आयुक्तको घरमा डोजर चलेलगत्तै ललितपुरका मेयरलाई अख्तियारको पत्र – Nepal Press

आयुक्तको घरमा डोजर चलेलगत्तै ललितपुरका मेयरलाई अख्तियारको पत्र

काठमाडौ‌ं।  अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनलाई पत्र काटेको छ ।

बाढी पहिरोबाट पीडितलाई  एकलौटी ढंगले आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै सोधपुछको लागि  मेयर महर्जनलाई पत्र पठाएको हो ।

मेयर महर्जनविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई  एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै  पत्र काटेका अख्तियारले जनाएको छ ।

मेयर मर्हजनलाई अघिल्लो कार्यकालमा २०७८ असार ३१ गतेको उजुरी अनुसन्धानको क्रममा  केही बुझनुपर्ने भन्दै अख्तियारले  पत्र  पठाएको हो ।

उनलाई असार २६ गते सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं। ३मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ।

बुधबार नै मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको  थियो ।  आयोगकी आयुक्त अमात्यको घरमा महानगरले डोजर चलाए लगतै अख्तियारले मेयरलाई पत्र काटेको हो ।

स्थानीय र गुिठयारको विरोधपछि मिचिएको जग्गामा बनेको पर्खाल भत्काउन महानगरले आदेश दिएको थियो ।  उक्त आदेश अटेर गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा सुमित्रा अमात्य र दिवस अमात्यको घरको कम्पाउण्ड पर्खाल आज दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले  बताए ।

चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए ।

“वडा नं १० चाकुपाटमास्थित तःननी, चाबा, मिखाबहाल र अमात्य गुठी मिचिएको जग्गामा बनेको संरचना आज हामीले डोजर लगाएर भत्कायौँ । हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरूले भत्काउनुभएन, गुठियारले धेरै आग्रह गरेपछि आज डोजर नै चलाउनुप(यो”, नगरप्रमुख महर्जनले भने ।

गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहानाबमोजिम मात्र काम हुने उनले जानकारी गराए । “हामी समयसापेक्ष कार्यान्वयन गर्न लागिपर्नेछौँ, सार्वजनिक, पर्ती जग्गा संरक्षण गर्नेगरी महानगरको नगरसभाबाट निर्णयसमेत भएको छ । चार पाँच वटा गुठीको भोज गर्ने स्थानलाई तहसनहस पार्न खोजिएकाले भत्काइदिएका हौँ”, उनले भने ।

पाटनका स्थानीय तथा गुठियार कुलाल डङ्गोलले अमात्यहरुको दुईतले भवन भएको ठाउँ भत्काएर अतिक्रमण गरिएको बताए । “पटकपटक स्थानीयलाई दुःख दिएर गुठीको जग्गा दुरुपयोग गर्न खोजिएको र स्थानीय सरकारलाई लत्याएर गरिएको कामको विरोध गरेका हौँ”, डङ्गोलले भने ।

तःननी गुठीका गुठियार सुरेशमान महर्जनले गुठीकै आग्रहमा महानगरले संरचना भत्काउने काम गरेको जानकारी दिए । “त्यो सार्वजनिक जग्गा भए पनि गुठीका नाममा लालपुर्जा बनिसकेको छ । कित्ता नं ३१६ मा देवाली गुठीका नाममा चार रोपनी जग्गा छ”, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *