माओवादीको निष्कर्ष: कांग्रेस-एमाले मिलन अस्वाभाविक, देश पश्चगमनतर्फ जाने संकेत (भिडिओ) – Nepal Press

माओवादीको निष्कर्ष: कांग्रेस-एमाले मिलन अस्वाभाविक, देश पश्चगमनतर्फ जाने संकेत (भिडिओ)

नेता भन्छन्- पहिलो र दोस्रो दल मिल्नु अप्राकृतिक, संविधान संशोधनको के आवश्यकता पर्‍यो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्ने विषयमा सहमति जनाएपछि आपत्ति जनाएको छ । आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले कांग्रेस र एमालेको मिलन संवैधानिक मूल्यमान्यता विपरीत भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो विषयमा प्रारम्भिकरूपमा ब्रिफिङ भएको छ, घटनाक्रमबारे अध्ययन हुँदैछ । अप्रत्यासितरूपमा घटनाक्रम अगाडि आएका छन् । यो त्यति स्वाभाविक र संवैधानिक मूल्यमान्यतामा आधारित भएर आएजस्तो लागेको छैन ।’

संसदको पहिलो र दोस्रो दल मिल्नु प्राकृतिक नहुने उनको तर्क छ ।

उनले थपे, ‘संविधान संशोधनको कुरा पनि आएका छन् । संविधानमा समानुपातिकलाई चलाउने कुरा आएको छ । त्यो संविधानको महत्वपूर्ण अंग हो । संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख छ ।’

यो सहकार्य बेठीक छ भन्ने पार्टीको निष्कर्ष रहेको सापकोटाले सुनाए ।

‘यो स्वाभाविक र प्राकृतिक छैन । संविधानलाई राम्रोसँग अनुभव गर्न पाइएको छैन । यो सरकार बनेदेखि सामाजिक न्याय र सुशासनमा उल्लेख्य काम भएका छन् । भ्रष्टाचारविरुद्ध इतिहासमै नआएको कुरा बाहिर ल्याएको छ । ललिता निवास, भुटानी शरणार्थी, सुनकाण्डलगायतको फाइल खुलेका छन् ।’

उनले यो अप्रत्यासितरूपमा कांग्रेस एमालेको मिलन भएकाले सत्ता समीकरणमा भएका अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने बताए ।

यस्तै, सचिव देवेन्द्र पौडेलले एमालेले तुरुप एउटा फ्याल्ने, काम अर्को गर्ने षड्यन्त्र गरेकाले त्यसको प्रतिवाद गर्ने बताए ।

उनले थपे, ‘दुई पार्टीले सहमति गरेर अरुलाई आज बिहान आए राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर हुन्छ र ? तुरुप एउटा फ्याल्ने काम अर्को गर्ने भएको छ, त्यो षड्यन्त्र हो त्यसको प्रतिवाद गर्ने कुरा भएको छ ।’

अब दुई/चार दिन घुर्काउने हो कि ३० दिनसम्म जाने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘प्रतिनिधिसभामा जसले बहुमत सिद्ध गर्नसक्छ उसैको सरकार हुन्छ । घुर्काउने भन्दा पनि लोकतन्त्रलाई संस्थागत गर्न हामी पहल गर्छौँ । संविधानको संशोधन के विषयमा गर्न लागिएको हो ? के आवश्यकता पर्‍यो ? त्यो पनि बुझ्न बाँकी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर