वामदेवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं (भिडिओ) – Nepal Press

वामदेवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन् । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए ।

उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताए । उनले व्यक्ति नभइ पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने बताए ।

उनले खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधिसभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको एकै दिन निर्वाचन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो । अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ । त्यसैगरी सधैँ अल्पमतको अवस्थामा सबै राजनीतिक पार्टीहरुलाई पुर्याउने अल्पमतिय वर्तमान निर्वाचन प्रणाली परित्याग गरेर व्यक्ति होइन, पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरौँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले नेपालका सबै कृषियोग्य भूमिलाई राष्ट्रियकरण गर्नुपर्ने पनि दोहोर्याए । उनले सरकारले भुमीपतिहरुलाई चलन चल्तीको मूल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए । यसो गरेमा नेपालको समृद्धि शुरु हुने उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य गौतमले गणतन्त्रमा पनि बजेटको ढाँचा परिवर्तन नभएको भन्दै बजेटप्रति आफ्नो भन्नु केही नरहेको बताए । जति विनम्र भएर अनुरोध गरेपनि अथवा जति विद्वता पस्किएपनि बजेटमा केही थपथाप नहुने भन्दै आफ्नो आलोचनात्मक समर्थन रहेको बताए ।


प्रतिक्रिया

One thought on “वामदेवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं (भिडिओ)

  1. राष्ट्रपति संरक्षक चाहिन्छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर