बिहेको लोभ देखाएर चीन पुर्‍याइएका ३ नेपाली महिलाको उद्धार- एकजना पक्राउ, अरुको खोजी हुँदै – Nepal Press

बिहेको लोभ देखाएर चीन पुर्‍याइएका ३ नेपाली महिलाको उद्धार- एकजना पक्राउ, अरुको खोजी हुँदै

सिन्धुपाल्चोक । बिहेको प्रलोभनमा चीन पुर्‍याएर बन्धक बनाइएका सिन्धुपाल्चोकका दुई महिलासहित तीनजनालाई उद्धार गरिएको छ ।

चीनमा बन्धक बनाएर घरेलु काममा लगाइएका उनीहरूले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूलाई चीनमा मानव बेचबिखचन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

सिन्धुपाल्चोक मेलम्चीका २ र नुवाकोटकी एक महिलालाई चीन लगिएको थियो । आरोपित राईलाई असार ११ गते पक्राउ गरिएको हो । सामाजिक सञ्जालबाट कुराकानी गरी सुन्दरीले आफू चिनियाँसँग विहे गरी आएको र चिनियाँ केटा मिलाइदिने भन्दै प्रलोभनमा पारेको बताइएको छ ।

राईले उनीहरूलाई काठमाडौंमा चिनियाँ नागरिकसँग भेट गराई फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएका थिए । त्यहाँ शारीरिक र मानसिक यातनामात्र नभई पटकपटक यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई बन्धक बनाएको पाइएपछि चीनस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन र नेपाली दूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको एसपी गौतम मिश्रले जानकारी दिए । घटनामा संलग्न चिनियाँ नागरिक र अन्यको खोजी भइरहेको उनले बताए ।

योसँगै नेपाली चेली चीनको विभिन्न स्थानमा बेचबिखनका लागि पुर्‍याइएको तथ्य खुलेको छ । विवाह, रोजगारी तथा विभिन्न वहानामा नेपाली महिला चीनको ग्रामीण तथा शहरी क्षेत्रमा पुर्‍याइएको पाइएको एनआरएन चीनका महासचिव प्रदीप नेपालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *