के चाहन्छ युवा विद्यार्थी पुस्ता ? – Nepal Press

के चाहन्छ युवा विद्यार्थी पुस्ता ?

अनेरास्ववियुले भर्खरै विद्यार्थी महोत्सव सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई एक फरक वातावरणमा उनीहरूका प्रतिभा प्रस्फुटन गर्ने प्लाटफर्मको रुपमा विद्यार्थी महोत्सव भव्यताका साथ सम्पन्न भयो । एक लाखभन्दा बढी विद्यार्थी सहभागी यो महोत्सव विद्यार्थी आन्दोलनको एक ‘अलग अभियान’ थियो । जुन अभियानमार्फत हामी नेपाली युवा विद्यार्थीहरूसँग के क्षमता छ र उनीहरू के चाहन्छन् भन्ने कुरा बुझ्ने जमर्को गरेका थियौं । यस आलेखमा तिनै कुराहरूको संक्षिप्त चर्चा गरिएको छ ।

नेपाली विद्यार्थीहरूको सिर्जनशीलता अद्वितीय छ । हाम्रा शिक्षामा आफ्नै खालका चुनौती छन् । स्रोतसाधनको कमी छ । आर्थिक रुपमा विभेदहरू छन् । शैक्षिक गुणस्तरमा विविधता छ, तर हाम्रा विद्यार्थीहरूसँग बेजोड प्रतिभा छ । उनीहरूसँग यथेष्ट कल्पनाशक्ति छ । उचित वातावरणको अभावमा उनीहरूको सिर्जना प्रस्फुटन हुन पाएको छैन । उनीहरू यस विन्दुमा राज्यलाई खोजिरहेका छन् । खास राज्य यस्तो भैदिएको भए ! यस्ता प्रश्नहरू उनीहरूको मनमा खट्किरहन्छ । र, उनीहरू राज्य कहाँ छ भन्ने प्रश्न गर्न बाध्य हुन्छन् । यस महोत्सवमा सहभागी विद्यार्थीहरूको मनोविज्ञानमा उनीहरूको उमेरअनुसार विविधता हुने नै भयो ।

अहिलेको नयाँ पुस्ता, जो भर्खर एसईई परीक्षा सकेर बसेको छ, उसले देशलाई कसरी हेर्छ होला ? समाजप्रति उसको बुझाइ के होला ? उसको आफ्नै भविष्यप्रति उसका विचारहरू के होलान् ? के चाहन्छ यो पुस्ता ? हामीले यिनै प्रश्नहरूमा घोत्लिएर हेर्‍यौं भने भविष्यका केही चित्र देखिनेछन्, जसले हामीलाई मुलुक र समाजलाई अझै गहिरो तवरले बुझ्न प्रेरित गर्नेछ । नेपालमात्र होइन, कम विकसित र विकासोन्मुख देशहरूमा नयाँ पुस्ताका केही साझा समस्या छन् । ती मूलत शिक्षा, रोजगारी र स्वास्थ्यसँग जोडिएका छन् । व्यक्तिगत स्वतन्त्रता त यसको केन्द्रमा हुने नै भयो । हामीले नेपाली युवा पुस्ताहरू के चाहन्छन् भन्ने सन्दर्भमा यिनै सवालहरू केन्द्रित रहेर बहस गर्नु आवश्यक छ ।

हामीले अन्तरक्रिया गरेका अधिकांश विद्यार्थी उच्च शिक्षाको लागि बाहिर जाने मनस्थितिमा भेटिए । उनीहरू कक्षा १२ सम्मको पढाइ नेपालमा गर्ने र त्यसपछि अमेरिका, अस्ट्रेलिया, युरोप, क्यानडा, जापान, कोरियालगायत जहाँ सहज हुन्छ, त्यही जाने सोचमा देखिन्थे ।

नेपालमा अहिले आमबुझाइ के देखिन्छ भने नयाँ पुस्ता देशमा बस्न मान्दैन । एकथरि युवाहरू कामको खोजीमा विदेशिरहेका छन्, अर्कोथरि युवाहरू अध्ययनको नाममा । देश छोड्ने युवाहरूको संख्या तीव्रत्तर छ । यो कहिले रोकिने हो ? कुनै ठेगान छैन । हामीले अहिलेको नयाँ पुस्तामा देश छोड्ने एक प्रकारको लहर देख्न सक्छाैं । ऊ यहाँ बस्न चाहँदैन । किन ? नेपालमात्र होइन विश्वभरको माइग्रेसन ट्रेण्डलाई हेर्ने हो भने कम विकसित या अविकसित मुलुकबाट युवा जनशक्ति विकसित मुलुकमा जाने चलन विश्वभर छ । बसाइसराइ अर्थात स्थान स्थानान्तरण मानव सभ्यताको विकासकै एक अभिन्न अंग हो । यसमा दुई मत छैन, तर अहिले हामीले देखिरहेको नेपालको माइग्रेसनको अवस्था अलि फरक र विशिष्ट छ । यहाँ कामको नाममा, अध्ययनको नाममा र बसाइसराइकै रूपमा पनि देश छोड्ने ट्रेण्ड देखिएको छ । यो तत्कालीन रुपमा हेर्दा सामान्य जस्तो देखिए पनि दीर्घकालीन रुपमा हेर्दा अत्यन्तै दूरगामी प्रभाव पार्ने खालको छ । लाग्छ, अहिले युवा पुस्ता देश छोड्ने हतारोमा छ ।

हामीले अन्तरक्रिया गरेका अधिकांश विद्यार्थी उच्च शिक्षाको लागि बाहिर जाने मनस्थितिमा भेटिए । उनीहरू कक्षा १२ सम्मको पढाइ नेपालमा गर्ने र त्यसपछि अमेरिका, अस्ट्रेलिया, युरोप, क्यानडा, जापान, कोरियालगायत जहाँ सहज हुन्छ, त्यही जाने सोचमा देखिन्थे । शिक्षामात्र कारक हो त उनीहरूको मनोविज्ञानको पछाडि ? के उनीहरूले शिक्षाको लागि नै देश छोड्न लागेका हुन् ? के हामीले अहिलेको शिक्षामा आमूल परिवर्तन गर्‍यौं भने उनीहरू देशभित्र रोकिन्छन् ? के उनीहरूको शैक्षिक करियरमा देश छोड्नु नै फाइदाजनक उपाय हो ? के उनीहरूले सोचेको जस्तो देश बाहिर उनीहरूको भविष्य सुनिश्चित छ ? यी तमाम प्रश्न हाम्रो मस्तिष्कमा उब्जिरहेका छन् ।

पहिलो कुरा गतिलो शिक्षा सबैको रोजाइको विषय हो । यसमा दुई मत भएन, तर नेपालमा त्रिभुवन विश्वविद्यालयले जुन शुल्कमा अध्ययन गर्ने अवसर दिएको छ । त्यो विश्वका विश्वविद्यालयमा विरलै प्राप्त हुने अवसरमध्ये एक हो । होला यहाँ गुणस्तरसँग केही प्रश्न छन् । पाठ्यक्रममा केही समस्या होलान् । समयमा पढाइ नसकिएला, तर के नेपालमा शिक्षाको हालत यति गुज्रिएको छ ? ताकि उसले स्नातक तह पढ्न नै देश छोड्नु परोस् । होइन, शिक्षामा समस्या छन्, तर यो काम नलाग्ने र म्याद सकिएको छैन । केही उदाहरण हेरौं, त्रिभुवन विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङलगायतमा स्नातकोत्तर गरेका अधिकांश विद्यार्थीहरू विद्यावारिधिको लागि अमेरिकाका विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा जाने गर्छन् । हाम्रो स्नातक तहको पढाइ त्यति कमसल भए कसरी उनीहरू विश्व बजारमा खोसाखोस भइरहेका छन् ? पढाइको गुणस्तरमा प्रश्न होलान्, तर यो कारक होइन ।

आखिर देशबाट कुनै न कुनै दिन राम्रो अवसरको खोजीमा निस्किनु नै छ भने किन ढिलो गर्ने ? मूलतः यही मनोविज्ञान, जहाँ देशको भविष्यप्रति विश्वास छैन, जहाँ देशका राजनैतिक दलहरूप्रति विश्वास छैन, जहाँ देशको नेतृत्वप्रति भरोसा छैन, जहाँ देशको विकास र समृद्धिप्रति आशावादिता छैन ।

केही महिना पहिला प्रधानमन्त्री स्वयंले मानिसहरू जागिर छोडेर देश छोडिरहेका छन् । यो किन भइरहेको छ, म अचम्मित छु भन्नुभएको थियो । हो, अहिले जागिरमा रहेका र राम्रै आयआर्जन गरिरहेका मानिसहरू पनि देश छोड्ने मुडमा देखिन्छन् । यहाँ रोजगारीमात्र देश छोड्ने कुराको प्रश्न रहेन । यदि स्वतन्त्रताको कुरा गर्ने हो भने देशभित्र प्रशस्त व्यक्तिगत स्वतन्त्रता छ । शान्ति र अमनचयन छ । हावापानी, मौसम ठीकठाक छ, तर पनि युवा पुस्तामा एक किसिमको अधैर्यता छ । त्यसका केही कारण छन् । पहिलो कुरा नयाँ पुस्ता देशको वर्तमान राजनैतिक प्रणाली र राजनैतिक इकोसिस्टमप्रति आश्वस्त छैन । उसलाई भरोसा छैन कि यही खालको राजनीति र यही खालको परिवेशले देशमा उल्लेख्य सुधार हुन्छ ! आखिर देशबाट कुनै न कुनै दिन राम्रो अवसरको खोजीमा निस्किनु नै छ भने किन ढिलो गर्ने ? मूलतः यही मनोविज्ञान, जहाँ देशको भविष्यप्रति विश्वास छैन, जहाँ देशका राजनैतिक दलहरूप्रति विश्वास छैन, जहाँ देशको नेतृत्वप्रति भरोसा छैन, जहाँ देशको विकास र समृद्धिप्रति आशावादिता छैन । युवा पुस्ता अहिले यही ‘नकारात्मक’ मोडमा खडा भएको छ र त्यसले उब्जाएको मनोवैज्ञानिक दबाबमा ऊ देश छोड्ने हतारोमा छ ।

नयाँ पुस्ता यो देशमा राजनैतिक स्थायित्व चाहन्छ । नयाँ पुस्ता शिक्षामा गुणस्तर चाहन्छ । कसैसँग भिख मागेर लिने कुरा होइन, यो हाम्रो हक हो भन्ने कुरा स्थापित गर्न चाहन्छ । नयाँ पुस्ता नयाँ नेपाली समाज निर्माण गर्न चाहन्छ । त्यो समाज, जहाँ उसको प्रतिभाको कदर हुनेछ । त्यो समाज, जहाँ सस्तो श्रममा आफ्ना खोरियाहरू बाँझो बनाएर रेगिस्तानका मरुभूमिलाई हराभरा बनाउनु पर्नेछैन । त्यो समाज, जहाँ शिक्षा र स्वास्थ्य व्यापारको वस्तु हुनेछैन । त्यो समाज, जहाँ १८ वर्षको किशोरले पढाइको नाममा कामदारको रुपमा देश छोड्न पर्नेछैन, तर नयाँ पुस्ता यी सबै सपनालाई थाती राखेर अन्योलमा रुमल्लिरहेको छ । हामीले इतिहासलाई भुल्नु हुँदैन । देश सयौं वर्षसम्म सामन्तवाद र निरंकुशताको चङ्गुलमा फस्यो । लोकतन्त्रमाथि पटक पटक धावा बोलियो । देशसँग एक थान ‘नो अब्जेक्सन लेटर’ माग्ने होइन, देश बनाउने संकल्प बोकौं । नयाँ पुस्ताले नयाँ शिराबाट आशा सिर्जना गर्न आवश्यक छ । यो मुलुक कसैको बिर्ता होइन । यो मुलुक तपाईं हाम्रो साझा फूलबारी हो ।

यो देशको शासन सत्ता नेताहरूको कुर्सी र शक्तिमोहलाई आसनमा बसाल्ने र फाल्ने क्रीडास्थल होइन । यो तपाईंको, मेरो र हाम्रो ट्याक्सको पैसाले हामीमाथि शासन गरिराख्ने र हामीलाई देश बाहिर धकेलिराख्ने राजनीतिको जुवा घर होइन । हामीले यसको सामूहिक प्रतिरोध गरौं । यहाँ डटेर लडौं, देश छोडेर होइन । कुनै एक पुस्ताको बलिदानविना कुनै पनि देश विकास भएको इतिहास छैन । कोही स्वतन्त्रताको लागि लडे, कसैले ठूल्ठूला युद्ध लडे । नेपाली युवा पुस्ताले योगदान गरेको छ । राजनतिक व्यवस्थाको लागि, लोकतन्त्रको लागि, तर निर्माणको लागि नेपाली कुनै पुस्ताले त्याग गरेको छैन । हामी त्यही नयाँ पुस्ताको पर्खाइमा छौं । जुन पुस्ताले देशको निर्माणमा त्याग गरोस् । जुन पुस्ताले ‘आई हेट पोलिटिक्स’ होइन ‘आई जोइन अ पोलिटिक्स’ भन्न सकोस् । मैले देश छोड्ने होइन, देशमै भिड्ने हो भन्न सकोस् । हाम्रा नयाँ पुस्तासँग त्यो क्षमता छ र ऊ त्यागको लागि तयार हुनेछ ।

(बडाल अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *