‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए ‘पुष्पा’ भिलेन सुनील र ‘गजनी’ भिलेन प्रदीप – Nepal Press

‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए ‘पुष्पा’ भिलेन सुनील र ‘गजनी’ भिलेन प्रदीप

काठमाडौं । चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ । अबको ४ दिनसम्म यो सिनेमाको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए ।

‘यो सिनेमाको अन्तिम सेड्युल हो । ४ दिनमा सिनेमाको सम्पुर्ण छायांकन सकिनेछ । त्यसपछि हामी पूर्णरुपमा सिनेमाको प्रचारप्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं’, निर्देशक पन्तले बताए । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको सिनेमाको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

सिनेमाकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय सिनेमा ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् । उहाँहरु छायांकनको लागि नेपाल आएको बेला मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले पनि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावतले आफुले सिनेमामा अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी सिनेमा ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली सिनेमाको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए ।

यस्तै, दक्षिण भारतीय सिनेमा ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली सिनेमामा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । सिनेमाको स्कृप्ट अनुसार सिनेमा पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो सिनेमाले नेपाली सिनेमालाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया सिनेमा भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर