जब पेनाल्टीमा चुकेपछि भक्कानिए रोनाल्डो – Nepal Press

जब पेनाल्टीमा चुकेपछि भक्कानिए रोनाल्डो

काठमाडौं। युरोपियन च्याम्पियनसिप (युरो कप) अन्तर्गत मङ्गलवार राती भएको प्रिक्वाटरफाइनलमा पूर्वविजेता पोर्चुगलले स्लोभानियामाथि जित हात पार्न टाइब्रेकर कुर्नु पर्‍यो।

पेनाल्टी सुटआउटमा पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले तीनवटा प्रहार रोकेपछि स्लोभानिया ३-० ले पराजित भएर अन्तिम १६ बाटै बाहिरिन पुग्यो।

नतिजापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दुई हात जोडेर आफ्ना दर्शकसँग माफी मागेका थिए। त्यसको कारण के थियो भने अतिरिक्त समयमा रोनाल्डो पेनाल्टीमा नचुकेको भए यो खेल टाइब्रेकरसम्म पुग्दैन थियो।

एक सय ५ औँ मिनेटमा रोनाल्डोको पेनाल्टीलाई स्लोभानियाका गोलकिपर यान ओल्बाकले डाइभ गर्दै रोकेका थिए। बार च्यापेर गरेको प्रहार ओल्बाकले रोकेपछि रोनाल्डो भक्कानिए।

उनलाई सान्त्वना दिन पुरा टीम घेरियो। जारी युरो कपमा रोनाल्डोले गोल गर्न सकेका थिएनन् र उक्त पेनाल्टी गोल भएको भए उनले खाता खोल्ने थिए। उल्लेखनीय के छ भने पेनाल्टी सुटआउटमा पहिलो प्रहार गर्न रोनाल्डो आफैं पुगेका थिए। यस पटक भने उनी चुकेनन्।

३९ वर्षीय रोनाल्डो सिनियर अन्तर्राष्ट्रिय फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। युरो कपका पनि उनी सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उनले एक सय ३० गोल गरेका छन्। तीमध्ये २० गोल पेनाल्टीमार्फत गरेका छन्।

आफ्नो खेल जीवनमा एक सय ९२ पटक पेनाल्टी (टाइब्रेकरसहित) प्रहार गरेका रोनाल्डोले २९ पटक गोल गर्न सकेका छैनन्।

उनी अन्तिम पटक सन् २०२२ को एफए कपअन्तर्गत मिडल्सब्रोसँगको पेनाल्टी सुटआउटमा चुकेका थिए।

रोनाल्डोले आफ्नो सिनियर अन्तर्राष्ट्रिय करियरमा बायाँ खुट्टाले ३१, दायाँ खुट्टाले ७१ र हेडमार्फत २८ गोल गरेका छन्। यस्तै फ्रिकिकमार्फत ११ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *