रास्वपा सहमहामन्त्री आचार्य भन्छन्- प्रतिवेदनमा के छ भन्ने गौण हो, महामन्त्रीले विधि मिच्नुभयो – Nepal Press

रास्वपा सहमहामन्त्री आचार्य भन्छन्- प्रतिवेदनमा के छ भन्ने गौण हो, महामन्त्रीले विधि मिच्नुभयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई यतिबेला महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन ‘घाँडो’ भएको छ । पार्टीले निर्णय गरेर समिक्षा यात्रामा पठाए पनि उनले निराशाजनक निष्कर्ष निकाल्दै प्रतिवेदन दिएपछि यसलाई स्वीकार्न रास्वपालाई सकस परेको हो ।

महामन्त्रीको प्रतिवेदनमाथि आज दिनभरि रास्वपा केन्द्रीय समिति बैठकमा छलफल भयो । छलफलमा बोल्ने केन्द्रीय सदस्यहरुले प्रतिवेदनको अन्तरवस्तु मात्र नभएर महामन्त्रीको समग्र कार्यशैली र कार्यसम्पादनप्रति आलोचना गरेका छन् । केहीले महामन्त्रीमाथि कारबाहीको माग समेत राखेका छन् ।

रास्वपा सहमहामन्त्री विपिन आचार्य भने प्रतिवेदनभित्र के छ भन्नेभन्दा पनि विधिविपरीत यसलाई सार्वजनिक गरिएकोमा आलोचना भएको बताउँछन् । प्रतिवेदनमा भएका राम्रा र यथार्थपरक कुराहरुलाई पार्टीले सहजरुपमा स्वीकार्ने तर अतिरंञ्जित र दुराशयपूर्ण कुराहरु फिल्टर गर्नुपर्ने उनको भनाइ छ ।

सहमहामन्त्री आचार्यसँग गरिएको कुराकानीः

महामन्त्रीको समिक्षा प्रतिवेदनलाई रास्वपाले किन सहजरुपमा स्वीकार्न नसकेको हो ?

प्रतिवेदनमा के छ भन्ने एकदमै गौण हो अहिलेको लागि । महामन्त्री समिक्षा यात्रामा जानुअघि सचिवालय वैठकमा बस्दा स्पष्टरुपमा के भनिएको थियो भने उहाँले दिने प्रतिवेदन पहिले सचिवालयको बैठकमा छलफल गर्ने र त्यसमा आवश्यकता अनुसार पुनर्लेखन गर्ने ।

अनि, फाइनल डकुमेन्ट केन्द्रीय समितिमा लैजाने र त्यसमा छलफल गर्ने भन्ने विधि बनाएर पठाएको हो । तर उहाँले उताबाट आउनासाथ विधि मिचेर मिडियावाजी सुरु गर्नुभयो ।

पार्टीको एउटा आम सदस्य भए विधि बुझेन भन्न सकिन्थ्यो । तर एकजना ‘डिसिजन मेकर’ नै यसरी जानु त वाञ्छनीय भएन नि । उहाँको शैली र प्रस्तुतिले प्रतिवेदनभित्रका कुराहरु पनि ओझेलमा परे ।

शैलीले गर्दा अन्तरवस्तुहरु गौण हुन पुगे । आज डकुमेन्टमा के छ भन्दा पनि यो कसरी र कुन तरिकाले आयो भन्ने कुरामा केन्द्रीय सदस्यहरुले बढी असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

प्रतिवेदनमा लेखिएका कुराहरुलाई चाहिँ कसरी लिनुभएको छ ?

त्यो अब सेकेन्डरी कुरा भयो । त्यसमा त राम्रोसँग बहस गर्नै बाँकी छ ।

प्रतिवेदन बाहिर आउँदैमा आपत्तिको विषय किन भयो त ? आखिर जनताले थाहा पाउँदा के फरक पर्छ ?

हरेक पार्टी एउटा विधिमा चल्नुपर्छ । हामीले जनतासँग लुकाउने भनेकै छैनौं । सभापतिले नै प्रतिवेदन हुबहु पारित गर्ने भन्नुभएको हो । जनतालाई थाहा दिने कुरामा विमति भएन । हाम्रो चिन्ता चाहिँ के मात्रै हो भने विधि बनाउने ठाउँमा बस्नेले आफ्नो सहजताका लागि आफैंले बनाएको विधि मिच्न मिल्छ ?

रास्वपाको विधान पढ्नुभयो भने यति धेरै पावर महामन्त्रीलाई दिएको छ कि त्यो पावरमा बसेर सबै कुरा भएन भन्नु कतिको सही हो ? यदि पार्टी ठीक दिशामा छैन भने जिम्मेवारी कसको हो भन्ने महत्वपूर्ण कुरा हो ।

कुनै सदस्यले यस्तो भएन, त्यस्तो भएन भन्न पायो । तर मुख्य व्यक्तिले जिम्मेवारी लिनुपर्छ । कुनै बैंकको सीइओले बैंक डुब्न लाग्यो भनेर हल्ला पिटाउँदा त्यसको जिम्मेवारी आफूले लिनु पर्छ कि पर्दैन ?

पार्टीको अनुशासन आयोगले स्पष्टीकरण पनि सोधेको छ । के कारबाही गर्ने तयारी हो ?

अनुशासन त बकाइदा मिचिएको छ । श्रृंखलावद्धरुपमा मिचिएको छ । एउटा भाष्य मिडियामा गयो कि रास्वपा भनेकै रवि लामिछाने हो । हरेक डिसिजन रविले गर्छ । रविले नभनेसम्म पत्ता पनि हल्लिँदैन । तर, यथार्थ यस्तो होइन । अहिले सभापतिज्यूले महामन्त्रीलाई सबै स्वतन्त्रता दिनुभएको थियो ।

विधान बनाउनेदेखि यसलाई सुधार गर्नेसम्म सबैमा महामन्त्रीलाई खुला छोड्नुभएको हो । आरोप चाहीँ सबै कुरा रविले गरेको भनेर लाग्यो । मुकुलजीले आफूबाहेक अरु सबैजना दोषी भन्ने भाष्य बनाउनुभयो । त्यसैको रोष आज केन्द्रीय समितिको वैठकमा पोखिएको छ ।

भनेपछि प्रतिवेदन मात्र नभएर उहाँको समग्र कार्यसम्पादनमै असन्तुष्टि हो ?

पक्कै पनि । पानी पनि एउटा डिग्रीमा पुगेपछि उम्लिन्छ । उम्लिनुभन्दा अगाडि त्यसको प्रोसेस कसैलाई थाहा हुँदैन । अहिले पानी उम्लिने डिग्रीमा पुगेको मात्र हो ।

उहाँप्रति मुख्य असन्तुष्टिका विषयहरु के के छन् ?

रास्वपामा महामन्त्रीको भूमिका र जिम्मेवारी एकदमै ठूलो छ । व्यक्तिका रुपमा तपाईंले जे गर्न पनि पाउनुभयो । तर, तपाईं ठूलो पार्टीको महामन्त्री हुनुहुन्छ भने तपाईंसँग देशैभरिका नेता तथा कार्यकर्ताहरु जोडिएका हुन्छन् । सबैलाई समेटेर लैजाने दायित्व हुन्छ । क्रेडिट लिन त सबैलाई रमाइलो लाग्छ ।

तर असल नेता त्यो हो जसले राम्रो कामको जस अरुलाई दिने र अपजस आफुले लिन्छ । उहाँले चाहीँ सबै कुराको जिम्मा आफैंले लिने, काम कसैलाई गर्न नदिने र काम बिग्रियो भने अरुलाई दोष थोपर्ने प्रवृत्ति देखाउनुभयो । एउटा न एउटा प्वाइन्टमा त मानिसहरु बोल्छन् नि ।

आजसम्म आजसम्म साथीहरु नबोलेको कारण सभापतिप्रतिको सम्मान हो । सभापतिले सबैभन्दा बढी संरक्षण गरेको व्यक्तिले नै आज सभापतिलाई सार्वजनिकरुपमा अपमानित गर्नुभएको छ ।

जुन सभापतिले आफूले नगरेका कुरामा दोष लिएर गाली खाएर बसेको छ, उसैलाई पब्लिकमा नंग्याउन खोज्नुभयो । त्यसैले सबैजना बोल्न बाध्य भएका हुन् ।

भनेपछि उहाँ महामन्त्री पदमा रहिरहन अब योग्य हुनुहुन्न ?

पार्टी यहाँसम्म आइपुग्नुमा धेरैको योगदान छ । कसैले कुन पार्टमा त कसैले कुन पार्टमा काम गर्यो । उहाँले पनि यो पार्टीमा धेरै काम गर्नुभएको छ ।

तर, एक व्यक्ति हावी हुन खोज्यो भने त असन्तुष्टि उत्पन्न हुन्छ । हिजो एउटा पोडकास्टमा भन्दै हुनुहुन्थ्यो कि रास्वपा भन्ने नाम मेरो बौद्धिक सम्पत्ति हो भनेर । यस्तो सोचबाट हो नि समस्या सुरु हुने ।

आज बैठकमा अनुहारमा कालो टेप लगाएर बस्नुभयो, त्यसलाई कसरी लिनुहुन्छ ?

अस्ति महामन्त्रीले सभापतिलाई भेटेर डकुमेन्ट बुझाउनुभयो । सभापतिले हेर्दै नहेरी, जस्तो छ त्यस्तै पब्लिकमा ल्याउने जिम्मेवारी मेरो भयो भन्नुभएको हो । बैठक लाइभ गर्ने माग त्यो बेला आएको थिएन । अहिलेसम्म पार्टीमा कुनै पनि बैठक लाइभ गरिएको छैन । गर्ने हो भने त एउटा प्रणाली, एउटा कार्यविधि बनाउनुपर्यो । यत्तिकै हावा तालमा लाइभ गर्ने कुरा हुँदैन ।

त्यसपछि पनि सभापतिले त आफूलाई लाइभ गर्न समस्या नभएको बताउनुभएको थियो । तर केन्द्रीय सदस्यहरु एकजनाले पनि यस्तो विचारको समर्थन नगरेपछि लाइभ नभएको हो । यसलाई लिएर सभापतिलाई आरोपित गर्नुको तुक छैन । उहाँले मान्नुभएन र कालोटेप लगाएर आउनुभयो । त्यो पनि छुट पाउनुभयो ।

प्रतिवेदनका विषयमा वैठकमा सहभागीहरुको भनाइ के रहेको छ ?

प्रतिवेदनमा मात्र केन्द्रित नभइ दुई वर्षमा उहाँको सबै कार्यसम्पादनमा आ-आफ्नो धारणा राख्नुभएको छ । धेरैजसोको असन्तुष्टि नै छ ।

भनेपछि प्रतिवेदनको विषयलाई लिएर महामन्त्रीमाथि कारबाही हुनुपर्छ ?

कुरा प्रतिवेदनको होइन । प्रतिवेदन महामन्त्रीले पार्टीको सिस्टममा दर्ता गरिसक्नुभएको छ । त्यसमा जनताको सही कुराहरु आएका छन् भने पार्टीले रोक्ने भन्ने होइन । प्रतिवेदनको कारणले महामन्त्रीमाथि कारवाहीको कुरा उठिरहेको छैन ।

स्पष्टीकरण त प्रतिवेदनकै कारणले सोधिएको हो नि ?

स्पष्टीकरण चाहिँ विधि मिचिएको सन्दर्भमा हो । किन यस्तो प्रतिवेदन ल्याउनुभयो भन्ने होइन । पहिले बनाइएको विधि उल्लंघन गरिएको भएर हो । प्रतिवेदन आएकैले स्पष्टीकरण सोधेको भन्ने हिसाबले बुझ्न भएन ।

प्रतिवेदन आएकै बेलामा कारवाही गर्दा त त्यही ढंगले विश्लेषण भइहाल्छ नि ?

पार्टीले विधि र प्रोटोकल मिचेर कसैलाई कारवाही गर्दैन । त्यसको प्रोसेस हुन्छ । अनुशासन आयोगले के भन्छ ? स्पष्टीकरण सोध्या छ । सात दिनको टाइम दिएको छ जस्तो लाग्छ । सात दिन भइसक्या छैन । उहाँले कस्तो स्ष्टीकरण दिनुहुन्छ हेर्न बाकी छ । वैठकको मुख्य विषयवस्तु कारवाही होइन । त्यो टपिकमा गएकै छैनौं ।

प्रतिवेदनको अपनत्व पार्टीले लिन्छ कि लिँदैन त ?

प्रतिवेदनको अपनत्व लिनेबारे पनि डिस्कस भएको छैन । साथीहरुले आआफ्नो धारणाहरु राख्नुभएको छ ।

प्रदेश खारेजी गर्नुपर्ने जनताको भावनलाई त प्रतिवेदनमा जस्ताको तस्तै राख्नुभएको छ नि, यसलाई पार्टीले सकारात्मकरुपमा ग्रहण गर्न सक्दैन ?

यो महामन्त्रीको व्यक्तिगत धारणा मात्रै हो । २०७९ जनाको धारणा ल्याएको भरमा पार्टीले आफ्नो नीति बदल्न सम्भव हुँदैन । हाम्रो सदस्य नै लाखौं हुनुहुन्छ । उहाँले आफूलाई लागेका कुराहरु ल्याउनुभयो । अब त्यसलाई कसरी लिने भन्नेमा टन्नै विश्लेषण गर्न बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर