नुनको मूल्य एकै पटक किन भयो ३० प्रतिशतले वृद्धि ? उपभोक्ताकर्मी भन्छन्- मूल्य बढाएर लुट – Nepal Press

नुनको मूल्य एकै पटक किन भयो ३० प्रतिशतले वृद्धि ? उपभोक्ताकर्मी भन्छन्- मूल्य बढाएर लुट

काठमाडौं । बुधवारबाट लागू हुने गरी नुनको मूल्य ६ रुपैयाँले वृद्धि भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बुधवारदेखि लागू हुने गरी ३० प्रतिशतले नुनको मूल्य बढाएपछि विरोध सुरु भएको छ ।

नयाँ मूल्य समायोजन अनुसार एक केजी आयो नुनको उपभोक्ता मूल्य २० रुपैयाँबाट बढेर २६ पुगेको छ । भने, न्यू शक्ति नुन प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुगेको छ । प्रति प्याकेट ३ रुपैयाँ मूल्य वृद्धि भएको छ । त्यस्तै, भानु नुनको मूल्य प्रतिकेजी ९ रुपैयाँ मूल्य कायम भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सञ्चालक समितिका सदस्य अञ्जन श्रेष्ठले नुनमा ट्रेडिङले पहिलेबाट नै घाटा व्यहोरिरहेकाले मूल्यवृद्धि गर्नुपरेको बताए । उनले अहिलेपनि नुनमा घाटा नै रहेको बताए ।

उनले भने, ‘सञ्चालक समितिमा छलफल गरेर नै नुनको मूल्यवृद्धि भएको हो । प्रति केजी ६ रुपैयाँ मूल्यवृद्धि गर्दा पनि अझै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई घाटा नै रहेको छ । लामो समयपछि नुनको मूल्य वृद्धि भएको हो ।’

नुन जस्तो दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा उपभोक्तालाई त समस्या हुन्छ नि ? भन्ने प्रश्नमा उनले भने, ’एक दुई रुपैयाँको सिक्का पाउन अलि कठिन हुने भयो । तर, २६ रुपैयाँ मूल्य कायम गर्नु पर्ने नै भएर मूल्य तोकिएको हो ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका विभागीय प्रबन्धक ब्रजेशकुमार झालेले ८ वर्षपछि आएर अहिले नुनको मूल्य वृद्धि गरिएको बताए ।

उनले भने, ‘८ वर्षपछि आएर अहिले नुनको मूल्य वृद्धि भएको छ । ८ वर्ष पहिले ६५ रुपैयाँ भएको डिजेलको मूल्य अहिले १५७ रुपैयाँ पुगेको छ । यो ८ वर्षमा मूल्य वृद्धि कति भएको छ, त्यो हेर्नुपर्छ । हामीले प्रदेशहरूलाई आयो नुनप्रति केजी नुन २३ रुपैयाँमा विक्री गर्ने छौँ । उपभोक्ताले भने प्रतिकेजी २६ रुपैयाँमा नुन किन्न पाउने छन् । अझै नुनमा हामीलाई घाटा रहेको छ । अहिले आयो नुन प्रतिकेजाी २८ रुपैयाँ लागत मूल्य रहेको छ । सरकारले नुन ढुवानीमा आंशिक मात्रै अनुदान दिएको छ ।’

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले एकै पटक नुनको मूल्य प्रतिकेजी ६ रुपैयाँ वृद्धि गर्नु गैरकानूनी रहेको बताए ।

उनले भने, ‘धनीदेखि गरिबसम्मले प्रयोग गर्ने आयो नुनमा १३ प्रतिशत अर्थात ६ रुपैयाँ उपभोक्ता मूल्य वृद्धि गरिएको छ । नुनमा भएको मूल्यवृद्धि राज्यले तत्काल नै रोक्नुपर्छ । नुन जस्तो कुरामा नाफा कमाउने तथा घाटा रहेको भन्दै मूल्य वृद्धि गर्नु आपत्तिजनक रहेको छ । राज्यले नागरिकलाई नुनमा अनुदान दिँदै आएको छ । अनुदान थपेर अझै सस्तो बनाउन पर्ने ठाउँमा घाटा भयो भनेर मूल्य वृद्धि गर्नु असामान्य कुरा हो । राज्यले अन्य सेवा सुविधा दिन नसके पनि अनुदान थपेर भएपछि मूल्य घटाउन पर्छ । प्रतिकेजी २६ रुपैयाँ कस्तो मूल्य हो । यो मूल्य कसरी निर्धारण भयो रु २६ रुपैयाँ मूल्य कायम गरेर अब पसलले प्रतिकेजी ३० रुपैयाँ लिन्छन् । मूल्य निर्धारण गर्दा केही त विचार पु¥याउनु पर्ने थियो ।’

बजारमा यसभन्दा पहिले ठूला होलसेल पसलले प्रतिकेजी २० रुपैयाँ तथा साना पसलले प्रतिकेजी २५ रुपैयाँमा नुन विक्री गर्दै आएका थिए । अब नयाँ मूल्यअनुसार प्रतिकेजी ३० रुपैयाँ आयो नुन साना पसलहरूले विक्री गर्ने छन् ।

नेपालीले कति खान्छन् प्रतिदिन नुन ?

नेपालमा प्रतिदिन ५ लाख ५३ हजार ४२४ केजी नुन खपत हुने गरेको छ । नेपालमा नुन विभिन्न बस्तु उत्पादन गर्न, गाई वस्तुलाई खुवाउन र मान्छेले खानामा प्रयोग गर्ने गरेका छन् । नेपालमा प्रतिवर्ष २० करोड २ लाख केजी नुन प्रयोग गर्ने गरेका छन् । २ लाख २० हजार मेट्रिक टन नुन खपत हुने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *