निर्देशन पर्खिँदै एमालेका मन्त्री, नैतिकता देखाउँदै पदम गिरीले रोके जिल्ला न्यायाधीश नियुक्ति – Nepal Press

निर्देशन पर्खिँदै एमालेका मन्त्री, नैतिकता देखाउँदै पदम गिरीले रोके जिल्ला न्यायाधीश नियुक्ति

काठमाडौं । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पार्टी नेतृत्वको निर्देशन पर्खेर बसेका छन् ।

आजै साँझसम्म राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिने अनौपचारिक खबर भए पनि पार्टीबाट थप निर्देशन नआएकाले तदर्थ अवस्थामा काम गरिएको मन्त्रीहरूले बताएका छन् ।

सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन् । आफूहरू अहिले अलमलको अवस्थामा रहेको र दूरगामी प्रभाव पार्ने निर्णय नगरी सामान्य काम मात्र गरिएको उनीहरूको भनाइ छ ।

कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएसँगै मंगलवार बसेको न्यायपरिषद बैठकमा कानुन मन्त्री पदम गिरीले अहिले नयाँ समीकरणको अवस्था आएकाले आफूले कुनै पनि बेला राजीनामा गर्नुपर्ने भन्दै ३५ न्यायाधीश नियुक्ति नगरौँ भनेका थिए ।

मन्त्री गिरीले नैतिकरुपमा राम्रो नहुने भनेपछि लोकसेवा आयोगले सिफारिस गरेका ८ जना जिल्ला न्यायाधीशको मात्र नियुक्ति गरी बाँकीको निर्णय नभएको बताइएको छ । जबकि न्यायपरिषदका अन्य सदस्यले सबै न्यायाधीश नियुक्ति गर्ने भनेका थिए । गिरीले लोकसेवाको परीक्षामा फेल भएकाहरूलाई जिल्ला न्यायाधीश नियुक्ति गर्न नहुने अडान लिँदै आएका थिए ।

मन्त्रीहरूले पार्टीको निर्देशन कुरेर बसेको कृषि मन्त्री ज्वाला कुमारी साहले बताइन् । अब नयाँ सरकार बन्ने निश्चित भइसकेकाले मन्त्रिपरिषदबाट र अन्य मन्त्रालयबाट पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय र नियुक्तिहरू गर्न नहुने उनीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर