साना तथा मझौला उद्योग संमृद्धिका आधार हुन् : प्रदेश प्रमुख मियाँ – Nepal Press

साना तथा मझौला उद्योग संमृद्धिका आधार हुन् : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले साना तथा मझौला उद्योगबाटै ग्रामीण स्तरमा संमृद्धि हासिल गर्न सकिने बताएका छन् ।

२० पहिले कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बगौचुलामा खोलिएको अचार उद्योगको निरीक्षण गर्दै उनले ग्रामीण क्षेत्रमा खोलिएका यस्ता उद्योगहरूका समस्या समाधान गर्न आवश्यक रहेको बताएका थिए ।

घरेलु तथा साना उद्योगीहरूबारे चासो राख्दै उनले हरिशंकर योगीले सञ्चालन गरिरहेको उद्योगको निरीक्षण गरेका हुन् । त्यस क्रममा उनले साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ध्यान दिए संवृद्धिको ठूलो आधार बन्ने बताए ।

चुरे क्षेत्रमा फल्ने सिजन अनुसारको अचार बनाउने, अर्ग्यानिक पहाडी उत्पादनहरू प्रशोधन गरेर उनी खाडी मूलक जाने युवाहरूभन्दा बढी आम्दानी गरिरहेका छन् । योगीको उद्योगमा सिजन अनुसार लसुनको अचार, आँपको अचार, अमिलो र खुर्सानीको अचार, सिस्नुको पाउडर, तेजपत्ता, कागतीको रस लगायतका थुप्रै अर्ग्यानिक उत्पादनहरू पाइन्छन् ।

अचार उद्योगको निरीक्षण गर्दै प्रदेश प्रमुखले यस्ता उद्योगबाट रोजगारी सृजना गर्न सकिने बताए । प्रदेश प्रमुखलाई उद्योग देखाउँदै योगीले खपत गर्दै नसक्ने गरी माग आइरहेको बताएका थिए । उद्योग विस्तार गर्ने योजना रहेको समेत सुनाउँदै सरकारले वास्तविक उद्योगीहरूलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

प्रदेश प्रमुख सुदूरपश्चिम प्रदेशका विभिन्न तीन जिल्लाको भ्रमणमा निस्किएका छन् । उनले ती जिल्लामा स्थानीयसँग भेट्दै जिल्लाको अवस्था, आर्थिक सम्भावनाको पाटो र विकास निर्माणका विषयमा पनि छलफल गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर