दुवै हातखुट्टा नचल्ने विलक्षण प्रतिभाका ऋषिराम – Nepal Press

दुवै हातखुट्टा नचल्ने विलक्षण प्रतिभाका ऋषिराम

खुट्टाका औंलाले लेखेर एईईमा ३.३७ जीपीए, आईटी पढ्ने चाहनामा आर्थिक संकट

रुपन्देही ।दुवै हात र खुट्टाहरु नचल्ने गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ४ का ऋषिराम कँडेलले खुट्टाका दुई औंलाले लेखेर एसईई परीक्षाको नतिजामा ३ दशमलब ३७ जीपीए प्राप्त गरेपछि अहिले सबैतिर प्रशंसा पाइरहेका छन् ।

अहिले उनलाई अध्ययन गरेको विद्यालय, गाउँपालिकालगायतका विभिन्न सामाजिक संघसंस्था तथा व्यक्तिहरुले सम्मान गरिरहेका छन् । शारीरिक रुपमा क वर्गको अपाङ्ग रहेका उनी प्रविधिमा भने पोख्त रहेका छन् ।

दाइने खुट्टाका दुई औंला मात्र रहेका कँडेलले राम्रो गितार बजाउँछन् र गीत पनि गाउँछन् भने ल्यापटप, मोबाइल सबै चलाउँछन् । उनको जोशिलो स्वरले उत्साहित बनाउँछ सबैलाई ।

शिक्षकहरुका अनुसार सानै कक्षादेखि विद्यालयमा प्रथम हुँदै आएका ऋषिरामको संघर्ष हेर्ने र सुन्ने जोकोहीलाई आश्चर्य बनाउँछ । उनमा विलक्षण प्रतिभा छ तर हातखुट्टा केही नचलेपछि आफ्ना काम केही गर्न सक्दैनन्, आफै खानसमेत सक्दैनन् तर तेजिलो दिमागले सबैको ध्यान तानिरहेको छ । विद्यालयमा पनि सधै बाबाले बोकेर लगेर राखिदिनुपर्छ ।

परीक्षामा पनि बाबाले नै बोकेर लगेर कक्षाकोठामा राखिदिने गर्दथे । घरमा ह्वीलचियर त छ तर त्यसमा पनि उनी आफै बस्न सक्दैनन् र कसैले राखिदिए पनि हातखुट्टा नचलेपछि हिंडाउन सक्दैनन् ।

अहिलेसम्म बुवाले बोकेरै विद्यालय लैजाने र ल्याउने गरेर १० कक्षासम्म अध्ययन पूरा गरेका उनलाई खाना खुवाउने, दिसापिसाब गराउने, हिँडाउने सबै बुवाआमाले नै गर्नुपर्दछ । गुल्मीको गाउँमा रहेका ४७ वर्षीय लक्ष्मण कंडेल र ४४ वर्षीय शान्ता कँडेलमा एक मात्रै छोरा हुन् ऋषिराम ।

एसईई पास गरेपछि ऋषिरामले आधुनिक प्रविधिबारे अध्ययन गर्न चाहेपनि गाउँमा त्यो संभव छैन । लक्ष्मण गाउँका मेहनती र नमुना किसान हुन् । गाउँमा कृषि पेशा गरेरै उनले घरको सबै जिम्मेवारी चलाउनुपरेको छ । यस्तो अवस्थामा घर बाहिर छोरालाई पठाएर पढाउनसक्ने अवस्थामा छैनन् कँडेल परिवार ।

‘पहिलो त म किसान परेँ, हामीसँग लगानी गर्ने रकम छैन, दोस्रो कसैले छोरालाई पढाइदिन्छु भनेपनि उसलाई एक्लै पठाउनसक्ने अवस्था भएन, हामी दुई जना नै जानुपर्ने हुन्छ, त्यसको लागि छोरालाई पढाउने र आफूहरु दुवैलाई पनि सानोसानो कामको व्यवस्थापन गरिदिने कोही भए छोराको रहर पुर्‍याउन सकिने थियो’ लक्ष्मणले भने । लक्ष्मण र शान्ता दुवै एसएलसी पास छन् ।

ऋषिरामका हात–खुट्टा कमजोर भएपनि बौद्धिक क्षमता सबलांगको भन्दा उत्कृष्ट क्षमता देखाएर सबैलाई आश्चर्यमा पारेका छन् । दाहिने खुट्टाको दुई औँलाबाहेक अरू नचल्ने १९ वर्षीय ऋषिराम जन्मजात अपांगता हुन् । त्यही दुई औँलाले दिएको परीक्षाको नतिजामा उनले ल्याएको यो प्रतिशतलाई अहिले उच्च प्रशंसा गरिरहेका छन् । उनलाई हिँडडुल गर्न सबै सहारा चाहिन्छ ।

खुट्टाका दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् । कक्षा चारसम्म घरनजिकैको शारदा माविमा पढेका उनले त्यसपछि श्रृंगा जनता माविमा पढ्दै आएका थिए । अरूको सहाराविना केही गर्न नसके पनि घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति नगरेको उनी बताउँछन् । ‘मलाई हातखुट्टाको समस्या हो, दिमागमा केही समस्या छैन, आइटी पढ्ने रहर छ, वित्रान पढ्ने रहर छ’ उनले भनेका छन् ।

बुबा लक्ष्मण कँडेलले ऋषिरामलाई मोटरसाइकलमा राखेर बिहान ठीक १० बजे स्कुल पुर्‍याउने र साँझ लिन जाने गर्दथे । अब पनि छोराले पढ्न चाहेको विषय र वातावरण बनाउन तयार रहेको तर घर छाडेर बाहिर जाने विषयमा आर्थिक समस्या रहेको उनको भनाइ छ  ।

‘आईटीमा रुचि छ, गाउँमा त्यो विषय पढाउन संभव छैन, साइन्स नै लिएर पढ्ने चाहना बाबुको भएकाले विद्यालय कहाँ भन्ने यकिन गरिएको छैन’ उनले भने । स्थानीय श्रृंगा जनता माविमा अध्ययनरत उनले रुरु क्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

उनको घर नजिकै जनबोध मावि छ । उनले सोही विद्यालयबाट एसइई दिएका थिए । जनबोध माविमा पढ्न पाए घरबाटै बुबालाई आउजाउ गराउन सजिलो हुने उनको भनाइ छ । तत्काल आईटी पढ्न नपाए कक्षा ११ मा साइन्स पढ्ने इच्छा रहेको उनको भनाइ छ ।

‘कक्षा ११ र १२ साइन्स पढ्ने योजना बनाएको छु , नतिजा अपेक्षाअनुसारकै आएकाले खुसी बनाएको छ, सकेसम्म आफ्नो व्यवस्थापनको हिसाबले गाउँकै नजिकको कलेजमा पढ्ने सोच बनाएको छु, सबैको मायाले थप ऊर्जा मिलेको छ’ कंडेलले भनेका छन् । उनले अनुत्तीर्ण साथीहरूलाई निराश नहुन आग्रह गरे । हार स्वाभाविक भएकाले हार खान नहुने उनको तर्क छ ।

‘आफूभित्रको आत्मबल नै सबैभन्दा ठूलो कुरा हो । मैले शारीरिक अप्ठ्यारोमा पनि जीवनदेखि कहिल्यै हार खाएको छैन,‘लडे पनि आफूलाई चिनेर विश्वासका साथ उठ्न सक्नुपर्छ ।’

ऋषिराम जन्मजात नै अपाङ्ग हुन् । सानो उमेरमा उनको उपचारका लागि देशका विभिन्न ठाउँमा लगेर प्रयास गरेपनि संभव नभएको बुवा लक्ष्मणको भनाई छ । ‘५ वर्ष बनेपामा राखेर उपचार गराएको हुँ, पहिले त खुट्टाका यी औंला नि चल्ने थिएनन्, पहिलो बच्चा नै यिनै हुन्,अरु छैनन्, हामीलाई कुनै पछुतो छैन, छोराको चाहना पूरा गर्नपाए हुनेथियो’ उनले सुनाए ।

छत्रकोट गाउँपालिका वडा नं ४ का वडाध्यक्ष गुणाखर ज्ञवालीले ऋषिराम बाबुको विलक्षण प्रतिभालाई बुवाआमाले चिन्न सकेका कारण उनले सफलता पाएको विश्लेषण गर्छन् ।

‘बाबुको साहसलाई सम्मान गर्नैपर्छ तर बुवाआमाको मेहनत कम छैन, गाउँका मेहनति र नमुना किसान कर्मबाट समय मिलाएर बाबुको सबै स्याहार गरेका छन्, उनी पनि सानैदेखि प्रथम हुँदै गए, अब पनि राम्रो हुनेछ’ ज्ञवालीले भने । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले ऋषिरामलाई स्थानीय कलेजमा पढ्ने सबै खर्च पालिकाले व्यवस्था गर्ने वचन दिइसकेको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *