सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ – Nepal Press

सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका-२० मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनी विश्वास दिलाइ सञ्चालकलाई लाभ र बचतकर्तालाई हानि पुर्‍याइ बचतकर्ताको निक्षेप अपचलन गरी अहिलेसम्म ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुर- २० पुल्चोक स्थायी घर भएका संस्थाका अध्यक्ष ४३ वर्षीय सुनिल महर्जन, ललितपुर- १२ मंगलबजार स्थायी घर भएका संस्थाका उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन र भक्तपुर- ७ सूर्यविनायक स्थायी घर भएका संस्थाका सचिव ३७ वर्षीय अर्पण कवां रहेका छन् ।

उनीहरुविरुद्ध गत चैत ७ मा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अनुसन्धान भइरहेको थियो । उजुरी परेपछि सहकारी संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारी फरार रहेकोमा प्रहरी टोलीले सोमबार बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अध्यक्ष महर्जनले २०६५ सालमा नरसिंह सहकारीको सदस्यको रुपमा ४ वर्ष काम गरेको, २०७० सालदेखि अहिलेसम्म सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रुपमा कार्यरत रहेको, सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिनेजानेका, आफूले भनेको कुरा मान्ने मानिस राखी बचतकर्ताको रकम आफूखुसी लगानी गर्दै आएको पाइएको छ ।

महर्जन २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी रहेको पाइएको छ ।

उपाध्यक्ष महर्जन २०७६ सालदेखि अहिलेसम्म सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष रहेको तथा कवां पनि २०७६ सालदेखि अहिलेसम्म संस्थाको सचिव रहेका थिए । कवां अहिले इवामुरा कलेज भक्तपुरमा प्रशासन शाखामा कार्यरत रहेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।

सुयोगका बचतकर्ता १२ सय जना रहेको र उक्त सहकारी संस्थाको जम्मा निक्षेप ४५ करोड रहेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर