भारतमा धार्मिक सभामा भागदौड हुँदा मर्नेकाे संख्या ११६ पुग्याे – Nepal Press

भारतमा धार्मिक सभामा भागदौड हुँदा मर्नेकाे संख्या ११६ पुग्याे

काठमाडौं । उत्तरी भारतमा मंगलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिँदा कम्तीमा ११६ जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

एक लोकप्रिय प्रचारकको प्रवचनका लािग हाथरस सहर नजिकै ठूलोीिभड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।

“हामीले अहिलेसम्म ११६ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ”, उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वीले भने, “उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो र त्यसपछि दुःखद घटना भयो ।”

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो ।

आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए । त्यहाँ मृतकहरूलाई राखिएको थियो । उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए ।

“जब प्रवचन सकियो, सबै मानिस बाहिर भाग्न थाले”, शकुन्तला मात्र नाम बताउने एक महिलाले प्रेस ट्रस्ट अफ इन्डियालाई भनिन्, “मानिसहरू सडक किनारको नालीमा खसे, उनीहरू एकमाथि अर्को खस्न थाले र कुल्चिएर मृत्यु भयो ।”

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरे ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त गरिन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका आफन्तजनप्रति ‘समवेदना’ व्यक्त गर्नुभएको उनको कार्यालयले बताएको छ ।

“मुख्यमन्त्री आदित्यनाथले जिल्ला प्रशासनका अधिकारीहरूलाई घाइतेहरूलाई तुरुन्त अस्पताल लैजान र घटनास्थलमा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिनुभयो”, कार्यालयले भनेको छ । उनले घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिनुभएको छ ।

भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ ।

सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो ।

विस्फोटबाट कङ्क्रिटका भवनहरू भत्केका थिए र हजारौँ मानिस एकत्रित भएका केरल राज्यको एउटा हिन्दू मन्दिर परिसरमा आगो लागेको थियो ।

सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो ।

सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर