‘हाइपेक’ प्रविधिबारे सर्जनहरुलाई तालिम दिँदै भक्तपुर क्यान्सर अस्पताल – Nepal Press

‘हाइपेक’ प्रविधिबारे सर्जनहरुलाई तालिम दिँदै भक्तपुर क्यान्सर अस्पताल

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचार गर्न नेपालमै पहिलो पटक प्रयोगमा आएको नयाँ प्रविधि ‘हाइपेक’ बारे सर्जनहरुलाई तालिम दिने भएको छ । क्यान्सर उपचार गरिरहेका काठमाडौं उपत्यकाका अस्पतालका करिब ३० जना सर्जनलाई उक्त तालिम दिन लागिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए ।

उनका अनुसार हाइपेक भनेका पेटको अपरेसन गरिरहेकै बेलामा किमोथेरापीसमेत दिन मिल्ने प्रविधि हो । अरु क्यान्सर उपचारमा अप्रेसन र किमोथेरापी एकै पटक हुँदैन ।

हाइपेक प्रविधिपेटभित्रको क्यान्सर जस्तैः ठूलो आन्द्रा, सानो आन्द्रा, डिम्बासय, एपेन्डिक्सलगायतको क्यान्सर उपचारमा मा सबैभन्दा पहिला आँखाले देखिने जति सबै रोग निकालिन्छ । त्यसरी अपरेसन गरेकै बेलामा अपरेसन कोठाभित्रै किमोथेरापी दिने प्रविधि नै हाइपेक हो ।

यो प्रविधिबाट आधादेखि एक घण्टासम्म रोगको प्रकृति हेरेर अपरेसन गर्दागर्दै किमोथेरापी दिइने क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजी विभागका चिकित्सक डा. उत्सवमान श्रेष्ठले जानकारी दिए ।

पेटभित्र क्यान्सर फैलिएका बिरामीको लागि हाइपेक प्रविधि बढी उपयोगी रहेको उनको भनाइ छ ।

‘यो प्रविधिबाट उपचार गर्दा क्यान्सर पूर्ण रूपमा निर्मूल हुन्छ । अपरेसन सकिनुअघि नै किमोथेरापी दिन सकिन्छ’, विभागका अर्का चिकित्सक दीप लामिछानेले भने, ‘यो प्रविधि आउनुअघि अपरेसनपछि मात्रै किमोथेरापी दिइन्थ्यो । यो प्रविधि आएपछि अप्रेसन र किमोथेरापी सँगसँगै हुने भयो । जसले बिरामी दोहोराइतेहेराइ अस्पताल आइरहन पर्दैन ।’

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालिसेका अनुसार यो प्रविधिको उपचार हाल भक्तपुर क्यान्सर अस्पतालमा मात्रै उपलब्ध छ । त्यस्तै नेपालकै लागि यो प्रविधि नयाँ भएकाले अस्पतालले यही शुक्रबार यसबारे क्यान्सर उपचारमा संलग्न चिकित्सकसँगै नयाँ रेजिडेन्ट चिकित्सकलाई तालिम दिन लागिएको उनले स्पष्ट पारे ।

‘यो प्रविधिको प्रयोगबारे नेपालमा सिक्ने सुविधा छैन । त्यसैले उपचार पद्धतिमा कुनै नयाँ प्रविधि आयो भने त्यससम्बन्धी ज्ञान र अनुभव अस्पताल तथा चिकित्सकहरुबीच आदानप्रदान गरिनुपर्छ’, डा. चालिसेले भने, ‘हामीले त्यही गर्न लागेका हौं । यस कार्यमा हामीले सर्जन सोसाइटी नेपालसँग सहकार्य गरेका छौं ।’

सर्जन सोसाइटी नेपालका अध्यक्ष डा. रोमियो कन्साकारले तालिममा भक्तपुर क्यान्सर अस्पतालसँगै वीर, त्रिवि शिक्षण, केएमसी, किस्ट, मध्यपुर र धुलिखेल अस्पतालका सर्जनहरुको सहभागिता रहने जानकारी दिए ।

उनले हाइपेक प्रविधिसँगै स्तन, पेट, टाउको तथा घाँटीलगायतको सर्जरी र त्यसका उपलब्धिबारे कार्यशाला हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर