मधेश : भोलि बजेटमाथि छलफल, पर्सी मुख्यमन्त्रीले विश्वासको मत लिने – Nepal Press

मधेश : भोलि बजेटमाथि छलफल, पर्सी मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । मधेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि भोलि प्रदेशसभामा छलफल हुने भएको छ ।

अगामी आवको बजेटमाथि भोलि (शुक्रवार) बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुने र पर्सी (शनिवार) बिहान ११ बजे मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको हो ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नेतृत्वमा सरकार बनेको ७ दिनमै अगामी आवको बजेट सार्वजनिक गरियो ।

रातो किताबमा गडबड भएपछि बजेटमाथि अहिलेसम्म छलफल प्रारम्भ भएको छैन । धेरै सांसदको योजना रातो किताबमा छुटेको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएपछि बजेटमाथि छलफलमा ढिलो भएको बुझिएको छ ।

प्रतिपक्षी दलको विरोधपछि मुख्यमन्त्री सिंहले सर्वदलीय बैठक डाकेका थिए । बैठकमा रातो किताब पुनर्लेखन गर्न सहमति बन्यो । सो बमोजिम सरकारले रातोकिताब पुनः छापिएको छ । स्रोतका अनुसार शुक्रवार बजेटमाथि छलफल गर्ने र शुक्रवारै पारित गराउने सरकारको तयारी छ ।

बजेट पारित भएपछि असार २२ (शनिवार) मुख्यमन्त्री सिंहले विश्वासको मत लिने तयारी गरेका छन् । तर संघमा गठबन्धन उलटफेर भएकाले विश्वासको मत कुन दलले दिने/नदिने विषय अन्यौल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर