राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएनः मन्त्री जोशी (भिडिओ) – Nepal Press

राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएनः मन्त्री जोशी (भिडिओ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको बताएका छन् ।

काँग्रेस–एमालेबीच नयाँ सत्तासमिकरणका लागि समझदारी भएसँगै उनले सो प्रतिक्रिया दिएका हुन् । बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताए ।

उनले आफूले निजामती सेवा ऐनसम्बन्धि विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरुसँग प्रयास गरेको पनि बताए । मन्त्री जोशीले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए ।

उनले भने, ‘राजनीतिक अस्थिरताले होला हामीले पनि राम्रोसँग काम गर्न नसकेको कुरा पनि राख्न चाहन्छु । हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरुस्त ढंगले गरेका छौं भन्ने अवस्था पनि छैन । किनभने यो अस्थिरताले यस्तो समस्या सृजना गर्दोरहेछ । तापनि कर्मचारीहरुको रुपान्तरणका लागि संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलको क्रममा छ । हामीले सोचेका थियौं–यसलाई अझ बढ्ता महत्व दिएर संघीय निजामती सेवा ऐनलाई बढी महत्व दिएर यसलाई चाँडो भन्दा चाँडो निकास दिने भनेर मैले पनि राज्य व्यवस्था समितिका सभापतिसँग अनुरोध गरेको थिए । बै राजनीतिक दलका प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर यो ऐन नआउँदा अहिले पनि प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा पनि समस्या छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो समाधान गर्नु प¥यो भनेर सबै दलको प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर चाँडो निकास दिनका लागि पहल गरेँ ।’

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवसथा हुन नसकेको पनि स्मरण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर