राजीनामा नदिएर कांग्रेस-एमालेको सहमतिभित्र खेल्न खोज्दैछन् प्रचण्ड ? – Nepal Press

राजीनामा नदिएर कांग्रेस-एमालेको सहमतिभित्र खेल्न खोज्दैछन् प्रचण्ड ?

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मिलेर सरकार बनाउने सहमति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने मूड बनाएका छैनन् ।

कांग्रेस र एमाले दुवैले पार्टीबाट औपचारिक निर्णय गरेर राजीनामा दिन आग्रह गरिसकेका छन्, तर प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमालेको सहमतिलगत्तै बसेको पार्टी पदाधिकारी बैठकबाट विश्वासको मतको सामना गरेर जाने निर्णय गराए ।

कांग्रेस र एमाले मिलेपछि सरकार ढल्ने निश्चित भएपछि प्रचण्डले रणनीतिक रुपमा विश्वासको मत लिने मनसाय देखाएका छन् । एमालेले तुरुप एउटा फ्याल्ने, काम अर्को गर्ने षड्यन्त्र गरेकाले पार्टीले त्यसको प्रतिवाद गर्ने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बताउँछन् ।

उनले थपे, ‘दुई पार्टीले सहमति गर्ने पछि राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर हुन्छ ? तुरुप एउटा फ्याल्ने, काम अर्को गर्ने भएको छ, त्यो षड्यन्त्र हो । त्यसको प्रतिवाद गर्ने कुरा भएको छ ।’

उनले आफूहरु रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने बताए ।

सरकार ढाल्ने भन्दा पनि माओवादीले कांग्रेस र एमालेबीच संविधान संशोधन गर्ने सहमतिप्रति चर्को असन्तुष्टि जनाइरहेको छ । दुई ठूला दलबीचको अस्वाभाविक मिलनले देश पश्चगमनतर्फ जाने संकेत गरेको माओवादीको निष्कर्ष छ ।

कांग्रेस र एमालेबीच मिलेर अघि बढ्ने सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीबाट सरकारमा पठाएका मन्त्री पनि फिर्ता बोलाइसकेको छ ।

सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर अघि बढ्ने महासचिव देव गुरूङले बताए ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘एउटै समीकरणभित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ । विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन । राजीनामा स्वेच्छा हो । एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो ।’

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री बनेकाले सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने उनको जिकिर छ । फेरि २ कै सरकार बनाएर संविधानमाथि ‘कू’ गर्न खोजिएको महासचिव गुरुङले आशंका व्यक्त गरे ।

त्यो अवस्थामा ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । कांग्रेसले भने ओलीलाई ७६ (२) अनुसार नै प्रधानमन्त्री बनाउने औपचारिक निर्णय गरिसकेको छ । तर, सरकार आह्वान राष्ट्रपतिको हातमा हुन्छ । कांग्रेस फेबरकै राष्ट्रपति भएकाले नयाँ सहमतिअनुसार नै सरकार आह्वान हुनसक्ने बताइन्छ ।

उनले मध्यरातमा लुकीलुकी संविधानका प्रावधान मिचमाच गर्ने, संविधान उल्लंघन गर्ने काम गरेको आरोप लगाए । उनले मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन खोजेको आरोप लगाए ।

माओवादी सचिव दीनानाथ शर्माले पनि विश्वासको मत लिने प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको जिकिर गरे ।
उनले भने, ‘राजीनामा नदिएर विश्वासको मत लिन सक्नुहुन्छ, त्यो उहाँको अधिकारको कुरा हो ।’

ओली देउवासँग मिल्ने देखेपछि प्रचण्डले गठबन्धन जोगाउन अहिलेकै समीकरणबाट प्रधानमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए, तर ओलीले आफू कांग्रेससँग मिल्ने सहमति भइसकेको बताएपछि प्रचण्ड थप रुष्ट छन् ।

माओवादीका एक नेताले भने, ‘उहाँलाई प्रधानमन्त्री बन्न मन भए यहीबाट बन्नुस् भन्दा मान्नुभएन । अहिले उहाँहरुले भन्दैमा सहजै किन राजीनामा दिने ? संविधानअनुसार समर्थन फिर्ता लिए पनि ३० दिनको समय प्रधानमन्त्रीसँग छ । यो अवधिमा जे पनि हुनसक्छ ।’

त्यसो त ओलीले साथ छाड्ने देखेपछि प्रचण्डले कांग्रेससँग पनि छलफल नगरेका होइनन् । यसअघि पनि पटक पटक धोखा पाइसकेकाले प्रचण्डप्रति देउवाले विश्वास गरेनन् ।

अब कांग्रेस एमालेसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गरेर अघि बढ्ने पक्षमा रहेको प्रमुख सचेतक रमेश लेखकले बताए । साना दलहरू मिलेर सरकार बनाउँदा राजनीतिक अस्थिरता बढेकाले एमालेसँग मिलेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीलाई बाटो खोलिदिनुस् भनेका छौं । बहुमत एकातिर गइसक्यो । अब उहाँले खेल्नको लागि विश्वासको मत लिन्छु भन्नुहुन्छ भन्ने लाग्दैन । उहाँ बुद्धिमान हुनुहुन्छ । बहुमत एकातिर आइसक्यो । अब खेलेको अर्थ छैन । उहाँले परिस्थितिलाई ठीक ढंगले विश्लेषण गर्नुहुन्छ ।’

प्रचण्डले नै वैकल्पिक सरकार बनाउने गृहकार्य गरेकाले अहिलेको स्थिति आइपुगेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

हिजो बसेको सचिवालय बैठकपछि उनले भने, ‘हामीले सत्ता समीकरणमा हदैसम्मको लचकता अपनाएका थियौं । केही विषय थिए, तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन् । यही सरकार अगाडि बढाइरहनुपर्छ भन्नेमा थियौं, तर यसबीचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा तरंग सिर्जना भयो । बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस सुरु गर्नुभयो । यसले हाम्रोसामु केही प्रश्न खडा भयो ।’

प्रचण्डले कसैलाई सल्लाह नगरी कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै छलफल थालेको उनको जिकिर छ ।

उनले थपे, ‘त्यसको औचित्य र आवश्यकता के हो ? गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो, तर १५ दिन नबित्दै कांग्रेससँग विश्वासको मत लिएर एमालेलाई किकआउट गर्नुभएको हो । यो पृष्ठभूमिमा हामी सशंकित हुनु स्वाभाविक हो, तर, यसपालि कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार गरेन ।’

तर, माओवादीका नेताहरुले अहिले प्रधानमन्त्रीले राष्ट्रिय सरकार बनाउन पहल नगरेको दाबी गर्छन् ।

महासचिव गुरुङ भन्छन्, ‘हामीले पहिला भन्दा कुनै दल तयार भएनन्, अहिले दुई दलले मध्यरातमा सहमति गरेर राष्ट्रिय सहमतिको भनेर हल्ला गरिएको छ, यथार्थमा होइन । दुई दलबीच कुरा मिलेको छैन । एउटा दलले राष्ट्रिय सहमति भन्दा अर्को दल राष्ट्रिय सहमतिको होइन भन्छ ।’

एमालेले कुनै तथ्यविना नै समीकरण छाडेकाले आशंका उब्जिएको उनको भनाइ छ ।

त्यसो त माओवादी केन्द्रका नेता युवराज दुलाल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण बताउनुपर्ने तर्क गर्छन्।

उनले भनेका छन्, ‘सरकारप्रतिको विश्वास छैन भने समर्थन फिर्ता लिने हो । समर्थन फिर्ता लिने र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । कसैको सजिलोको लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुनै कानूनी व्यवस्था छैन । कानूनबमोजिम चल्नु नै नैतिकता र संवैधानिक जिम्मेवारी हो ।’

उनले के कारणले एमालेले हिजो समर्थन गर्‍यो र के कारण आज समर्थन फिर्ता लिनुपर्‍यो, त्यो भन्नुपर्दैन भन्दै प्रश्न गरे ।

त्यसो त माओवादीका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि समीकरण फेरिएको आरोप लगाउँदै आएका छन् । यो प्रकरणमा कांग्रेस सभापति देउवा पत्नी पनि जोडिएकी छन् ।

नेता दुलालले थपे, ‘सरकार त बहुमत जता हुन्छ, उसैले चलाउने हो । यसमा माओवादी केन्द्रको कुनै आपत्ति हुने कुरै भएन । तेस्रो दल भएर डेढ वर्ष सरकारको नेतृत्व गर्नु पनि राजनीतिक पहल तथा राज्यप्रतिको जिम्मेवारी थियो र सरकारबाट जे गरियो र गर्न प्रयत्न भयो, त्यो देशका सचेत र असल नागरिकले कहिल्यै भुल्ने पनि छैनन् ।’

माओवादीका अर्का नेता लेखनाथ न्यौपानेले पनि झा पक्राउ परेपछि कांग्रेसको हेडक्वाटर पनि तानिने निश्चित भएपछि सरकार ढालेको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘कांग्रेस सरकार बाहिर थियो, ऊ जसरी पनि सरकारमा जान चाहन्थ्यो र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धोका दियो भन्ने मात्र होइन, बेचन झा गिरफ्तारीसँगै कांग्रेसको हेडक्वाटर पनि तानिने निश्चित जस्तै थियो । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियो ।’

त्यसो त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि भ्रष्टाचारको ठूलो फाइल खोल्नासाथ समीकरण फेरिएको बताएका छन् ।

नेता न्यौपानेले ओलीले प्रचण्डसँग नेकपाकालको बदला लिएको जिकिर गरेका छन् ।

उनले थपे, ‘एमालेकै पहलमा बनेको पछिल्लो गठबन्धन र यसैमार्फत ओली प्रधानमन्त्री बन्न सक्थे, सम्भावनासमेत थियो, अब त उनलाई प्रम बनाउने कांग्रेसको ललीपप प्रचण्डले संसदको सामना गर्ने भन्ने प्रक्रियाले चाख्न नपाउने बनाइदियो । किनकि संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसक्दा स्वतः प्रक्रिया ७६ (३) मा प्रवेश गर्छ, जुन ओली प्रतिकूल बन्छ ।’

कांग्रेस-एमालेलाई २०७२ को भन्दा २०४७ सालको संविधान बढी मन परेको जिकिर गर्दै उनले संविधान संशोधनको नाममा संविधानसभाले बनाएको संविधानलाई अन्तरवस्तुका हिसाबले २०४७ कै संविधानमा फर्काउने पश्चगामी मानसिकताले काम गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर