक, राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने ?

काठमाडौं । कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् ।

नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न विहान ९ बजे बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने बताइएको छ ।

दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका छन् ।

विकसित राजनीतिको बारेमा बैठकमा छलफलपछि प्रधानमन्त्रीले उपयुक्त कदम चाल्ने माओवादी केन्द्रका सचिव गणेश साहले बताए । राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

नत्र एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिनुपर्नेछ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

तर कांग्रेस र एमाले मिलेको अवस्थामा विश्वासको मत लिने प्रक्रियामा जानु राजनीतिक रुपमा सत्तालिप्सामात्र देखिने भएकाले प्रचण्डले त्यो बाटो नलिने अनुमान नेताहरुको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर