छुरा प्रहारबाट घाइते युवा संघका नेताको मृत्यु, कारबाही गर्न माग – Nepal Press

छुरा प्रहारबाट घाइते युवा संघका नेताको मृत्यु, कारबाही गर्न माग

रुपन्देही । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल-७, निवासी ३६ वर्षीय युवा रवि थापाको चक्कु प्रहारबाट निधन भएको छ ।

छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं.७ निवासी राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्व सदस्य रवि थापा मगरको जेठ २ गते बुधवार साँझ बुटवलकै कालिकानगरमा रहेको एक रेस्टुरेन्टमा कार्यरत रहेको अवस्थामा उनीमाथि छुरा प्रहार भएको र घाइते भई उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।

एउटा जुझारु र ऊर्जाशील युवाको अल्पायुमा भएको निधनले अत्यन्तै पीडाबोध गराएको र घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको युवासंघका जिल्ला अध्यक्ष बस्नेतले बताए ।

गत जेठ २ गते भएको घटनामा संलग्न व्यक्तिको हालसम्म पनि खोजी कार्य नहुनु अत्यन्तै दुःखद विषय रहेको बताउँदै उनले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवासंघको गुनासो छ ।

प्रहरी अनुसन्धानप्रति पनि प्रश्न चिन्ह खडा हुने गरी गतिविधि भएकाले संगठनले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतको भनाइ छ ।

‘अनुसन्धानमार्फत अपराधीहरूलाई सजाय दिने काममा ढिलासुस्ती र लापरबाही भएको खण्डमा संगठनले कडा कदम चाल्ने विषयसमेत जानकारी गराइएको छ’ प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारबाही गर्न युवासंघ रुपन्देहीले माग गरेको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर