शिक्षा मन्त्रालयको ‘करिअर काउन्सिलिङ’का लागि विशेष वेबसाइट सुरु – Nepal Press

शिक्षा मन्त्रालयको ‘करिअर काउन्सिलिङ’का लागि विशेष वेबसाइट सुरु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्ग निर्देशन अर्थात् करिअर काउन्सिलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक भएको छ ।

वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ । यो लिंकमा गएर विद्यार्थीले आफ्नो करिअरबारे सूचना र सहायता लिन सक्नेछन् ।

छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकै ठाउँबाट सार्वजनिक गर्ने प्रबन्ध गरिएको छ ।

जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने निकै जटिल प्रश्न हुन्छ । यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ ।

विद्यार्थीले आफ्नो वृत्ति मार्ग निर्धारण गर्न समाजका असल र सफल पात्रका प्रेरणाका कथा पनि वेबसाइटमा हेर्न र पढ्न मिल्नेछ ।

वेबसाइटमा राखिएको प्रश्नावलीमा सहभागी भई करियर असेसमेन्टमार्फत विद्यार्थीले आफ्नो क्षमता जाँच गरेर वृत्ति सुझाव प्राप्त गर्न सक्नेछन् । वेबसाइटमा पेशा र रोजगारीका लागि जानकारी पाइने इ-लर्निङका स्रोत पनि राखिएको छ ।

यही कार्यक्रमअन्तर्गत शिक्षामन्त्री सुमना श्रेष्ठले आफै सञ्चालन गरेर आठ एपिसोडमा विभिन्न पेशाका मानिसमार्फत ती पेशाका सम्भावना र चुनौतीबारे बहस पनि गरेकी थिइन । ती सबै युट्युब पोडकास्ट पनि वेबसाइटमा राखिएको छ ।

वृत्ति, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइलाई श्रम बजारको आवश्यकता, वैयक्तिक रुचि, खुबी र क्षमता अनुसार दिगो, मर्यादित र व्यवस्थित रूपमा मार्ग निर्देशित गर्न विद्यार्थीलाई सूचना, परामर्श, एवम् वृत्ति मार्ग निर्देशन सेवा प्रदान गर्ने उद्देश्यले वृत्ति मार्ग निर्देशन कार्यक्रम लागु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर