पर्यटन प्रवर्द्धनका लागि बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मन्थली नगरपालिका – Nepal Press

पर्यटन प्रवर्द्धनका लागि बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मन्थली नगरपालिका

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले समग्र नगर भित्रका सम्भावित गन्तव्यहरूलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ ।

क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ ।

असार २० गते पर्यटन बोर्डमा हुने कार्यक्रममा केन्द्र सरकार, प्रदेश सरकारसहित निजी क्षेत्रका व्यवसायी र सरोकारवाल समेतको उपस्थितिमा समग्र नगरको पर्यटन प्रवर्द्धनबारे छलफल हुने र उक्त छलफलका आधारमा समग्र नगरको पर्यटन गुरुयोजना बनाउने गरी नगरपालिका अघि बढ्ने नगरप्रमुख लब श्रेष्ठले जानकारी दिएका छन् ।

अहिले मन्थली नगरपालिकाको केन्द्रमै पर्ने मन्थली विमानस्थलबाट पर्यटकीय सिजनमा सगरमाथा क्षेत्रको हवाइ उडान हुँदै आएको छ ।

सिजनमा दैनिक दर्जनौँ उडानमार्फत ठूलो संख्यामा पर्यटकहरू मन्थली विमानस्थल हुँदै लुक्ला पुग्दै आएका छन् । तर, मन्थलीमा स्तरीय होटल तथा अन्य पूर्वाधारको अभाव देखाउँदै कम्पनीहरूले पर्यटकलाई मन्थलीमा रोक्ने गरेका छैनन् ।

यसै क्रममा मन्थलीमा के कस्ता सुविधाहरू थप गर्दा पर्यटकहरूलाई मन्थली र आसपासका क्षेत्रमा केही समय राख्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरू समेतको सहभागितामा बृहत् छलफल आयोजना गर्न लागेको हो ।

‘मन्थली विमानस्थल अहिले पर्यटकीय सिजनमा निकै व्यस्त हुन्छ, दैनिक सयौँ पर्यटकहरू मन्थलीबाट लुक्ला र लुक्लाबाट मन्थली ओहोरदोहोर गरिरहनु हुन्छ, तर, ती पर्यटकहरू मन्थलीमा घुम्ने र बस्ने क्रम शून्य बराबर छ’, मेयर श्रेष्ठले भने, ‘यस विषयमा हामीले पर्यटन व्यवसायीहरू, उद्योग वाणिज्य संघका साथीहरूसँग छलफल पनि ग¥यौँ । यसबाट हामीले तीनै तहका सरकार, निजी क्षेत्र र सरोकारवाला सहितको एउटा बृहत् कार्यक्रम गर्ने निष्कर्ष निकाल्यौँ । जसबाट हाल भइरहेको उडानबाट मन्थलीले कसरी लाभ लिनेछ भन्ने निष्कर्ष त आउने नै छ, साथै हामीले अब अन्य आन्तरिक र बाह्य पर्यटक लक्षित के कस्ता काम गर्नुपर्छ भन्ने सुझाव पनि प्राप्त हुने हामीले विश्वास लिएका छौँ ।’

नगरपालिकाले पर्यटन सम्बद्ध सबै निकाय र सरोकारवालालाई एकै ठाउँमा राखेर आयोजना गर्न लागेको यो नै पहिलो कार्यक्रम भएको उनको भनाइ छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बागमती प्रदेशको पर्यटन मन्त्रालय, बागमती प्रदेशसभाको उद्योग तथा पर्यटन समिति, नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, पर्यटन बोर्डसहित निजी क्षेत्रका पर्यटन सम्बद्ध सङ्गठनहरूको समेत सहभागिता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर