अर्जेन्टिनालाई मेस्सीको चिन्ता, इक्वेडरविरुद्ध उपलब्ध होलान् ? – Nepal Press

अर्जेन्टिनालाई मेस्सीको चिन्ता, इक्वेडरविरुद्ध उपलब्ध होलान् ?

काठमाडौं। कोपा अमेरिकाको क्वाटर फाइनलमा शुक्रवार बिहान साबिक विजेता अर्जेन्टिनाले इक्वेडरसँग खेल्दै छ।

अमेरिकाको हस्टनस्थित एनआरजी स्टेडियममा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुने खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले खेल्ने नखेल्ने निश्चित छैन। पिँडुलाको समस्याका कारण उनले समूहगत चरणको अन्तिम खेलमा पेरुविरुद्ध खेलेका थिएनन्।

मेस्सीले सुरुका दुई खेल भने खेलेका थिए। अर्जेन्टिनाले पहिलो चरणमा तीनवटै खेल जितेको थियो। पहिलो खेलमा क्यानडालाई २-० र चिलीलाई १-० गोलले हराएको अर्जेन्टिनाले अन्तिम खेलमा पेरुमाथि २-० गोलको जित हात पारेको थियो।

मेस्सीले सम्भवतः अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन्। उनले जारी कोपा अमेरिकामा गोल गर्न सकेका छैनन्।

क्यानडाविरुद्ध भएको खेलमा गोलका लागि असिस्टसम्म गरेका थिए। मेस्सी इक्वेडरविरुद्ध हुने खेलका लागि प्रशिक्षणमा फर्किएका छन्। यद्यपि उनीबारे निर्णय हुने बाँकी रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताए।

‘हामी अझै समय कुर्ने छौँ। हामीसँग अर्को प्रशिक्षण छ तर त्यहाँबाट उत्तम के हुन्छ भन्नेबारे निर्णय गर्ने छौँ। मैल यस विषयमा मेस्सीसँग कुराकानी गरेको छैन र अवश्य पनि कुरा गर्ने छु’, स्कालोनीले भनेका छन्।

मेस्सी गोलविहीन रहे पनि अर्का स्ट्राइकर लौतारो मार्टिनेजले ३ खेलमा ४ गोल गरेका छन्।

अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिलमा आयोजित संस्करण जितेर सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ वर्षपछि पहिलो उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप पनि जितेको थियो। विश्वकप पनि ३६ वर्षपछि जितेको थियो।

यी दुवै प्रतियोगितामा मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। अर्जेन्टिना यस पटक कोपा अमेरिकाको उपाधि रक्षा गर्ने प्रयासमा छ।

अर्जेन्टिनाले अन्तिम पटक सन् १९९१ र १९९३ मा कोपा अमेरिकाको उपाधि रक्षा गरेको थियो। गत महिना भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोलले हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *