बेलायतको बिजयउन्मुख दलको घोषणापत्र- १६ वर्षमा मताधिकार, गोर्खा ‘भेट्रान’ लाई भिसा शुल्क मिनाहा – Nepal Press

बेलायतको बिजयउन्मुख दलको घोषणापत्र- १६ वर्षमा मताधिकार, गोर्खा ‘भेट्रान’ लाई भिसा शुल्क मिनाहा

काठमाडौं । बेलायतमा आज भएको चुनावमा १४ वर्षबाट विपक्षी कित्तामा धकेलिएको दल लेबर पार्टी सत्तामा आउने आँकलन गरिएको छ । चुनावी प्रक्षेपणहरूले लेबरले ६५० सीटको बेलायती प्रतिनिधिसभामा ३२६ सीटसहित एकल बहुमत ल्याउनेसम्मका आँकलन गरेको सार्वजनिक भएको छ । अबको पाँच दिनमा बेलायती नयाँ जनतमको सदन सुचारु हुन्छ । त्योसँगै लेबर पार्टीका नयाँ प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।

टोनी ब्लेयर र गोर्डन ब्राउन जस्ता लेबर प्रधानमन्त्रीहरूपछि प्रधानमन्त्री बन्न आउने अनुहार भएका छन् केइर स्टार्मर । उनले दलको घोषणापत्रमा भनेका छन्, ‘म राजनीतिमा आउनुको मुख्य लक्ष्य नै जनताको सेवा हो ।’ १४२ पेजको घोषणापत्रमा सीमा सुरक्षा, सडक सुरक्षादेखि राज्य तथा प्रकृतिबाट प्रताडित भएकाहरूको सुरक्षा गर्ने देखि आतंकवादबाट सुरक्षा गर्नेसम्मका बुँदाहरू लेबरले आफ्नो चुनाव २०२४ को लागि बुँदागत चर्चा गरेको छ ।

लेबर पार्टीका नेता स्टार्मरको हस्ताक्षर गरेर सार्वजनिक गरिएको लेबर पार्टीको घोषणापत्रको नाम ‘चेन्ज’ अर्थात् परिवर्तन दिइएको छ । उक्त देब्रे ढल्कुवा दलको घोषणापत्रमा के के लेखिएका छन् । यसबारेमा यहाँ बुँदागत चर्चा गरिएको छ ।

‘लोकतन्त्र जोगाउन’ १६ वर्षमै मताधिकार

अहिले बेलायतमा मत हाल्ने उमेर १८ वर्ष छ । सांसद बन्ने उमेर पनि १८ वर्ष नै छ । सांसद बन्ने उमेरमा लेबर पार्टी मुखर भएको छैन । तर, मतदाता बन्ने उमेर घटाउने मुद्दा छ लेबरको । लेबरले १६ र १७ वर्षकाहरुलाई पनि मतदान गर्न दिन पाउने प्रावधानको पक्षधरता देखाएको छ । यो उमेर समूहलाई मताधिकार दिनुपर्ने कारणमा लेबरले ‘लोकतन्त्र जोगाउन’ भनेको छ । उसले मतदानमा प्रोत्साहन गरेर लोकतन्त्र बलियो बनाउन मतदाता नामावादी दर्तामा पनि सहजिकरण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

६५०० नयाँ शिक्षक, प्राथामिक विद्यालयमा निःशुल्क खाना, तीन हजार नयाँ नर्सरी कक्षा

लेबरले विद्यालय शिक्षा सुधार्न विभिन्न प्याकेज ल्याएको छ । जसमा साढे छ हजार नयाँ शिक्षक दरबन्दी थप्ने, प्राथमिक विद्यालयमा निःशुल्क खाना दिन ब्रेकफास्ट क्लब सञ्चालन गर्नेलगायत छन् । यस्तै देशभर तीन हजार नयाँ नर्सरी कक्षाहरू सञ्चालन गरेर बालबालिकाहरूलाई पढाउने घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक विद्यालयमा मानसिक स्वाथ्य सहायता संचालन, शिक्षक तथा प्रधानध्यापकहरूको तालिमको वृद्धि, प्रारम्भिक भाषा कक्षाहरु प्राथमिक विद्यालयमा संचालन गर्ने पनि शिक्षा क्षेत्रमा लेबरले ल्याएका प्याकेजहरु हुन् । कला, संगीत तथा खेलकुद धनाढ्यका सन्तानलाई मात्रै नभएर आर्थिक रूपमा कमजोर परिवारका सन्तानहरूलाई पनि सहज गर्ने लेबरको घोषणापत्रमा उल्लेख छ ।

बेलायती सेनाबाट अवकाश पाएकाहरुलाई प्रवेशाज्ञा शुल्क मिनाहा

लेबरको घोषणापत्रमा बेलायती गोर्खा सैनिकहरुलाई फाइदा पुग्ने प्याकेज पनि आएका छन् । त्यो प्याकेज हो बेलायत प्रवेश गर्ने प्रवेशाज्ञाको तथा भिसा शुल्क मिनाहा । यसको लागि बेलायती सेनामा चार वर्ष काम गरेकाहरु लाभग्राही हुनेछन् । यद्यपि, बेलायती सेनामा काम गरेका गैरबेलायतीहरूलाई प्रवेशाज्ञा शुल्क मिनाहा भनिएपनि समान तलब तथा पेन्सनका मुद्दामा भने लेबर मौन देखिएको छ ।

स्वाथ्य सेवामा कुर्नुपर्ने समय न्यूनीकरण, थप सेवाहरूको विकास

चालिस हजार थप अपोइमेन्ट बढाएर स्वाथ्य सेवामा बिरामीहरुले कुनुपर्ने समय कम गर्ने लेबरले उल्लेख गरेको छ । वर्षको थप चालिस हजार अपरेसन, स्क्यान तथा अपोइन्टमेन्टहरु बढाउने, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को सिटी तथा एमआरआई सुविधा दोब्बर बनाउने, दन्त चिकित्सामा वर्षको सात लाख जनाको उपचार, क्यान्सर स्क्यानर दोब्बर बनाउने, साढे आठ हजार मानसिक स्वाथ्य विज्ञको नियुक्तिलगायतका प्याकेज लेबरको घोषणापत्रमा लेखिएको छ ।

ऊर्जामा सार्वभौम तथा हरित उर्जामा विश्व महाशक्ति बनाउने

ऊर्जामा बेलायतलाई सार्वभौम बनाउने लेबरको घोषणापत्रमा उल्लेख गरिएको छ । बेलायतलाई ‘पुटिनजस्ता तानशाहीहरु’ बाट अलग राखेर उर्जामा सार्वभौम बनाउने भनिएको छ । यस्तै साढे ६ लाख नयाँ गुणस्तरीय जागिरहरु सिर्जना गर्ने, सन् २०३० सम्म बेलायतलार्य हरित उर्जा शक्ति बनाउने, क्रमशः विश्व महाशक्ति बनाउने, पानी कम्पनीहरुलाई नदि सफाइमा लाग्न बाध्य बनाउने पनि लेबरको घोषणापत्रमा राखिएको छ ।

रुस, चीन, युक्रेन र नेटो मामिला

लेबरले आफ्नो घोषणापत्रमा रुस र चीनको नामै लिएर कुरा गरेको छ । लेबरले पुटिनलाई ‘तानाशाह’ भनेको छ भने युक्रेनलाई सैन्य, आर्थिक, कूटनीतिक तथा राजनीतिक सहयोग गर्ने बताएको छ । युक्रेनलाई नेटो सदस्य बन्न देखि रोक्का गरिएको रुसी पुँजीलाई प्रयोग गर्नेबारेमा साझेदार देशहरुसँग समन्वय गरेर अगाडि बढ्ने लेबरले उल्लेख गरेको छ । यस्तै रुस र पुटिनलाई गैरकानुनी युद्धको लागि जिम्मेवार बनाउने पनि लेबरले लेखेको छ ।

बेलायत जोडिएका अकस, जी ७, नेटो, जी २० तथा संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्ने बताएको लेबरले चीनको चुनौती र अवसरहरु दुवैको सम्बोधन गर्ने उल्लेख गरेको छ । यस्तै हङकङबाट बेलायतमा आएकाहरुको रक्षा गर्न पनि लेबरले प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *