परासीमा अवैध म्यानपावर सञ्चालन गर्ने दुई भारतीय पक्राउ – Nepal Press

परासीमा अवैध म्यानपावर सञ्चालन गर्ने दुई भारतीय पक्राउ

रुपन्देही । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवैध रुपमा म्यानपावर व्यवसाय सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । प्रहरीले उक्त म्यानपावर कम्पनीमा शीलसमेत गरेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको रसियालगायतका देशमा कामदार पठाउन रामग्राम ५ बाइपास चोकमा खोलिएको जेडी मेनपावर सर्भिसेजलाई प्रहरी र श्रम तथा रोजगार कार्यालय बुटवलको टोलीले शील गरेको हो ।

एक हप्ता अगाडि भारत मुम्बईका २४ वर्षीय निर्सग रवीन्द्र राणे र ३७ वर्षीय जावेद मसिहले उक्त म्यानपावर सञ्चालनमा ल्याएका थिए ।

उक्त म्यानपावरको मुख्य कार्यालय मुम्बईमा रहेको र यहाँबाट कामदार त्यहाँ पठाइ अवैध रुपमा वैदेशिक रोजगारमा पठाउने प्रयोजनका लागि म्यानपावर खोलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय विनादर्ता अवैध रुपमा म्यानपावर सञ्चालन गर्ने र एजेन्ट बनाएर मानिसलाई प्रलोभनमा पार्ने काम बढ्दै गएको छ । चालू आर्थिक वर्षमा मात्रै ४ वटा त्यस्ता म्यानपावर कम्पनीलाई कारबाही गरिएको श्रम तथा रोजगार कार्यालय बुटवलका अधिकृत केशवराज भट्टराईले जानकारी दिए ।

विनादर्ता रसिया, अस्ट्रेलिया, इटलीलगायतका देशमा कामदार पठाउने भन्दै घर भाडामा लिएर उनीहरुले म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट मोबाइल, ल्यापटप, भारतीय आधार कार्ड, चेकबुक, डेभिड कार्डलगायत बरामद भएको जनाएको छ ।

उनीहरुले कति जनालाई विदेश पठाए वा पठाउने प्रक्रियामा छ भन्नेबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *