रास्वपा बैठक १० घण्टादेखि जारी, महामन्त्रीप्रति असन्तुष्टिको भारी – Nepal Press

रास्वपा बैठक १० घण्टादेखि जारी, महामन्त्रीप्रति असन्तुष्टिको भारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बिहानदेखि अनवरत चलिरहेको छ । महामन्त्री डा. मुकुल ढकालले पेश गरेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा केन्द्रीय सदस्यहरुले महामन्त्रीको समग्र कार्यसम्पादनकै समीक्षा गरिरहेका छन् ।

महामन्त्री डा. ढकालले आजको बैठक लाइभ गर्न माग गरेका थिए । उनको मागलाई सुरुमै सभापति रवि लामिछानेले बैठकमा राखे । तर, केन्द्रीय सदस्यहरुले त्यसलाई समर्थन गरेनन् । त्यसपछि ढकाल मुखमा टेप लगाएर बैठकमा बसिरहेका छन् । अहिलेसम्म उनले केही पनि बोलेका छैनन् ।

महामन्त्री ढकाल टेप लगाएर बसेपछि केही केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका थिए । हाेहल्ला भएपछि सभापति लामिछानेले १५ मिनेटका लागि बैठक स्थगित गरे । त्यसपछि फेरि सभापतिले महामन्त्रीका गतिविधिलाई पार्टी अनुशासनकाे विषय बनाउने र अनुशासन आयाेगले हेर्ने बताएपछि बैठक सुचारु भएकाे थियाे ।

महामन्त्रीले नबोल्ने बताएपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले डेढ घण्टा लगाएर समीक्षा प्रतिवेदन वाचन गरेका थिए । त्यसपछि खाना खान बैठक स्थगित गरियो । खाना खाएपश्चात प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।

तर, केन्द्रीय सदस्यहरुले प्रतिवेदनमा भन्दा बढी महामन्त्रीको समग्र कार्यसम्पादन र कार्यशैलीलाई लिएर टिप्पणी गरिरहेको स्रोतले बताएको छ । केही केन्द्रीय सदस्यले महामन्त्रीमाथि पार्टीको विधि र अनुशासन विपरीत गएर काम गरेकोमा कारबाहीको माग समेत राखेको स्रोतको भनाइ छ ।

महामन्त्रीले आफ्नो प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि नै मिडियाबाजी गरेको भन्दै केन्द्रीय सदस्यहरु रुष्ट देखिएका छन् । अहिलेसम्म कसैले पनि खुलेर महामन्त्रीको बचाउ नगरेको पनि स्रोतले दाबी गर्यो । केहीले अलि सन्तुलितरुपमा बोलेका छन् भने केहीले महामन्त्रीको तीव्र आलोचना गरेका छन् ।

दुई वर्षदेखि महामन्त्रीले गरेका काम कारबाहीहरुबारे थुप्रै केन्द्रीय सदस्यहरुले गुनासो पोखेका छन् । ‘उहाँप्रति तलदेखि माथिसम्म असन्तुष्टिहरु थिए, तर सभापतिले निरन्तर संरक्षण गर्दै आउनुभएकाले कसैले पनि मुख खोल्ने हिम्मत गरेका थिएनन् । अहिले उहाँ सभापतिविरुद्ध नै उत्रिन थाल्नुभएपछि सबैको असन्तुष्टि विष्फोट भएको छ’, एक केन्द्रीय सदस्यले भने ।

महामन्त्रीमाथि कारबाही गर्नुपर्ने मत बलियो देखिए पनि आजको बैठकले यस विषयमा निर्णय लिने स्रोतले बतायो ।

‘कारबाहीको पनि एउटा विधि र प्रक्रिया छ, त्यसलाई मिचेर निर्णय हुँदैन’, स्रोतले भन्यो । ढकाललाई महामन्त्रीबाट हटाएर अरु कसैलाई बनाउन लागिएको भन्ने समाचार झूटो भएको पनि स्रोतको भनाइ छ ।

 


प्रतिक्रिया

One thought on “रास्वपा बैठक १० घण्टादेखि जारी, महामन्त्रीप्रति असन्तुष्टिको भारी

  1. नाटककार ढकाललाई कडा कारवाही गर । अराजक दलाल हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर