चितवन सुन पसल लुटपाट प्रकरण: सञ्चालक नै मुख्य योजनाकार, बीमा रकम हत्याउने दाउ – Nepal Press

चितवन सुन पसल लुटपाट प्रकरण: सञ्चालक नै मुख्य योजनाकार, बीमा रकम हत्याउने दाउ

चितवन । जिल्लाको कालिका नगरपालिका- ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको घटना सार्वजनिक भयो । चाँदी ३३ तोला र सुन १ किलो ७०० ग्राम लुटेर लगेको प्रहरीमा सञ्चालक विनोद विश्वकर्माले रिपोर्ट गरे ।

अझ लुटिएको भनिएको ४४ तोला प्रहरीले नै भेटेर त्यही सञ्चालक विश्वकर्मालाई बुझायो । तर, प्रहरी चितवनमा यति ठूलो लुटपाटका घटना हुनुको पछाडिको सुरक्षाको प्रश्न आउनसक्ने कुराले सचेत बन्यो । खोलेसिमल बजार सुरक्षाको दृष्टिकोणले प्रहरीले असुरक्षित क्षेत्रमा राखेको स्थान पनि होइन ।

अझ हरेक महिनाको १ गते सबै पसल बन्द हुने दिन सुनचाँदी पसल दुई जनाले लुटेर २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदीका गहना लगिएको भनिएको थियो ।

सुनचाँदी पसल सामान्यतया ६ बजेसम्म बन्द भइसक्छ । तर, राति ८ बजेर २० मिनेटमा दुई जना नचिनेका व्यक्तिले मोटरसाइकलमा आइ धारिलो हतियार देखाइ सुनचाँदी लुटेका थिए ।

चितवन प्रहरीलाई सुरुदेखि नै शंकित बनायो । त्यसपछि प्रहरीको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्युरोबाट सहयोग माग्यो । त्यसपछि ठूलो परिणाममा सुन र चाँदी चोरी भएको भनिएको घटनाको सूक्ष्म अनुसन्धान थालियो ।

घटनाको प्रकृति हेर्दा प्रहरीको अनुसन्धान सञ्चालकमाथि शंका गर्नुपर्ने ठाउँमा पुगेपछि अनुसन्धान टोलीले धनानन्द नाम दिएर सूक्ष्म अनुसन्धान थालेको थियो । अन्ततः प्रहरीको अनुसन्धान टोलीले घटनाको १८औं दिनमा घटनाको गहिराइमा पुगेर पत्ता लगायो, सुन पसल लुटपाट सञ्चालक स्वयंको योजनामा घटाइएको थियो ।

प्रहरीले मंगलबारसम्म उक्त लुटपाट भएको घटनाको अनुसन्धान गरेर पाँच जनालाई घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरी विनोद सुनचाँदी पसल सञ्चालक विनोद सुनारसहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार विनोद सुनचाँदी पसलले सिद्धार्थ बीमामा दुई करोड २० लाख रुपैयाँको बीमा गरेको छ । आर्थिक व्यवहार केही बिग्रिएको अवस्थामा विनोद आफैंले सुनचाँदी पसल डकैती गराएर बीमाबाट रकम असुल गर्ने योजना बनाए ।

प्रहरीको अनुसन्धान विवरणअनुसार सुनारले पूर्णबहादुर विश्वकर्मालाई ५० हजार रुपैयाँ रकम दिएर लुटपाट गर्न सम्झौता गरे । उनकै योजनाअनुसार असार १ गते राति विश्वकर्मा र पवनकुमार पासवान मोटरसाइकलमा आए । तर, त्यस दिन विनोद भने पसलमा बसेनन् ।
उनीहरुलाई लुटपाटमा पसलका म्यानेजर विजय विश्वकर्माले सहयोग गरे । चोरी गरेका गहनाहरु पनि पवन र पूर्णबहादुरले लगेर कालिका नगरपालिका- ६ घर भएकी अञ्जना पुडासैनी केसीलाई राख्न दिए ।

प्रहरीले अनुसन्धान थालेपछि लुटपाट भएको भनिएको दुई दिनपछि अञ्जनाको घरमा गइ विनोद आफैंले गहना लिएर आएको पत्ता लगायो ।

प्रहरीले लुटेको भनिएको सुनचाँदी पनि विनोदको सुन पसलबाट आज मंगलबार नै बरामद गरेको छ । विनोद कालिका नगरपालिका- ६ खोलेसिमलकै बासिन्दा हुन् । उनलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको थियो । विजय विश्वकर्मालाई चोरी गर्न सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

२५ वर्षका विनोदको घर कालिका नगरपालिका- ७ मा पर्छ भने चोरीमा संलग्न ५० वर्षका पूर्णबहादुर विश्वकर्मा तनहुँको म्याग्दी गाउँपालिका– ७ का हुन् । त्यसैगरी चोरी गर्न आउने १८ वर्षका पवनकुमार पासवान बाराको बरागढी नगरपालिका- ४ का हुन् । पूर्णबहादुर र पवनकुमारलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।

कालिका- ६ कै अञ्जना पुडासैनी केसी ४२ वर्षकी हुन् उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई लुटपाट तथा चोरी अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । चितवनकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिमालका अनुसार उनीहरुविरुद्ध आजै जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *