प्रेस काउन्सिलमा दलबलसहित पुगिन् ओसिन सिटौला, के दिइन् बयान ? – Nepal Press

प्रेस काउन्सिलमा दलबलसहित पुगिन् ओसिन सिटौला, के दिइन् बयान ?

छलफलपछि प्रेस काउन्सिलको कडा निर्देशनः लुगा फुकाल्ने शर्त, अरुको चरित्र हत्या गरिएका संवादहरु यथासक्य चाँडो हटाउनू

काठमाडौं । कान्तिपुर टेलिभिजनको विवादित कार्यक्रम ‘इट्स माइ शो’ कि प्रस्तोता ओसिन सिटौलाले प्रेस काउन्सिलमा पुगेर बयान दिएकी छन् । उनले आफूबाट गल्ती भएको स्वीकारोक्ति व्यक्त गरेको काउन्सिल स्रोतले बतायो ।

काउन्सिलले आज दिउँसो १ बजे ओसिनलाई बोलाएको थियो । उनी बोलाइएको समयभन्दा आधा घन्टा ढिला गरी पुगेकी थिइन् । टेलिभिजन स्रोतका अनुसार प्रेस काउन्सिललाई अटेर गरेर बस्ने मुडमा व्यवस्थापन थियो । तर, नियमनकारी निकायलाई अवज्ञा गरेर साध्ये लाग्दैन भन्ने भएपछि जाने निर्णय भएको हो ।

ओसिनले टेलिभिजनको व्यवस्थापकीय र सम्पादकीय टीमको दलबल आफूसँग लगेकी थिइन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत स्वयम् छलफलमा सहभागी भए । यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल बार एसोसियसनका महासचिव अञ्जिता खनाल, उजुरी महाशाखा प्रमुख रामशरण बोहोरासहितका पदाधिकारी र कर्मचारी बसेका थिए ।

काउन्सिलसँगको छलफलमा सिटौला अलि हतास रुपमा प्रस्तुत भएको स्रोतले बतायो । उनले उक्त एपिसोडपछि आफूमाथि पनि ह्यारेसमेन्ट भइरहेको गुनासो गरेकी थिइन् । अरुको निजी जीवनमाथि असर पुग्ने कुरा आफूबाट नभएर गेस्टबाट आएको उनले दाबी गरिन् ।
‘मैले प्रश्नमात्रै गरेको हुँ । विवादित कुराहरु गेस्टबाट आएका हुन्’, ओसिनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले काउन्सिलले आचारसंहिता पालनामा लिएको पहलकदमी राम्रो भए पनि आफूलाई मात्रै टार्गेट गरिएको हो कि भन्ने आशंका उब्जेको बताइन् । काउन्सिल पदाधिकारीहरुले आचारसंहिता उल्लंघनका विषयहरुमा नियमितजसो ठूला-साना सबै सञ्चारमाध्यमहरुलाई पुर्जी काटेर आवश्यक कारबाही गर्ने गरेको भनेर उनलाई बुझाए ।

सिटौलाले कार्यक्रमको प्रस्तुति र सवालजवाफमा आफ्नो गल्ती स्वीकार गरेकी छन् । कार्यक्रमबाट अरु व्यक्तिहरुलाई क्षति पुगेको कान्तिपुर टोलीका सबैले महसुस गरेका थिए । उनीहरुले काउन्सिलको नीति-निर्देशनहरु यसअघि पनि पालना गरेको र अब पनि पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिटौलासँगको छलफल सकिएपश्चात बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले इट्स माइ शोका केही अंशहरु तत्काल हटाउनुपर्ने निष्कर्ष निकालेको छ । यसबमोजिम नायिका स्वस्तिमा खड्काले बोलेको ‘खानासँगै सेक्स गर्न मन पर्छ’ भन्ने संवाद, जवाफ दिन नसके लुगा फुकाल्नुपर्ने शर्तसहितका प्रश्नोत्तर र अन्य कलाकारहरुको व्यक्तिगत जीवनमा असर पार्ने संवादहरु यथासक्य चाँडो हटाएर त्यसको जानकारी गराउन टेलिभिजनलाई लिखित निर्देशन दिएको छ ।

कान्तिपुर टेलिभिजनको इट्स माइ शोको गत असार ८ गते प्रशारित एपिसोडलाई लिएर तीव्र विवाद उब्जेको थियो । यसमा काउन्सिलले पहलकदमी लिएर कान्तिपुरलाई २४ घन्टे पुर्जी थमायो । कान्तिपुरले यसको जवाफ दिए पनि त्यसमा सन्तुष्ट हुन नसकेर काउन्सिलले छलफलका लागि बोलाएको हो । नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनविरुद्ध काउन्सिलमा उजुरी पनि दिएकी छन् ।


प्रतिक्रिया

One thought on “प्रेस काउन्सिलमा दलबलसहित पुगिन् ओसिन सिटौला, के दिइन् बयान ?

  1. sorry its parts of game vanni pugxa त्यो भन्दा आरु कै न भने हुन्छ ।रजत पथ काका पनी आउनु पर्ने कट्घेरा मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *