बेलायतमा चुनावी चटारो- लेबरको प्रचण्ड बहुमतमा सर केइर स्टार्मर प्रधानमन्त्री बन्ने – Nepal Press

बेलायतमा चुनावी चटारो- लेबरको प्रचण्ड बहुमतमा सर केइर स्टार्मर प्रधानमन्त्री बन्ने

भिएनाअष्ट्रिया । आज बेलायतमा निर्वाचन हुँदैछ । लाखौंले मतदानमा भाग लिने अपेक्षा गरिएको यो निर्वाचनले स्थानीय सांसदहरू र नयाँ सरकार गठन गर्न मद्दत गर्नेछ । बिहान ७ बजे शुरू हुने मतदान राति १० बजेसम्म चल्नेछ । अधिकांश राजनैतिक दलका र केही स्वतन्त्र उम्मेदवार छन् । मतदाताले धेरै निर्वाचन क्षेत्र वा स्थानीय क्षेत्रबाट प्रतिनिधित्व गर्ने ६५० सांसद चयन गर्नेछन् ।

“फर्स्ट पास्ट द पोस्ट” भनिने प्रणालीअन्तर्गत सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार सो क्षेत्रको सांसद बन्छन् । सबैभन्दा धेरै सांसद भएको पार्टीले सामान्यतया अर्को सरकार बनाउँछ, र यसको नेता सामान्यतया प्रधानमन्त्री हुन्छ । सन् १९२० देखि बेलायतमा दुई मुख्य राजनीतिक दलहरू हाउस अफ कमन्समा सीट संख्याको हिसाबले कन्जरभेटिभ र युनियनिस्ट पार्टी र लेबर पार्टी हुन् ।

यस वर्षको जुलाई ४ मा हुन लागेको आम निर्वाचन दोस्रो विश्वयुद्धपछिको सबैभन्दा प्रभावकारी हुने देखिन्छ । विगतलाई केलाउँदा सन् १९४५ मा युद्ध नायक विन्स्टन चर्चिल लेबरको ठूलो जीतबाट पराजित भए भने सन् १९६४ मा कन्जरभेटिभ पार्टीको १३ वर्षे शासन समाप्त भयो, त्यसरी नै सन् १९७९ मा मार्गरेट थ्याचर पहिलो महिला प्रधानमन्त्री बनिन् र सन् १९९७ मा टोनी ब्लेयरले आफ्नो तेश्रो चुनावमा पहिलो जित हासिल गरे ।

पाँच प्रधानमन्त्रीहरुको नेतृत्वमा १४ वर्षे सत्ता सम्हालेको हालका प्रधानमन्त्री ऋषि सुनाकको पार्टी कन्जरभेटिभले यस पटक मुख्य विपक्षी दल वामपन्थी लेबरसँग पराजित हुने अनुमान गरिएको छ । परम्परागतरूपमा कन्जरभेटिभ र लेबरले बेलायतको “फर्स्ट पास्ट द पोस्ट” चुनाव प्रणाली अन्तर्गत ब्रिटिश राजनीतिमा प्रभूत्व जमाउँदै आएका छन् , जसले साना दलहरूलाई संसदमा प्रतिनिधित्व जित्न गाह्रो बनाउने गरेको छ । तापनि चुनावी दौडमा लिबरल डेमोक्र्याट, रिफर्म युके, स्कटिस नेसनल पार्टी र ग्रिनस लगायतका नेताहरू पनि छन्।

बलिया दलहरु र तिनका नेताहरुको चुनावी दाबी :

कन्जरभेटिभ र ऋषि सुनाक

विगतको चुनावमा ३६५ सीट जितेको कन्जरभेटिभ पार्टीको नेतृत्व प्रधानमन्त्री ऋषि सुनाकले गरिरहेका छन्। २०२२ अक्टोबरमा उडेका ४४ वर्षीय सुनाकले लिज ट्रसको छोटो समयको प्रधानमन्त्री पद पछि कन्जरभेटिभ पार्टी र उथलपुथलमा रहेको अर्थतन्त्र विरासतमा पाए । बेलायतमा पहिलो गोरो छाला नभएका हिन्दू प्रधानमन्त्री बन्न सफल सुनाकलाई उनका आलोचकहरूले भुइँ मान्छेहरुको सम्पर्कमा नबस्ने र राजनैतिक निर्णयमा कम्जोर शासकको रूपमा लिन्छन् ।

१७ बिलियन कर कटौती गर्दै बलियो अर्थ व्यवस्था बनाउने प्रतिबद्धता बोकेको छ यसपटक कन्जरभेटिभ पार्टीले स्वास्थ्य खर्च बढाउने जन स्वास्थ्य खर्च बढाउने, २०३० सम्म जी डी पी २.५ % को दरले वृद्धि गर्ने लक्ष्य राखेको छ भने शरणार्थी कानुन र कर छली गर्ने माथि आर्नो सरकार निर्मम हुने लक्ष्य राखेको छ।

लेबर पार्टी र सर केइर स्टार्मर

पछिल्लो निर्वाचनमा २०२ सीट जितेको लेबर पार्टीको नेता सर केइर स्टार्मर हुन् । ६१ वर्षीय वकिल सर केइर स्टार्मर इङ्गल्याण्ड र वेल्सका पूर्व मुख्य अभियोजक, बेलायतको हालका लोकप्रिय नेता हुन्। महत्वाकांक्षी स्वभाव भएका केइर, उनको यहि स्वभावको कारण लोकप्रिय बनेको निक्यौल उनका आलोचकहरु गर्छन। यस निर्वाचनमा १० वर्षीय पूर्वाधार रणनीति अन्तर्गत “सम्पत्ति सिर्जना”, लगानीलाई प्रोत्साहन गर्ने र रेलवेजस्ता बेलायतको पूर्वाधार सुधार गर्ने, तेल ग्यास र उर्जा शक्तिमा थप विकाश गर्ने, सरकारी स्वामित्वको क्लिन पावर कम्पनी स्थापना गर्ने, सरकारी विद्यालयहरूमा हजारौं नयाँ शिक्षकहरूको राम्रो तलब सुविधा दिन निजि विद्यालयहरूमा कर लगाउने, जनता हरुलाई स्वास्थ्य सेवामा कुर्नुपर्ने समय कटौती गर्ने जस्ता सामान्य तर अति आवश्यक प्रतिज्ञाहरू बोकेर जनताको माझ परीक्षण हुन जाँदै छन्।

लिबरल डेमोक्रेट र एड डेभी

गएको निर्वाचनमा ११ सीट जितेको लिबरल डेमोक्रेट पार्टीको यस निर्वाचनमा नि:शुल्क नर्सिङ हेरचाहको परिचय सहित बेलायतको बढेको स्वास्थ्य र सामाजिक हेरचाह प्रणालीमा सुधार गर्दै, मतदानको उमेर १६ वर्षमा घटाउने रहेको छ भने उर्जा नवीकरण र इन्सुलेसन मा लगानी गर्ने र युरोपियन युनियनमा पुन जोडिने रहेको छ। पूर्व अर्थशास्त्र अनुसन्धानकर्ता ५८ वर्षीय डेभी यस पार्टीका नेता छन् भने उनी सन् १९९७ मा पहिलो पटक संसदमा निवाचित भएका थिए।

बेलायती निर्वाचन बजारमा देखिएका यी शक्तिशाली राजनैतिक दल र उनीहरुको प्रतिबद्धता जे जस्तो भए पनि लेबर पार्टीले अत्यधिक बहुमतका साथ विजयी हुने थुप्रै अड्कलबाजी हरु भैरहेको छन् ।

निर्वाचनबारे के भन्छन् बेलायत निवासी नेपाली मूलकाहरू ?

लामो समय बेलायत बसेर नेपाली र बेलायती राजनीतिमा चाख राख्दै आएका गैर आवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिम्खडा भन्छन्,’विगत १४ वर्षदेखि टोरी ( कन्जरभेटिभ पार्टी) ले आम जनजीविकामा ल्याएको नैराश्यतालाई चिर्दै लेबर पार्टीको प्रचण्ड बहुमत आउनेमा विश्वस्त छु । भलै लेबरका वर्तमान नेता सर केयर स्ताररले निवर्तमान पार्टी नेता जेरेमी कोर्बिनलाई पार्टीबाट निष्कासन गरेकाले केही मानिसहरूमा असन्तुष्टि देखिएता पनि लेबर पार्टीले सहज बहुमत ल्याई सरकार निर्माण गर्दैछ ।

ब्रेक्जिटमा बेलायती मूलधारका पार्टीहरुको ढुलमुले र अपारदर्शी सोचका कारण बेलायती जनजिविका असहज बन्दै गइरहेको छ । महंगी आकासिदो छ, बेरोजगारी बढ्दो छ, घरजग्गा (मोर्गेज ) ऋणको व्याजदर उच्च छ, शान्ति सुरक्षाको अवस्था गिर्दो छ, स्वास्थ्य सेवा पनि सुधारोन्मुख छैन । यी तमाम कारणहरूले सत्तासीन कन्जर्भेटिभ पार्टीप्रति जनताको वितृष्णा इतिहासमै जनमानस असन्तुष्ट देखिन्छ । आम आप्रवासीप्रति विगतमा लेबर पार्टीले देखाएको लचिलोपनले प्राय जसो आप्रवाशी नेपाली मूलका ब्रिटिशहरू लेबरको सरकार देख्न चाहन्छन् । भारतीय मूलका बेलायती प्रधानमन्त्री ऋषि सुनाक अर्थमन्त्री (चान्सलर) हुँदा जति सफल देखिएका थिए, नेपालमा डा. बाबुराम भट्टराई जस्तै प्रधानमन्त्रीमा पूर्णत असफल दर्ज भए । ५ जुलाईको बिहानीसँगै ६५० सीट रहेको वेस्ट मिनिस्टर (संसद) मा करिब ५०० को हाराहारी सांसद संख्यासहित सर केयर स्तरर प्रधानमन्त्री हुने निश्चित छ ।

प्रधानमन्त्री ऋषि सुनाक र कन्जर्भेटिभ पार्टीको प्रचारप्रसारमा तीब्रताको साथ लागेका नेपाली मुलका कोल्बर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्माको विश्लेषण पनि अन्य आम सञ्चार माध्यममा आएको भन्दा फरक छैन । यस पटकको निर्वाचनमा लेबर पार्टीले नै बाजी मार्ने देखिन्छ । आफू कन्जरभेटिभको समर्थक भए पनि लेबर पार्टीले बहुमतको सरकार बनाउने प्रबल सम्भावना छ यी तथ्यहरूले देखाएको डा. शर्माले बताए ।

१ . विशेष गरी कोभिड र युक्रेन युद्धपछि आर्थिक पनि प्रभावित भए पनि मानिसहरूले आफ्नो आर्थिक कठिनाइ बढेको अनुभव गरेका छन् । तर, मानिसहरूले मूल्यवृद्धि र धितो बढेकोमात्र देख्छन् । कन्जरभेटिभ पार्टी सरकारमा भएका कारण जनताले आरोप लगाएका छन् ।

२. फर्लो योजना, कोविडको समयमा समाजवादी नीति: कोभिडको समयमा – कन्जरभेटिभहरूले फर्लोलाई समर्थन गर्ने मानिसहरू भनिने समाजवादी नीति अपनाए । तर, यो नीतिले कर वृद्धि गर्छ । फर्लो योजनाबाट लाभ प्राप्त गर्ने व्यक्तिहरू मुख्यतया निम्न सामाजिक आर्थिक वर्ग जसले कन्जरभेटिभ पार्टीलाई कहिल्यै समर्थन गर्दैनन् तर कर बढाउँछन् पनि कन्जरभेटिभ समर्थकहरूलाई पनि अप्ठ्यारो बनाउँछन् । त्यसैले सरकारले दोहोरो धारको चक्कुमा काट्यो ।

३ . कन्जरभेटिभ पार्टीबीच विभाजन: नेपाली उखान “भाइ फुटे गवार लुटे” भनेझैँ विशेष गरी बोरिस र लिज ट्रस बाहिरिएपछि कन्जरभेटिभ पार्टी बीचको अंश र चुनावको समयमा पनि कहिल्यै एकता भएन ।

४ . अध्यागमन मुद्दामा रिफर्म पार्टीको असर : केही कन्जरभेटिभहरू कन्जरभेटिभलाई नोक्सान पुर्‍याउन रिफर्म पार्टीमा सामेल भए जुन विभाजनले लेबरको मत बढ्ने देखिन्छ।

५ . निर्वाचनको लागि कोष व्यवस्थापन : लेबरले कन्जरभेटिभको तुलनामा युनियन र सदस्यहरूबाट उठेको चुनावी कोषको उचित प्रबन्ध गर्‍यो, साथै लेबर प्रबन्धित कोष प्रभावकारी रूपमा मतदाताहरूलाई लक्षित गर्न प्रयोग गरेको देखिन्छ तर कन्जरभेटिभ पार्टी यस मामिलामा कमजोर देखियो ।

६ . स्रोत र अपेक्षा बेमेल: कन्जरभेटिभहरू १४ वर्षदेखि सरकारमा छन् र मानिसहरूले आफ्नो जीवनमा महत्त्वपूर्ण भिन्नता देख्दैनन् । जनतालाई विश्वास गर्न गाह्रो छ कि कन्जरभेटिभहरूले करको बोझ कम गर्दछ किनकि उनीहरूसँग विगत १४ वर्षदेखि अवसर थियो तर जनताले अब विश्वास गर्दैनन् । त्यसैले यसपटक उनीहरूले पार्टीलाई परिवर्तन गराउन चाहन्छन् । लेबरले ‘परिवर्तनका लागि लेबरलाई भोट गर’ भन्ने नारा दिएको छ । यो कुरालाई जनताले सहि वा गलत मान्छन् ।

७ . राष्ट्रिय स्वास्थ्य सेवा (NHS) को लागि पर्खने समय पनि ठूलो कारक हो र मानिसहरू समयमै डाक्टर वा अस्पताल सेवा नपाउँदा खुसी छैनन् । ब्रेक्जिटलाई दैनिक जीवनको खर्चको लागत बढाउन र पारिस्थिति बिगार्न दोष लगाइएको छ ।

८ . मन्दी / मुद्रास्फीति / आवास मुद्दा: यसले आम मानिसको जीवन कष्टकर बन्दै गएको छ भने मानिसले घर किन्न नसक्ने र भाडा बढ्दा पनि जनजीवन कष्टकर बनेको छ ।

बेलायतमा बिहीबार हुने आम निर्वाचनलाई नेपाली समुदायले समेत चासोको रूपमा हेरेको भन्ने भनाइ बेलायतमा रहेका नेपाली मुलका एनआरएनका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेनाको पनि रहेको छ । तुलनात्मक रूपमा आप्रवासीहरूको नीतिमा नरम रहेको सो दलप्रति नेपाली समुदाय सकरात्मक देखिन्छ । कन्जरभेटिभबाट प्रधानमन्त्री भएका भारतीय मूलका रिसी सुनकले अर्थमन्त्री हुँदा कोरोनाको समयमा निकै राम्रो काम गरे पनि प्रधानमन्त्री भए पछि लिएको नीतिले महंगी नियन्त्रण गर्न नसकेको, घरजंग्गा, इन्धनलगायतमा महंगी बढाए पछि अलोकप्रिय हुँदै गएका छन् । तीन पटक संसदीय निर्वाचन जितेको कन्जरभेटिभ दलले ४ पटक प्रधानमन्त्री परिवर्तन गरे पछि जनताहरू आजित छन् । बेलायतका जनताले एउटा पार्टीलाई बढीमा तीन वटामात्र निर्वाचनमा बहुमत दिएपछि अर्को पार्टी परिवर्तन गर्ने समेत प्रचलन रहेको छ । यो निर्वाचनमा कर, स्वास्थ्य, अध्यायगमन, घरजग्गा, अपराध नियन्त्रण, ब्रेक्जिट र वातावरणलाई प्रमुख मुद्दा बनाइएको छ । बेलायतमा रहेका भूपूगोर्खा र सरकारबीचको जारी वार्ता, बेलायत नेपालबीचको व्यापार, बेलायती आर्थिक सहयोग लगायतका विषयमा आगामी सरकारले कस्तो नीति लिन्छ भन्ने विषय महत्वपूर्ण हुने तिमिल्सेनाले बताए ।

मुलभूत विदेश नीतिहरूमा समान दृष्टिकोण रहेता पनि गोर्खाज लगायत आम नेपालीहरूसँग सरोकार राख्ने मुद्दाहरूमा लेबर सरकार सकारात्मक रहनेमा आम बेलायती नेपालीहरू विश्वस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *